जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरिंदै – Nepal Press

जापानको सहयोगमा सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरिंदै

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले जापान सरकारको सहुलितपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ ।

जापान सरकारबाट प्राप्त हुने करिब १४ अर्ब २ करोड रुपैयाँ (१५९.०१ करोड जापानी येन)बाट १३२ केभी क्षमताका ५ वटा नयाँ सबस्टेसन निर्माण गरिने छ । सहरी क्षेत्रमा १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरिने छ । जापानको सहयोगमा काठमाडौं उपत्यकाको थापाथली,महाराजगञ्ज, राजदरबार तथा सिरुटार र पोखराको बिरौटामा १३२/११ केभीका सबस्टेसन निर्माण गरिने छन् ।

सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका प्राप्त हुने सहुलियतपूर्ण ऋणको वार्षिक ०.०१ प्रतिशत व्याजदर, ३० वर्षको भुक्तानी र १० वर्षको ग्रेस अवधि रहेको छ । आयोजनाको कार्यान्वयनबाट काठमाडौं र पोखरा लगायतका सहरमा प्रसारण चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।

आयोजना कार्यान्वयनका लागि बुधबार नेपाल सरकारकातर्फबाट अर्थ सचिव कृष्णहरि पुस्कर र जापान सरकारका तर्फबाट नेपालका लागि जापानका राजदूत किकुता युताकाले आदानप्रदान पत्र तथा रेकर्ड अफ डिस्कसनमा हस्ताक्षर गरे ।

त्यसैगरी, ऋण सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरी प्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले हस्ताक्षर गरे ।

आयोजनामार्फत काठमाडौंको टेकुस्थित सबस्टेसनबाट करिब २ किलोमिटर १३२ केभी प्रसारण लाइनलाई भूमिगत गरी थापाथलीमा रहेको स्वीचिङ स्टेसनमा ल्याइने छ । थापाथली स्वीचिङ स्टेसनलाई हटाएर त्यहाँ १३२/११ केभीको सबस्टेसन निर्माण गरिने छ । सबस्टेसनको क्षमता ९० एमभिए रहने छ । सबस्टेसनबाट विद्युत वितरणका लागि ९/१० वटा फिडर निकालिने छन् ।

बालाजु सबस्टेसनबाट १३२ केभी प्रसारण लाइनलाई ९ किलोमिटरभन्दा बढी भूमिगत केबलमार्फत महाराजगञ्ज हुँदै राजदरबार ल्याइने छ । महाराजगञ्ज र राजदरबारमा १३२÷११ केभीका एक÷एक सबस्टेसन निर्माण हुनेछन् । सबस्टेसनको क्षमता ६०/६० एमभिए रहने छ । यसैगरी, भक्तपुरको सिरुटारमा १३२÷११ केभीको सबस्टेसन निर्माण निर्माण गरिने छ । सबस्टेसनको क्षमता ६० एमभिए रहने छ । तीनवटै सबस्टेसनहरुबाट स्थानीय रुपमा विद्युत वितरणका लागि ९/१० वटा फिडर निकालिने छन् ।

पोखराको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा १३२/११ केभी सबस्टेसनको निर्माण गरिने छ । प्राधिकरणले कालीगण्डकी–लेखनाथ १३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युतलाई बिरौटामा सबस्टेसन बनाएर पोखराको सहरी क्षेत्रमा आपूर्ति गर्ने छ ।

प्रसारण लाइनबाट सबस्टेसनसम्म करिब ६ सय मिटर लाइनलाई भूमिगत गरिने छ । सबस्टेसन निर्माणका लागि बिरौटास्थित फेवा विद्युतगृहको जमिन प्रयोग गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर