काठमाडौंका सैलुनमा फरक–फरक मूल्यसूची, कांग्रेसभन्दा माओवादीका नाई सस्ता – Nepal Press

काठमाडौंका सैलुनमा फरक–फरक मूल्यसूची, कांग्रेसभन्दा माओवादीका नाई सस्ता

काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सैलुनहरूले सेवाशूल्क वृद्धि गर्दा दुईथर मूल्यसूची सार्वजनिक भएका छन् ।कांग्रेसनिकट नाई संघ र माओवादी निकट नाई संघले बेग्लाबेग्लै मूल्यसूची निकालेर ग्राहकलाई अन्योल बनाइदिएका छन् ।

दुवै संघले असोज १ गतेदेखि नै लागू हुने गरे मूल्यवृद्धिको निर्णय गरेका थिए । तर, उनीहरूले बढाएको दररेटमा एकरूपता छैन । कांग्रेस निकट नेपाल नाई संघले कपाल काटेको दररेट रु दुई सय पुर्‍याएको छ । जबकि माओवादी निकट अखिल नेपाल राष्ट्रिय नाई मजदुर संघले सामान्य कपाल काटेको १७० रुपैयाँ कायम गरेको छ ।

विशेष तरिकाले कपाल काटेको चाहिँ कांग्रेसले २२० रुपैयाँ तोकेको छ । यस्तै माओवादीले डिजाइनिङ सहित कपाल काटेको ३५० रुपैयाँदेखि ५०० रुपैयाँ लाग्ने मूल्य सूचीमा उल्लेख छ ।

यस्तै दारी काटेको चार्ज पनि कांग्रेसका नाईभन्दा माओवादी नाईको सस्तो छ । कांग्रेसको नाई संघले साधारण र विशेष तरिकाले दारी काटेको चार्ज क्रमशः १२० र २०० रुपैयाँ तोकेका छन् । जबकि माओवादीको संघले चाहिँ क्रमशः ९० रुपैयाँ र १६० रुपैयाँ दररेट कायम गरेको छ ।

टाउको मसाज गरेको शुल्क पनि तुलना गरौँ । माओवादीका नाईले साधारण र विशेष तरिकाले टाउको मसाज गरेको शुल्क क्रमशः २०० र २५० रुपैयाँ तोकेका छन् । यता कांग्रेसका नाईले भने टाउको मसाजलाई एउटै शुल्क २०० रुपैयाँ कायम गरेका छन् । कांग्रेसका नाईले विशेष तरिकाले टाउको मसाज गर्ने छैनन् ।

माओवादीका नाइले ‘होम सर्भिस’ को सुविधा पनि अघि सारेका छन् । माओवादी निकट संघको सूची अनुसार ६०० रुपैया तिरेर नाईलाई घरमै बोलाउन सक्छन् । विशेष सेवाका लागि चाहिँ ११ सय रुपैयाँ तिर्नुपर्ने छ । कांग्रेसनिकट संघले चाहिँ होम सर्भिसको अफर गरेको छैन ।

माओवादी निकट संघको सूचीमा जुँगा मिलाएको ६० रुपैयाँ तोकिएको छ । कांग्रेसको सूचीमा यो सेवा पनि छैन । बरु कांग्रेसले कपाल डेडलक गर्ने, कपाल कर्ली गर्नेजस्ता सेवाको अफर गरेको छ । कपाल डेडलक गर्न १२ हजार देखि २५ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

माओवादीनिकट संघले आफ्नो दररेट उल्लंघन गर्नेलाई १५ सयदेखि २५ सय रुपैयाँ जरीवाना तोकेको छ । साथै, प्रत्येक महिनाको मंगलबार सबै सैलुनहरु बन्द रहने बताइएको छ । ती दिन सैलुन खोल्नेलाई १५ सयदेखि ५ हजारसम्म जरीवाना तोकिएको छ ।

नेपालमा विभिन्न चार पार्टीनिकट चार वटा नाई संघहरु सक्रिय छन् । कांग्रेस र माओवादीबाहेक एमाले र मधेसवादी दलका पनि नाई संघ छन् । एमाले र मधेसवादीको सूची चाहिँ सार्वजनिक भएको छैन ।

माओवादीनिकट संघका अध्यक्ष बल्लु ठाकुरले आफूहरूले सबै नाई संघहरुसँग मिलेर मूल्यमा एकरूपता ल्याउन प्रयास गरे पनि सफल नभएको बताए ।


प्रतिक्रिया

One thought on “काठमाडौंका सैलुनमा फरक–फरक मूल्यसूची, कांग्रेसभन्दा माओवादीका नाई सस्ता

  1. जुन पार्टीको नाई भएपनि कपाल काटेको मूल्य १०० भन्दा बढी हुनुहुदैन । उपभोक्ताले यसको विरोध गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर