कैलालीका ५ क्षेत्र : रेशमको पार्टीमा लगभग टुंगो, ठूला दलबाट को-कहाँ भिड्ने ? – Nepal Press

कैलालीका ५ क्षेत्र : रेशमको पार्टीमा लगभग टुंगो, ठूला दलबाट को-कहाँ भिड्ने ?

कैलाली । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले कैलालीका तीन क्षेत्रमा  उम्मेदवार टुङ्गो लगाएको छ । अघिल्लो पटक चौधरी निर्वाचित भएको कैलाली १ मा यस पटक उनकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी उत्रिएकी छन् । उनी पार्टी केन्द्रीय अध्यक्ष पनि हुन् । भदौ ८ मा एक सार्वजनिक कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।

क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य तथा प्रदेशको संगठन विभाग प्रमुख अरुण चौधरीको उम्मेदवारी पक्कापक्की भएको छ । ३ मा गंगा चौधरी लड्ने तयारीमा रहेको नागरिक उन्मुक्ति पार्टीको उच्च स्रोतले जानकारी दिएको छ ।

‘अहिले सम्म ३ क्षेत्रमा उम्मेदवारको अन्तिम टुंगो लागिसकेको छ । तर, कैलाली १ बाहेक अन्य क्षेत्रमा भने घोषणा हुन बाँकी छ’, एक नेताले भने, ‘क्षेत्र नम्बर ४ र ५ मा पनि टुंग्याउने नजिक पुगेका छौं ।’

कैलाली ४ मा कैया चौधरी र ५ मा लक्ष्मण थारुलाई उम्मेदवार बनाउने पार्टीको तयारी रहेको उनले बताए ।

ठूला दलबाट को-कहाँ भिड्ने ?

कैलाली १

सत्ता गठबन्धन र एमाले पनि यहाँ उम्मेदवारी तय गर्न जुटेका छन् । गठबन्धनभित्र कैलाली १ मा कांग्रेसले दाबी गरेको छ । कांग्रेसमा एकल सिफारिस नभएको हुँदा कसले टिकट पाउँछ भन्ने यकिन छैन । तर, पूर्वमन्त्री रामजनम चौधरीको पल्ला भारी भएको नेताहरू बताउँछन् ।

चौधरी २०७४ लाई छाडेर २०४८ यता पाँचपटक सांसद भइसकेका छन् । २०६४ मा समानुपातिकतरफ सांसद भएका चौधरी २०४८, २०५१, २०५६ र २०७० मा प्रत्यक्ष निर्वाचित भएका थिए । अहिले उनीसहित बुद्धिसागर चौधरी, नृपबहादुर खड्का र टेकेन्द्रबहादुर धामीको नाम प्रतिनिधिसभामा सिफारिस भएको छ ।

एमालेले सम थापा, तपेन्द्र रावल र शिलु खतिवडा (स्वार) को नाम सिफारिस गरेको छ । यस पटक तपेन्द्र रावलको सम्भावना रहेको एमाले उच्च स्रोतको दाबी छ । उनी २०७४ मा टीकापुर नगरपालिकाको मेयरमा विजयी भएका थिए ।

अघिल्लो पटक रेशम चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार मदनकुमारी शाह (गरिमा) ले १३ हजार ४०६ मत ल्याइन् । शाहले एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादी राेजेकी थिइन् । उनी अहिले नेकपा एसकी केन्द्रीय सचिव छिन् ।

काङ्ग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन् । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मत परिणामअनुसार पनि यहाँ चौधरीको पार्टी नागरिक उन्मुक्ति बलियो देखिएको छ ।

नागरिक उन्मुक्तिका उम्मेदवारले १७ हजार १९३ मत पाउँदा कांग्रेस उम्मेदवारको ११ हजार ६७८, एमालेको १० हजार ३२२, माओवादीको ६ हजार ९३० मत मतभार छ । त्यस्तै राप्रपाको ३ हजार ५६१, जसपाको २ हजार ३०२ र नेकपा एसको २ हजार २३२ मत छ ।

कैलाली २

यहाँ नागरिक उन्मुक्तिबाट अरुण चौधरी उम्मेदवार बन्ने पक्का भइसकेको छ। नेपाली कांग्रेसमा छँदा महासमिति सदस्य रहेका चौधरी अघिल्लो पटक कांग्रेसबाट प्रदेशसभा र त्यसअघि मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट लम्की चुहाको मेयरमा उम्मेदवार बनेका थिए । उनी दुवै पटक झिनो मतान्तरले पराजित भए ।

२०७४ मा लम्कीचुहाको मेयरमा एमालेका महादेव बजगाईं ७ हजार १८८ मत ल्याएर विजयी हुँदा चौधरीले ६ हजार २२२ मत पाएका थिए । त्यसवेला उनीहरूबीच ९६६ मतान्तर थियो । दोस्रो भएको कांग्रेसका उम्मेदवार भक्तबहादुर थापाले ६ हजार ५२१ मत पाएका थिए ।

मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक र नेपाली कांग्रेसको २०७४ असोज ३० मा एकता भएकाे थियो । त्यसपछि चौधरी कांग्रेसबाट प्रदेश २ को ‘ख’ मा उम्मेदवार बने । एमाले र माओवादीको वाम गठबन्धनसँग उनी ८४४ मतले पराजित भए । त्यो वेला वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नन्दबहादुर साउदले १२ हजार ७७ मत प्राप्त गर्दा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका चौधरीले ११ हजार २३३ मत पाएका थिए ।

अहिले चौधरीसँग एमालेबाट झपट रावल, सूर्यबहादुर थापा र कमला वलीमध्ये एकजना भिड्नेछन् । रावलले अघिल्लो पटक एमाले छाडी कांग्रेस छिरेका मोहनसिंह राठौरलाई हराएका थिए । रावलले २५ हजार १५७ मत पाउँदा राठौरले २२ हजार ३१३ मत ल्याएका थिए । राठौर ७० मा भने एमालेबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । एमालेका अर्का उम्मेदवार आकांक्षी थापा समन्वय समिति कैलालीका प्रमुख तथा वली राष्ट्रियसभा सदस्य हुन् ।

कैलाली २ मा कांग्रेसमा टिकट दाबी गर्नेहरूको रस्साकस्सी छ । क्षेत्रीय कमिटीले हिमबहादुर रावल, विजयबहादुर स्वाँर, कमलबहादुर शाह, मोहनसिंह राठौर, टीकाकुमारी चौधरी, धर्मराज न्यौपाने र कृष्ण पाण्डेको नाम सिफारिस गरेको छ । यीमध्ये राठौर र शाहको सम्भावना बढी छ ।

त्यस्तै गठबन्धनमा रहेको माओवादी केन्द्रले पनि यहाँ दाबी गरेको छ ।  माओवादीमा भगत बडुवालले टिकट पाउने चर्चा छ । स्थानीय तहमा वडाध्यक्षले पाएको मतअनुसार यहाँ एमालेकाे १७ हजार ८३४, कांग्रेसकाे १३ हजार ८२०, माओवादीकाे ८ हजार ७२४, नागरिक उन्मुक्तिकाे ५ हजार २४३, राप्रपाकाे २ हजार ४०७ र नेकपा एसकाे २ हजार ३०६ रहेको छ ।

कैलाली ३

यहाँ कांग्रेसबाट नागरिक उन्मुक्ति आएका गंगा चौधरी उम्मेदवार बन्ने पक्का जस्तै छ । उनीसँग एमालेबाट पूर्वमन्त्री गौरीशङ्कर चौधरी निर्वाचनमा होमिन तयार छन् । २०७० र २०७४ मा विजयी चौधरी जीतको ह्याट्रिक बनाउने होडमा छन् । दुईपटक माओवादीबाट जितेका उनी अहिले एमालेबाट एकल रूपमा सिफारिस भएका छन् । चौधरी २०७४ को चुनावमा २४ हजार ८७३ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी हुँदा कांग्रेसका रामजनम चौधरीले २० हजार ४७३ मत पाएका थिए ।

अघिल्लोपटक आफूहरूले जितेको भन्दै यहाँ माओवादीले सशक्त दाबी गरेको छ । माओवादीबाट संविधानसभा सदस्य कृष्ण चौधरी ‘कुन्दन’, प्रदेशसभा सदस्य वीरमान चौधरी र प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनिता चौधरीमध्ये एकजनालाई अघि सार्नेछ । कांग्रेसबाट खेमराज डगौरा थारु, भीम बडुवाल र गोविन्दराज जोशीको नाम सिफारिस भएको छ ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मतअनुसार कैलाली ३ मा कांग्रेस १९ हजार ९९२, माओवादी ११ हजार ७१६, एमाले ११ हजार २५७, राप्रपा ६ हजार ६९९, नागरिक उन्मुक्ति ५ हजार २४७, जसपा २ हजार ८५९ र नेकपा एसको १ हजार ९७८ छ ।

कैलाली ४

कैलाली ४ मा एमालेका हेभिवेट उम्मेदवार छन् । एमाले केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्ट फेरि निर्वाचनमा होमिने तयारीमा छन् ।

गठबन्धनमा यहाँ माओवादी, कांग्रेस र नेकपा एसको दाबी छ । २०७४ सालमा भट्टसँग १० हजार ३९९ मतान्तरले पराजित कांग्रेसका सुनिल भण्डारीले यस पटक पनि दाबी गरेका छन् । उनीसँगै नैनसिंह महरको चर्चा छ । प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकको नाम पनि सिफारिस गरिएको छ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका समकक्षी भएकाले भण्डारीको सम्भावना बढी छ ।

डोटी नेकपा एकीकृत समाजवादीको भागमा परे वीरबहादुर बलायर यो क्षेत्रमा आउने सम्भावना बढेको छ । माओवादी केन्द्रले यस क्षेत्रको लागि कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्ष्मीराज आचार्य र पुष्पराज भुसालको नाम सिफारिस गरेको छ ।

क्षेत्र नम्बर ४ मा नेकपा एसबाट सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारी टिकटको रेसमा छन् । उनी अघिल्लो पटक एमालेबाट निर्वाचित भएका थिए । यहाँ नागरिक उन्मुक्तिबाट कैया चौधरीको सम्भावना बढ्दो छ ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मतको आधारमा यस क्षेत्रमा कांग्रेस २२ हजार ९९७, एमाले २० हजार ०८१, माओवादी १० हजार १२३, नेकपा एस ४ हजार २९ र राप्रपा ३ हजार २३४ छ ।

कैलाली ५

प्रधानमन्त्री देउवापत्नी आरजु राणा ब्याक भएपछि यहाँ कांग्रेसबाट उम्मेदवारको खोजी हुन थालेको छ । समानुपातिकमा आरजु बसेसँगै नरनारायण शाह मनु, सुनिल भण्डारी र डिल्लीराज पन्तको चर्चा छ । माओवादी र नेकपा एसले यहाँ त्यत्ति चासो देखाएका छैनन् । एमालेका उम्मेदवार नारदमुनि राना निर्विकल्प छन् । उनको नाम एकल रूपमा सिफारिस भएको छ ।

अघिल्लो पटक नारदमुनिसँग लडेकी आरजु ५ हजार बढी मतान्तरले पराजित भएकी थिइन् । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । यहाँ नागरिक उन्मुक्ति पार्टीबाट लक्ष्मण चौधरी निर्वाचनमा होमिने तयारी गरेका छन् ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मतको आधारमा यस क्षेत्रमा कांग्रेस २२ हजार ७७९, एमाले १७ हजार ४२०, माओवादी ८ हजार १७५, नेकपा एस २ हजार ९, राप्रपा १ हजार ७९७ र नागरिक उन्मुक्तिकाे ६५९ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर