सामाजिक सुरक्षा कोषको दम्पती औषधि उपचार सुविधा पुसदेखि लागू हुने – Nepal Press

सामाजिक सुरक्षा कोषको दम्पती औषधि उपचार सुविधा पुसदेखि लागू हुने

काठमाडौं । सामाजिक सुरक्षा कोषको दम्पती औषधि उपचार सुविधा आगामी पुस पहिलो सातादेखि लागू हुने भएको छ । अहिलेसम्म योगदानकर्ताले मात्रै लिँदै आएको औषधि उपचार सुविधा योगदानकर्ताको पति वा पत्नीसमेतले पाउने व्यवस्था आगामी पुसबाट लागू हुने भएको हो ।

‘सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५’ को तेश्रो संशोधनमार्फत गरिएको यो व्यवस्था स्वीकृत भएको मितिले एकानव्वेऔं दिनवाट प्रारम्भ हुने उल्लेख छ । सामाजिक सुरक्षा कार्यक्रमलाई थप विस्तार गर्दै लैजाने क्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोज ५ गते कार्यविधि स्वीकृत गरेको कोषका प्रवक्तासमेत रहेका उप–कार्यकारी निर्देशक विवेक पन्थीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार उक्त योजनाअन्तर्गत अस्पताल भर्ना भइ उपचार गराउनुपर्ने योगदानकर्तालाई वार्षिक रुपमा एक लाख रुपैयाँमा नबढ्ने गरी प्रदान गर्ने सुविधाको रकम भर्ना भएको अस्पतालमा सिधै भुक्तानी दिइन्छ । यदि अस्पताल भर्ना हुनु नपर्ने अवस्थामा चिकित्सकको प्रेस्क्रिप्सन बमोजिम वार्षिक बढीमा २५ हजार रुपैयाँसम्म उपलब्ध गराइनेछ ।

यो सुविधा दाबी गर्ने योगदाकर्ताले कुल दाबी रकमको २० प्रतिशत आफ्नो तर्फबाट व्यहोर्नुपर्नेछ । योगदानकर्ता र योगदानकर्ताको श्रमिकलाई कोषबाट उपलब्ध गराइने उपचार सुविधाको जम्मा रकम एक आर्थिक वर्षमा एक लाख रुपैयाँ भन्दा बढी नहुने व्यवस्था कार्यविधिमा छ । यद्यपी यसको अधिकतम सीमा भने दुवै दम्पतिको गरेर २५ हजार वा एक लाख नै रहनेछ ।

‘योगदानकर्ता सन्तति छात्रवृत्ति कार्यक्रम’ भने आगामी शैक्षिक सत्रदेखि लागु हुने

कोषले सञ्चालन गर्न लागेको ‘योगदानकर्ता सन्तति छात्रवृत्ति कार्यक्रम’ भने आगामी शैक्षिक सत्रदेखि लागु हुने भएको छ । असोज ५ गते नै मन्त्रालयले स्वकिृत गरेको ‘योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९’ अनुसार कोषले ल्याएको नयाँ कार्यक्रम आगामी शैक्षिक सत्रदेखि लागू हुन लागेको हो ।

उक्त कार्यक्रममार्फत प्रतिव्यक्ति बढिमा ५ लाखका दरले छात्रवृत्ति प्रदान हुने व्यवस्था कार्यविधिमा रहेको कोषका प्रवक्ता एवम् उप–कार्यकारी निर्देशक विवेक पन्थीले एक विज्ञप्तिमार्फत जानकारी गराएका हुन् । उनका अनुसार हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान हुने व्यवस्था कार्यविधिमा रहेको छ । यस कार्यक्रममार्फत योगदानकर्ताका सन्ततिलाई चिकित्सा विज्ञान, ईन्जिनियरिङ्ग, नर्सिङ्ग, वन विज्ञान, कृषि विज्ञान र होटल तथा ट्राभल व्यवस्थापन विषयका लागि छात्रवृत्ति उपलब्ध गराईनेछ ।

यसका साथै घातक रोगको औषधि उपचार सुरक्षा योजना अन्तरगत कोषमा कम्तिमा दुई बर्ष योगदान गर्ने योगदानकर्ताको सेवा आवधिभर दश लाखसम्मको उपाचार खर्चसमेत कोषले व्यहोर्ने व्यवस्था गरिएको छ । जसमा कोरोनरी आर्टरी वाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्कघात, मृगौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोग रहेका छन् ।

घातक रोगको औषधि उपचार सुविधा कोषमा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको दुई बर्षसम्म लागू रहने व्यवस्थाका साथै कोषको बृद्धाअवस्था सुरक्षा योजना अन्तरगत निवृतभरण प्राप्त गर्ने योगदानकर्ताले निवृतभरण सुरु गरेको सात वर्षसम्म घातक रोगसम्वन्धी सुविधा उपयोग गर्न सकिनेगरी विषेश व्यवस्था गरिएको छ ।

योगदानकर्ताको हितलाई सर्वोपरी ठान्दै कोषले विगतमा विभिन्न किसिमका सामाजिक सुरक्षाका योजना सञ्चालनमा ल्याएको कोषका सहायक प्रवक्ता रोहित रेग्मीले नेपाल प्रेससँग बताए । उनका अनुसार सामाजिक सुरक्षाका कार्यक्रम थप विस्तार गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्ने विश्वासका साथ आगामी दिनमासमेत यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने कोषको योजना छ ।

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम संचालन गरेको तीन वर्षको अवधिमा योगदानकर्ताको हितलाई ध्यान दिँदै विभिन्न योजनामा निरन्तर रुपमा सुधार गर्दै आएको कोषले जनाएको छ ।

साढे ६० हजार योगदानकर्ताले सवा २ अर्ब भन्दा बढी रुपैयाँ भुक्तानी लिए

२०७५ साल मंसिर ११ गते कार्यक्रमको औपचारिक घोषणा गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा अहिलेसम्म १७ हजार ४ सय १७ रोजगारदातामार्फत ३ लाख ६४ हजार ७ सय ४१ श्रमिक सूचीकृत भईसकेका छन् ।

सामाजिक सुरक्षा कोषका अनुसार योजनामा आवद्ध ६० हजार ५ सय ५ योगदानकर्ताले कोषबाट सुविधा लिइसकेका छन् । उनका अनुसार जसमध्ये सबैभन्दा धेरै २७ हजार ६ सय ६१ जनाले योगदानकर्ताले २७ करोड १५ लाख १४ हजार २ सय ८६ रुपैयाँ औषधि उपचार तथा स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गतको सुविधा लिइसकेका छन् भने दोस्रोमा २७ हजार ६ सय ३० योगदानकर्ताले १ अर्ब ९१ करोड ६९ लाख ९७ हजार १ सय ८५ रुपैयाँ वृद्धावस्था सुरक्षा योजना सुविधा लिइसकेका छन् ।

यस्तै, ४ हजार एक सय ३९ जनाले ४ करोड ११ लाख ८७ हजार ५ सय २२ रुपैयाँ आश्रित परिवार सुरक्षा योजना र एक हजार ७५ जनाले ३ करोड ३ लाख ५६ हजार ७ सय ८२ रुपैयाँ दुर्घटना तथा अशक्तता सुविधा लिइसकेका छन् । कोषका अनुसार योगदानकर्ताले अहिलेसम्म २३ अर्ब ४० करोड रुपैयाँ रकम जम्मा गरेका छन् । जसमध्ये कोषले योगदानकर्तालाई २ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ  ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.