राप्रपाले केन्द्रीय निर्वाचन परिचालन समितिलाई दियो पूर्णता – Nepal Press

राप्रपाले केन्द्रीय निर्वाचन परिचालन समितिलाई दियो पूर्णता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

समितिमा पूर्वअध्यक्षत्रय लोकेन्द्रबहादुर चन्द, पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्यहरु, पदाधिकारीहरु, सातवटै प्रदेशका अध्यक्षहरु, केन्द्रीय सदस्यहरु, विभागीय प्रमुखहरु र भातृ संगठनका प्रमुखहरु रहेको समितिको सदस्य सचिवमा महामन्त्री राजेन्द्र गुरुङ रहेका छन् । यसैगरी, बैठकले प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति पनि गठन गरेको छ ।

त्यस्तै, कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा निर्वाचन आर्थिक समिति र प्रवक्ता श्रेष्ठकै संयोजकत्वमा केन्द्रीय निर्वाचन प्रचार समिति गठन भएको श्रेष्ठले बताए ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उमेदवार चयनका विषयमा छलफल भएको र यसका लागि आफ्नो प्रदेश अन्तर्गतका जिल्लासंग आवश्यक समन्वय गरि यथासक्य चाँडो सुझाव पेस गर्न प्रदेश अध्यक्षहरुलाई बैठकले निर्देशन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरुलाई एकताका लागि पनि आह्वान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर