दुबईमा ३५ करोडको चिठ्ठा जितेका युवाले नेपाल पैसा ल्याए कति कर लगाउने ? राजश्व कर्मचारी नै अलमलमा – Nepal Press

दुबईमा ३५ करोडको चिठ्ठा जितेका युवाले नेपाल पैसा ल्याए कति कर लगाउने ? राजश्व कर्मचारी नै अलमलमा

काठमाडौं । गुल्मीका युवा भरत विश्वकर्माले दुबईमा ३५ करोड रुपैयाँको चिठ्ठा जितेपछि नेपाल आउने तयारीमा छन् । यताका राजश्वका कर्मचारीहरु चाहीँ उनले जितेको रकममध्ये कति रकम कसरी ल्याउँछन् भन्ने कौतुहलतमा छन् ।

दुबईबाट प्रकाशित हुने खालिज टाइम्सका अनुसार भरतले जितेको रकम उनको हातमा परिसकेको छैन । उनको व्यक्तिगत खाता नभएकाले सो रकम हस्तान्तरण भइनसकेको समाचारमा जनाइएको छ । महजुज चिठ्ठा सञ्चालन गर्ने कम्पनी इविङ्सका सीइओ फरिद सम्जीले भरतको बैंक हस्तान्तरणका लागि आफूहरुले बैंक खाता खोलिदिन लागेको बताएका छन् । यो खाता दुबइको बैंक वा नेपालको बैंकमा खोल्ने खुलाइएको छैन ।

सुरक्षा जोखिमका कारण भरतका धेरै विवरणहरु गोप्य राखिएका छन् । उनी चाँडै नेपाल फर्किँदै छन्, तर सँधैका लागि होइन । समाचारमा जनाइएअनुसार ३५ करोडको मालिक भएपछि पनि फेरि दुबइ फर्केर काम गर्ने उनको योजना छ । खालिज टाइम्सलाई उनले भनेका छन्, ‘मलाई दुबइले धेरै कुरा दिएको छ । म नेपालमा गएर केही समय बिताएपछि फेरि आएर यहीँ काम गर्छु । चिठ्ठा पनि खेलिरहन्छु ।’

तीन वर्षअघि वैदेशिक रोजगारीका लागि दुबई पुगेका भरतले अढाई वर्षदेखि महजुज चिठ्ठा खेलिरहेका थिए । आवुधाविमा बस्ने आफ्नो भतिजले सुझाव दिएपछि आफूले चिठ्ठा किन्न थालेको उनले बताएका छन् । २७ सेप्टेम्बरमा नेपाल फर्किने उनको योजना थियो । नेपाल फर्किनअअघि अन्तिम पटक प्रयास गर्छु भनेर चिठ्ठा किनेको भरतको भनाइ छ । यही निर्णयले उनको भाग्य परिवर्तन गरिदियो । मासिक १३ सय दिराम आम्दानी गरिरहेका उनले एकैपटक १ करोड दिराम जिते र रातारात धनाढ्य बने ।

अब यो रकमबाट आफ्नो बिरामी भाइको उपचार गर्ने उनको योजना छ, जो ब्रेन ट्यूमर र प्यारालाइसीस भएर नयाँ दिल्लीमा उपचाररत छन् । यसैगरि, आफ्ना दुई छोराछोरीको भविष्यका लागि खर्च गर्ने छँदैछ । तर उनले सबै रकम नेपाल ल्याउँछन् वा थोरै यता ल्याएर बाँकी उतै राख्छन् भन्ने प्रश्न छ ।

उनले यति ठूलो रकम बैंकिङ च्यानलबाट नेपालमा पठाए भने त्यसको स्रोत खुलाउनुपर्छ । चिठ्ठाबाट जितेको रकम आकस्मिक लाभका रुपमा गणना हुन्छ । नेपालको कानूनले आकस्मिक लाभमा २५ प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ । विदेशमा रोजगारी गरेर नेपालमा पठाएको रेमिट्यान्समा भने कर लाग्दैन ।

स्रोत खुलाएर ३५ करोड रुपैयाँ एकैपटक नेपालमा पठाउन भरतलाई बाधा छैन । तर, उनले ल्याउने रकममा २५ प्रतिशत कर लाग्छ वा लाग्दैन भन्नेमा राजश्वकै कर्मचारीहरु अन्योमा छन् । नेपाल प्रेससँगको कुराकानीमा उनीहरुले स्पष्ट जवाफ दिन सकेनन् ।

एक वर्षमा १८३ दिन नेपालमै बसेको व्यक्तिले बाँकी अवधि विदेश गएर उताबाट पैसा लिएर आयो भने त्यसमा आयकर लाग्ने प्रावधान छ । तर, १८३ भन्दा कम दिन नेपालमा बसेको व्यक्तिले विदेशबाट पठाएको वा ल्याएको पैसामा कर लाग्दैन । भरत नेपालबाट गएको तीन वर्ष भएकाले उनले ल्याएको पैसामा कर नलाग्नुपर्ने हो । तर, स्रोत खुलाउँदा आकस्मिक लाभ भन्नुपर्ने भएकाले उनीबाट २५ प्रतिशत आकस्मिक लाभ कर लिन सकिने राजश्व कर्मचारीको भनाइ छ । त्यसो भयो भने भरतले झण्डै नौ करोड रुपैयाँ नेपाल सरकारलाई बुझाउनुपर्ने हुन्छ । त्योभन्दा उनले थोरै पैसा नेपालमा ल्याएर अरु उतै राख्न पनि सक्छन्, जहाँ कर तिर्नुपर्दैन । पछि उतै फर्किने योजना भएकाले पनि यस्तो सम्भावना छ ।

राजश्वका कर्मचारीहरु उनले हुण्डीमार्फत नेपाल पैसा पठाउन सक्ने पनि आशंका गरिरहेका छन् । त्यो भनेको गैरकानूनी बाटो हुन्छ । उनले चिठ्ठा जितेको बारे धेरै प्रचार भइसकेकाले हुण्डीबाट पठाउनु उनकै लागि जोखिमपूर्ण हुन सक्छ ।


प्रतिक्रिया

4 thoughts on “दुबईमा ३५ करोडको चिठ्ठा जितेका युवाले नेपाल पैसा ल्याए कति कर लगाउने ? राजश्व कर्मचारी नै अलमलमा

  1. श्रमजीवी वर्गको नागरिकले वैदेशिक रोजगारीमा जाँदा लक्की ड्र बाट प्राप्त गरेको पैसा बाट चर्को कर किन लिनु पर्यो ?
    यदि यसो भएमा राज्यको चरम शोषण हुन् जानेछ । मूलुक भित्र रोजगारी प्रदान गर्न नसक्ने शासन प्रणालीले बाहिर पसिना बगाउन जाने सामान्य श्रमिकसग यसरी ठूलो परिमाणमा कुनै नाममा कुनै कर लिनु न्याय संगत मान्न सकिन्न

  2. समाचार लेखाई जे भएपनि उनले पाएको उपहरमामकर लगाउनु हुन्न यदि लगाउनु नै छ भने प्रत्येक मन्त्रिहरुकोआयश्रोतमा कर लगाउ जहां तिनिहरुले बोलेकै भरमा चप्पल पड्काउने बाट महलमा बस्ने गरेका छन!

  3. समाचार लेखाई जे भएपनि उनले पाएको उपहारमा कर लगाउनु हुन्न यदि लगाउनु नै छ भने प्रत्येक मन्त्रिहरुको आयश्रोतमा कर लगाउ जहां तिनिहरुले बोलेकै भरमा चप्पल पड्काउने बाट महलमा बस्ने भएका छन!

  4. जित्ने ले जित्यो अब केको कर तिर्नु पर्ने यो नेपाल खाते को देश हो जो अरु संघ भिक काग्दै जान्छ तियो युवा को भाग्य हो उसले जे गरोस्

Leave a Reply to प्रदिप रोकाया Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर