दोहोरो मारमा तोक्पेगोलावासीः देशको विकासबन्दी, चीनको सीमाबन्दी – Nepal Press

दोहोरो मारमा तोक्पेगोलावासीः देशको विकासबन्दी, चीनको सीमाबन्दी

इटहरी । ताप्लेजुङको उत्तरी सिमाना तोक्पेगोलाका तेन्जिङ शेर्पा ६३ वर्ष पुगे । बाल्यकालदेखि अहिलेसम्म उनले गाउँ छाडेका छैनन् । उनी गाउँको सौन्दर्यको वर्णन गरेर अहिले पनि थाक्दैनन् ।

गाउँका प्राकृतिक सम्पदाले उनी आफै मोहित छन् । गाउँका सोदु पोखरी, फेम्फेमा झरना, भूत पोखरी, साउन महिनामा लाग्ने ढोक्प्या छिसी नामक जात्राको बखान गर्न उनी छुटाउँदैनन् । २८ परिवार भएको गाउँमा पाइने यार्सागुम्बा, महागुरु, सर्मा गुरु, विभिन्न जडिबुटी, हाब्रे (रेड पान्डा) र जंगली भेंडाको कुरा गरेर उनी थाक्दैनन् ।

गाउँको विकासको कुरा गर्दा भने उनी उत्साहित हुन्नन् । उनी भन्छन्, ‘म सानो हुँदा पनि सदरमुकाम पुग्न दुई दिन लाग्थ्यो । अहिले पनि दुईदिनै लाग्छ ।’

तोक्पेगोलाबाट पापुङ, नाल्बो, थुकिमा, लिंथेप, खाम्लुङ पुछार, दोभान हुँदै सदरमुकाम पुग्न कस्सिएर हिँड्नेलाई दुई दिन लाग्थ्यो, सामान्य हिँड्नेलाई तीन दिन । उनी भन्छन्, ‘यहाँबाट पापुङ एक दिन । त्यहाँबाट फुङफुङे झरनामा गएर गाडीबाट सदरमुकाम पुग्न एक दिन । गाडी नपाउँदा त कहिलेकाहीं तीन दिनै लाग्छ ।’

गाडी गुड्ने बाटोको समस्या जस्तै विद्यालयको पनि छ । गाउँमा विद्यालय नहुँदा मान्छे बाहिर जानुपर्ने बाध्यता छ । दुई नाबालक सन्तानसँगै गाउँमा बस्दै आएका मिलन दोर्जी भन्छन्, ‘एउटा प्रि-स्कुलमात्रै भएको भए पनि धेरै सजिलो हुन्थ्यो ।’

तेह्रथुमको बसन्तपुर बजारदेखि काठमाडौंसम्म २१ वर्ष होटल गरेर गाउँमा होमस्टे गर्न हौसिएका दोर्जी गाउँमा सरकारले सुविधा नदिएको गुनासो गर्छन् । उनी भन्छन्, ‘लाइनको बिजुली नआएकाले सोलारले काम चलाउनुपरेको छ । बाटो आएको छैन । विद्यालय छैन । प्रहरी चौकी छैन । गाउँमा विकास छँदैछैन भन्दा पनि हुन्छ ।’

मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ मा रहेको तोक्पेगोलावासीले पापुङस्थित वडा कार्यालय पुग्न एक दिन हिँड्नुपर्छ । स्वास्थ्य चौकी पनि पापुङमै छ । स्वास्थ्य चौकीमा दक्ष जनशक्ति छैनन् । गाउँलेहरुलाई केही दुःखबिराम हुँदा हेलिकप्टर चढेर काठमाडौं पुग्नुपर्ने बाध्य छ ।

‘हेलीले एक पटक बिरामी बोकेको साढे तीन लाख लिन्छ’, स्थानीय गुम्बा समिति तथा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तेन्जिङ शेर्पा भन्छन्, ‘हरेक वर्ष मान्छेलाई हेलीले लानुपर्छ । पाँच वर्ष अगाडि त एकै वर्ष पाँच जना लानुपरेको थियो ।’

घरहरुको संख्या घटबढ भइरहने तोक्पेगोलामा अहिले २८ घर छ । ४ घर लिम्बूका र बाँकी शेर्पाको भएको बताउँछन् स्थानीय आइतवीर साँवा (लिम्बू) । मोबाइल सम्पर्कमा पनि तोक्पेगोलामा समस्या छ । स्काई मोबाइलबाहेक अरु सिम चल्दैन ।

गत दुई चुनावमा एमालेबाट वडा अध्यक्ष उठेर पराजित आइतवीरले गाउँमा विकासको नाममा केही नभएको बताए । ‘राज्यले यो गाउँलाई हेरेको छैन । बरु हामीले राज्यलाई सहयोग गरेका छौं’, उनी भन्छन्, ‘निकै अगाडि यहाँ चिनियाँहरुले अवैध शिकार गर्थे । गाउँले आफैंले पक्रेर प्रहरीलाई बुझाएका थिए ।’

तांखु र तोक्पेगोलामा भएको आफ्नो घरमा ओहोरदोहोर गरिरहने आइतवीरले चौरीगाई पालेका छन् । डेढ सय चौरीगाई पाल्ने उनी गाउँका एक्ला चौरीपालक लिम्बू हुन् । शेर्पाहरुको भने हरेकजसो घरमा चौरी पालिएको छ । होमस्टे सञ्चालनमा छ । जडिबुटी कारोबारी छन् ।

सरकारले विकासका पूर्वाधारमा ध्यान नदिएकोमा असन्तुष्ट तोक्पोगोलावासी पछिल्लो समयमा छिमेकी देश चीनको सीमाबन्दीले पनि सास्तीमा छन् । नेपाल प्रेससँगको कुराकानीमा स्थानीयले एमसीसी पास गरेकाले लामो समयसम्म चीनले सीमा नखोलेको तर्क गरेका छन् ।

स्थानीय मिलन दोर्जीले भने, ‘म २१ वर्षपछि गाउँ आएकै चार वर्ष भयो । तर, तीन वर्षदेखि चीनले सिमाना बन्द गरेको छ ।’ सिमाना बन्द गरेपछि तोक्पेगोलालाई धेरै घाटा भएको दोर्जी बताउँछन् । उनी भन्छन्, ‘चौरीका बाछाबाछीदेखि जडिबुटीसम्म बेचेर वर्षको पाँच–दश लाख जोगाउने तोक्पेगोलावासी तीन वर्षदेखि समस्यामा छन् । एमसीसी पास भएकाले नखुलेको भन्ने हल्ला छ गाउँमा ।’

आइतवीर साँबाले चीनले सीमा नखोल्दा याक र चौरीपालनमै समस्या थपिएको सुनाए । उनले भने, ‘अहिलेसम्म याक र चौरीलाई चीनको नून खुवाउने बानी पर्‍यो । अहिले भारतको नून खुवाउँदा चौरी र याकले राम्रोसँग खाने बानी पार्नै सकेको छैन ।’

छ सन्तानकी आमा छेरेङ शेर्पाले चीनको सीमा नखुल्दा व्यापारमा धेरै समस्या भएको सुनाउँछिन् । उनी भन्छिन्, ‘चीनबाट आएको सामान सस्तो हुनाले नेपाली बजारमा बेच्दा राम्रो पैसा आउँथ्यो ।’ दुई दिन पैदल हिँडेर चीनको रिउ बजारमा पुगेर किनमेल गरिन्थ्यो । अहिले तीन वर्षदेखि किनमेल ठप्प छ, बजार बन्द छ । बजार बन्द भएसँगै स्थानीयको आम्दानीको बाटो अवरुद्ध भएको छ ।

‘चीनको पैसामा १६ मै बियर आउँथ्यो, जुत्ताको ५० र सिरकको १०० चिनियाँ मूल्य हुन्थ्यो’, स्थानीय कासाङ शेर्पाले भने, ‘यो नेपालमा पाउनेभन्दा धेरै सस्तो हो । अहिले सीमा बन्द हुँदा व्यापार-व्यवसाय सबै बन्द छ । सबैको व्यवसाय चौपट छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर