दुवईमा ३५ करोड चिठ्ठा जितेका गुल्मीका भरतलाई रकम ल्याउने चिन्ता ! – Nepal Press

दुवईमा ३५ करोड चिठ्ठा जितेका गुल्मीका भरतलाई रकम ल्याउने चिन्ता !

रुपन्देही । गुल्मीबाट दुबईको कार वास कम्पनीमा काम गर्न पुगेका ३१ वर्षीय भरत बिकले ३५ करोड नेपाली रुपैयाँको चिठ्ठा जितेर अहिले चर्चामा आएका छन् । उनलाई १ करोड धिराम्स (करिब ३५ करोड नेपाली रुपैयाँ) को महजूज चिठ्ठा परेको हो । मासिक १३ सय धिराम्समा काम गर्ने सामान्य अवस्थाका भरतको सुरक्षा भन्दै सबै विवरण भने गोप्य राखिएको छ ।

दुवईस्थित पत्रकार उमाकान्त पाण्डेले उनले ३५ करोड नेपाली रुपैयाँको चिठ्ठा जितेको बताए । ‘यो सत्य हो । युएईमा सप्ताहिक रुपमा खोलिने चिट्ठा हो । यो युएईको ईतिहासमा सबैभन्दा धेरै ठुलो धनरासीको चिठ्ठा नेपालीलाई परेको हो । उनी यहाँ दुबईको अलकुजमा रहेको एक कार वास कम्पनीमा कार्यरत थिए । उनको मासिक तलब १३ सय धिराम्स थियो ।’

पाण्डेले भने, ‘हाल यो उपहार पाएपछि उनी नेपाल जाने तयारीमा छन् । उनले यो पैसा पाउन आफ्नै नामको खाता आबश्यक पर्ने र त्यो खातासम्म नभएकाले त्यो रकम हात पार्न अझै केही दिन लाग्नेछ ।’

पाण्डे भन्छन्, ‘भरतका २५ वर्षीय भाइलाई ब्रेन ट्युमर छ । उनका बुवा भारतमा गाडी चलाऊने काम गर्नुहुन्छ । पारिवारिक अवस्था नाजुक छ । उनले पाएको पैसा भाइको उपचार तथा आफ्नो बालबच्चाको भबिश्यका लागि खर्चिने भनेका छन् । उनको सुरक्षा तथा बाँकी गोपनियताका कारण अहिलेसम्म भरतको पूर्ण विवरण खुलाइएको छैन । नेपाली दूतावासले पनि सबै विवरण नभएको बताएको छ, यहाँस्थित नेपाली सम्पर्क समाज तथा अन्य संस्थाहरुले उनको खोजी गरेपनि उनी गएका छैनन्, अहिले यहाँ रहेका सबै नेपालीको चासोमा उनी रहेका छन् ।’

पत्रकार पाण्डेका अनुसार यो समाचारलाई दुवईस्थित अधिकांश संचारमाध्यमले निकै प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् । ‘यो समाचार युएईका राष्ट्रिय समाचार पत्रपत्रिकाले प्राथमिकताका आधारमा प्रकाशन गरेका छन् । यहाँको गल्फ न्युज, द नेसनल, तथा खालिज टाइम्स दैनिकको अनलाइन तथा प्रिन्ट सस्करणमा समाचार प्रकाशन भएका छन्’, उनले भने ।

खालिज टाइम्सका अनुसार २५ वर्षीय भाइको उपचारका लागि पैसा जुटाउन दुबई पुगेका उनी ३ वर्षअघि दुबई पुगेका हुन् । उनका भाइ ब्रेन ट्युमरबाट पीडित छन् । उनका बुवा पनि भारतमा सवारी चालकका रूपमा कार्यरत छन् । बुवाछोरा मिलेर भाइको उपचारका लागि पैसा जुटाइरहेका थिए । उनको भाइको भारतको नयाँदिल्लीमा उपचार भइरहेको छ । अपरेसनका क्रममा उनलाई प्यारालाइसिस भएको छ । उनको श्रवणशक्ति पनि गुमेको छ ।

भरतले बाँकी पैसा आफ्ना ५ वर्षीय छोरा र ३ वर्षीया छोरीको लागि खर्च गर्ने जनाएका छन् । सेप्टेम्बर २७ मा नेपाल फर्किने तयारीमा रहेका भरतले नियमित रूपमा महजूज लट्री किन्दै आएका थिए । भरतले कार धुँदै गर्दा नै चिठ्ठा जितेको थाहा पाएको र परिवारलाई पनि अहिलेसम्म पूरा जानकारी नगराएको बताउँछन् ।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि गैरेले समाचार सार्वजनिक भएपछि जिल्लामा यसको चासो बढेपनि सबै विवरण सार्वजनिक नभएको बताए । अहिले सामाजिक सन्जालमा उनलाई बधाई दिनेहरुको ओइरो लागेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर