सुदूरपश्चिमका ५३ सांसदमध्ये आधाजसो बने मन्त्री, ५ महिनेदेखि ५ वर्षेसम्म – Nepal Press

सुदूरपश्चिमका ५३ सांसदमध्ये आधाजसो बने मन्त्री, ५ महिनेदेखि ५ वर्षेसम्म

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा ५३ जना सदस्य छन् । तर, अन्तिमसम्म त्यति रहेनन् । माओवादीबाट निर्वाचित झपट बोहराले एमाले रोजेपछि र कांग्रेसबाट निर्वाचित कर्ण मल्ललाई पार्टीले कारबाही गरेपछि प्रदेशसभा सदस्यको संख्या ५१ मा झर्‍यो । दल अदलबदल गर्दा सांसद पद गुम्ने भए पनि तारा लामा तामाङ, कुलवीर चौधरी र दुर्गा विकले सांसद पदको हैसियत गुमाएनन् ।

एमालेबाट प्रत्यक्ष निर्वाचित तामाङ र चौधरीले पार्टी विभाजित हुँदा नेकपा एकीकृत समाजवादी रोजेका थिए । उनीहरु दुबै जना गएको भदौ १५ मा एमालेमै फर्किएका छन् । समानुपातिकमार्फत सांसद भएकी दुर्गा विकले पनि नेकपा एकीकृत समाजवादी रोजिन् । उनी पनि भदौ ३१ गते माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । प्रदेशसभा निर्वाचनपछि ३ दलमात्रै रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ६ दल छन् । यसबीचमा करिब आधा प्रदेश सांसदले मन्त्री बन्ने अवसर पाए । केही पाँच महिना मन्त्री भए । कोही पाँच वर्षसम्म बन्न भएका छन् ।

यहाँ ५ वर्षमा ६ पटक मन्त्रिपरिषद् पुनर्गठन भएको छ । २०७४ फागुन ५ मा पहिलो पटक सरकार गठन भएदेखि मंसिर ४ गते हुने निर्वाचनको लागि बन्दसूची बुझाउने अघिल्लो दिनसम्म सुदूरपश्चिममा मन्त्री बनाउने र फिर्ता बोलाउने प्रक्रिया चल्यो ।

२०७४ फागुन ५ गते गठन भएको सरकार२०७५ कार्तिक २७ मा दोस्रो पटक पुनर्गठन गरियो । त्यसपछि २०७८ मा तेस्रो पटक । २०७८ असोज १ मा चौथो पटक, २०७८ चैत २५ मा पाँचौँ पटक र २०७९ भदौ ३१ गते अन्तिम पटक सरकार हेरफेर भएको छ ।
यो अवधिमा २५ जनाले मन्त्री बन्ने अवसर पाए । तीमध्ये ११ जना राज्य मन्त्री छन् ।

एमाले छोडेर नेकपा समाजवादीमा लागेका प्रदेशसभा सदस्यमध्ये भर्खरै नेकपा माओवादी प्रवेश गरेकी दुर्गाकुमारी विकबाहेक सबैले मन्त्री हुने अवसर पाए । एमालेका पठानसिंह बोहरा, प्रकाशबहादुर शाह, कृष्णराज सुवेदी, अर्चना गहतराजले मन्त्री हुने मौका पाए । एमालेबाट निर्वाचित भएर पछि एकीकृत समाजवादी रोजेका तारा लामा तामाङ र कुलवीर चौधरी पनि मन्त्री बन्न सफल भए ।

माओवादीबाट मुख्यमन्त्री त्रिलोचन भट्टसहित, झपट बोहरा, विनिता चौधरी र मानबहादुर धामी मन्त्री बने । माओवादीबाट निर्वाचित भएर मन्त्री भएका बोहराले नेकपा विभाजित हुँदा एमाले रोजे र मन्त्री पद गुमाए । नेपाली कांग्रेसबाट डा. रणबहादुर रावल, गोविन्द बोहरा र टेकबहादुर रैका मन्त्री भए ।

२५ जनामध्ये दीर्घबहादुर सोडारी, प्रकाशबहादुर शाह र प्रकाश रावलले दोहोरिएर मन्त्री हुने मौका पाए । पहिले राज्यमन्त्री भएका रावल पछि मन्त्री भएका थिए ।

को कति समय बने मन्त्री ?

२०७४ फागुन २ गते मुख्यमन्त्रीमा नियुक्त त्रिलोचन भट्ट अहिलेसम्म पनि मुख्यमन्त्री नै छन् । उनी पाँच वर्षे मुख्यमन्त्री हुने नेपालका दुईमध्ये एक भएका छन् । ७ मध्ये ५ प्रदेशमा मुख्यमन्त्री फेरिँदा भट्ट र मधेस प्रदेशका लालबाबु राउत पाँचै वर्ष मुख्यमन्त्री हुन पाए । तर, भट्टको नेतृत्वकाे सरकारमा करिब दुई दर्जन सांसदले मन्त्री बन्ने अवसर पाए ।

आन्तरिक मामिला तथा कानूनमन्त्रीमा प्रकाश शाह २०७४ फागुन ५ गते नियुक्त भए । उनी २०७८ जेठ १४ गते बिदा भए । सोही दिन सोही पदमा नियुक्त पूर्णा जोशी चैत २५ गते हटिन् । उनी ११ महिना मन्त्री बनिन् । चैत २५ गते आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त भएका डा. रणबहादुर रावल पाँच महिना अघिदेखि मन्त्री छन् ।

२०७४ फागुन ५ गते भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त पठानसिंह बोहरालाई २०७७ पुस १४ मा मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरे । नेकपामा विवाद हुँदा ओली पक्षमा खुलेको भन्दै बोहरालाई बर्खास्त गरिएको थियो । त्यसपछि केही समय उक्त मन्त्रालय मुख्यमन्त्री आफैले सम्हाले । २०७८ जेठ १४ गते तत्कालीन माधव-प्रचण्ड समूहका दीर्घ सोडारीलाई नियुक्त गरियो । उनी अहिले नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता छन् । सोडारी १५ महिनादेखि भौतिक पूर्वाधार मन्त्रीमा छन् ।

२०७४ फागुन ५ गते आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त झपट बोहराले काम गर्ने वातावरण नभएको भन्दै राजीनामा दिए । २०७७ जेठ १४ मा आन्तरिक मामिला तथा कानून मन्त्रालय छोडेर प्रकाश शाहले अर्थ मन्त्रालय रोजे । तीन महिना अर्थमन्त्री भएका शाहले भदौ २२ मा राजीनामा दिए ।

२०७८ असोज १ गते अर्थमन्त्री भएका तारा लामा तामाङलाई राजीनामा दिन लगाएर २५ चैतमा प्रकाश रावललाई मन्त्री बनाइएको थियो । तामाङले ६ महिने मन्त्री पद पाए । रावल ५ महिनादेखि अर्थमन्त्री छन् । रावल त्यसअघि केही महिना उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भएर राजीनामा दिएका थिए ।

२०७४ फागुन ५ मा सामाजिक विकासमन्त्रीमा भएका दीर्घ सोडारी २०७५ कार्तिक २७ गते बर्खास्त भएका थिए । उनी ८ महिना सामाजिकमन्त्री बने । सोडारी बर्खास्त भएपछि केही घण्टामा कृष्णराज सुवेदी मन्त्रीमा नियुक्त भए । २०७८ जेठ १४ गते सुवेदीलाई राजीनामा दिन लगाएर लालबहादुर खड्कालाई मन्त्री बनाइएको थियो । खड्का पनि १० महिनामात्रै मन्त्री बने । उनलाई हटाउँदै चैत २५ गते गोविन्दराज बोहरा मन्त्री भए । बोहरा ५ महिनादेखि मन्त्री छन् ।

२०७४ फागुन ५ मा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भएकी माया भट्टलाई २०७८ जेठ १४ गते राजीनामा दिन लगाएर मानबहादुर धामीलाई मन्त्री बनाइएको थियो । धामी हालसम्मै मन्त्री छन् ।

पाँच वर्षे कार्यकाल पूरा गर्नेमा मुख्यमन्त्री भट्टमात्रै छैनन् । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनिता चौधरी पनि पूरा समय मन्त्री भइन् । भट्ट र चौधरी माओवादी केन्द्रका हुन् ।

सुदूरपश्चिममा मन्त्रीमात्र होइन राज्यमन्त्रीसमेत लामो समय कोही हुन पाएनन् । पाँच वर्षको अवधिमा ११ जना राज्यमन्त्री बनेका थिए । अहिलेसम्म प्रकाश रावल, माया तामाङ बोहरा, चुनकुमारी चौधरी, कुलवीर चौधरी, मना साउद, टेकबहादुर रैका, मानबहादुर सुनार, अर्चना गहतराज, अमरबहादुर साउद, सुशीला बुढाथोकी र बलबहादुर सोडारी राज्यमन्त्री भए । तीमध्ये अहिले रैका, सुनार, बुढाथोकी र सोडारी राज्यमन्त्री छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर