जाली नोटमा मुछेर गोलीकाण्डका श्रृंखला : मोहम्मद हत्यामा पनि ‘रअ कनेक्सन’ को चर्चा – Nepal Press

जाली नोटमा मुछेर गोलीकाण्डका श्रृंखला : मोहम्मद हत्यामा पनि ‘रअ कनेक्सन’ को चर्चा

निशानामा नेपालको मुस्लिम समुदाय

काठमाडौं । देशको सबैभन्दा सुरक्षित मानिने राजधानी शहरभित्रै गोली हानेर एक व्यक्तिको हत्या गरिएको छ । सोमबार साँझ काठमाडौंको गोठाटारमा लाल मोहम्मदको अज्ञात समूहले हत्या गरेको हो ।

मोहम्मदको आफ्नै पृष्ठभूमि पनि सङ्लो छैन । उनी हत्या अभियोगमा झण्डै ९ वर्ष जेल बसेर २०७४ जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा बाँकी कैद मिनाहा पाएर छुटेका थिए । त्यसअघि २०६४ सालमा पक्राउ परेका मोहम्मदलाई अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

राजधानीमा ५ वर्षपछि गोली हानी हत्या भएको हो । २०७४ साल असोज २३ गते काठमाडौंको शान्ति नगर खरिबोटमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन मारिएका थिए । निजी गाडीमा हिँडिरहेको अवस्थामा दिनदहाडै उनीमाथि गोली प्रहार भएको थियो । उक्त घटनामा गुण्डागर्दीको पृष्ठभूमीका समिरमान सिंह बस्नेत र मनोज पुन समूहको संलग्नता रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । समिर पछि पक्राउ परे भने मनोज इनकाउन्टरमा मारिएका थिए ।

त्यसभन्दा पनि पछाडि फर्किँदा २०७३ चैत २९ गते गौरिघाटस्थित दिव्य पार्टी प्यालेसमा गुण्डागर्दी पृष्ठभूमिका दावा लामामाथि गोली प्रहार भएको थियो । दावा भने बाँच्न सफल भए । दावालाई गोली हान्ने पनि समिर-मनोज समूह रहेको प्रहरीको निष्कर्ष थियो ।

यसपटकको गोलीकाण्डमा भने आपराधिक समूहको संलग्नता नरहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । अनुसन्धान अधिकृतहरुले यस घटनामा भारतीय खुफिया एजेन्सीलाई जोडेर हेरिरहेका छन् ।

को हुन् मोहम्मद ?

२०६४ असार २० गते साँझ अनामनगरको धोविखोलामा बाराका बलराम पटुवाको गोली हानी हत्या भयो । उनको टाउकोमा पाँच गोली लागेको थियो । प्रहरी अनुसन्धानमा पटुवा भारतीय नक्कली नोट कारोबारी भएको खुल्यो । उनलाई इल्ताफ आलमले मार्न लगाएको प्रहरीको दाबी थियो । सो घटनामा प्रयोग भएका सुटर थिए लाल मोहम्मद । उनी एक्लैले पटुवाको टाउकोमा पाँच गोली प्रहार गरेका थिए ।

घटनाको केही साताअघि मात्र प्रहरीले त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा नक्कली भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार गिरोहको माथिल्लो लेयरसम्म प्रहरी नपुगोस् भने इल्ताफले पटुवाको हत्या गर्न लगाएका थिए । पटुवा पक्राउ परे आफूहरु पनि फस्न सक्ने भएकाले इल्ताफले लाल मोहम्मदलाई प्रयोग गरेर उनको हत्या गर्न लगाएको प्रहरीको दाबी थियो ।

त्यसअघि पनि लाल मोहम्मद नक्कली भारतीय जाली नोट कारोबारमा प्रत्यक्ष–अप्रत्यक्ष जोडिएको एक अधिकारी बताउँछन् । पटुवाको हत्या भएको झन्डै तीन सातापछि लाल मोहम्मद पक्राउ परेका थिए ।

झन्डै ९ वर्ष जेल बसेर छुटेलगत्तै २०७३ सालमा मोहम्मदको हत्या प्रयास भएको अनुसन्धान अधिकारी बताउँछन् । भारतबाट दुई जना सुटर उनको हत्या गर्न मोहम्मद बसिरहेको क्षेत्रमा आए पनि त्यसको सूचना पाएपछि परिवारले नै उनीहरुलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । यो घटनामा पछि प्रहरीको प्रतिआतङ्कवाद ब्यूरोले पनि अनुसन्धान गरेको थियो ।

रअ कनेक्सन

पाकिस्तानको सुरक्षा एजेन्सी आईएसआईले अन्डरवर्ल्ड डन दाउद इब्राहिम समूहलाई प्रयोग गरेर भारतमा नक्कली नोटसहितका आपराधिक गतिविधि फैलाएको र त्यसका लागि नेपाली भूमीलाई प्रयोग गर्ने गरेको भारतीय सुरक्षा एजेन्सीहरुको दाबी छ । भारतीय सुरक्षा एजेन्सीले उक्त समूहसँग जोडिएका व्यक्तिलाई ‘सफाया’ गर्न अन्डरवर्ल्ड डन छोटा राजनको समूहलाई प्रयोग गर्ने गरेको नेपालकै विभिन्न अनुसन्धानहरुबाट देखिएको छ ।

‘नक्कली भारतीय नोटसँग जोडिएका जति पनि घटना छन् त्यसमा भारतीय सुरक्षा एजेन्सीहरु संलग्न देखिन्छन् । उनीहरुले नेपालमा आएर सम्पूर्ण योजना बनाएपछि त्यसलाई कार्यान्वयन गर्न आपराधिक पृष्ठभूमिका व्यक्तिलाई प्रयोग गर्ने गरेको पाइन्छ’, अपराध महाशाखामा बसेर नक्कली भारतीय नोटसँग जोडिएका केही ठूला घटनाको अनुसन्धान गरेका एक अधिकृत भन्छन् ।

भारतले यस विषयमा नेपाललाई संलग्न व्यक्तिहरुको नामसहित संकेत पनि दिने गरेको उनको भनाइ छ । भारतीय सुरक्षाकर्मी काठमाडौंमा हतियारसहित पक्राउ परेका घटनालाई पनि यससँग जोडेर हेर्न सकिनले उनले बताए ।

‘उनीहरुले भारतको संलग्नता नदेखियोस् भनेर आफु पछाडि बस्ने र घटनामा आपराधिक गिरोहलाई प्रयोग गर्ने गरेको पाइन्छ’, ती अधिकृत भन्छन्, ‘नक्कली भारतीय नोट जोडिएका यस्ता घटनामा भारतको संलग्नता अब ओपन सेक्रेटजस्तै भयो । हाम्रा सुरक्षा एजेन्सीले चाहेर पनि केही गर्न सक्दैनन् । यसको समाधान सरकारीस्तरमा हुनुपर्ने हो । तर अपराधी पत्ता लगाउन सकेन भनेर प्रहरीको आलोचना हुन्छ ।’

जाली नोटमा गोलीकाण्डका शृंखला

२०६७ फागुन २६ गते युनुस अन्सारीमाथि केन्द्रीय कारागारभित्रै गोली प्रहार भएको थियो । उनलाई गोली हान्ने भारत उत्तर प्रदेशका जसजित भनिने मनमितसिंह भाटिया तत्कालै पक्राउ परेका थिए ।

२०६६ असोजमा नेपालगञ्जका व्यापारी अब्दुल मजिद मनिहारको हत्यामा पनि भाटिया नै संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । युनुस नक्कली भारतीय नोटसहित २०६५ पुसमा त्रिपुरेश्वरबाट पक्राउ परेका थिए । तर नक्कली भारतीय नोटको बिगबिगी कम नभएको भन्दै जेलभित्रै गएर युनुसको हत्या गर्ने योजना बनेको थियो ।

त्यसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दुतावासका कर्मचारीको केन्द्रीय कारागारमा भ्रमण नियमित देखिएको अनुसन्धानबाट खुलेको थियो । त्यसपछि यही घटनाको अनुसन्धानका क्रममा प्रहरी भक्तपुरस्थित एक घरमा पुगेको थियो । लामो समयसम्म बाहिरबाट ताल्चा लगाइएको कोठामा एक दिन झ्याल खुल्लै देखेपछि प्रहरीले भारतीय खुफिया एजेन्सीसँग सम्बन्धित व्यक्तिको परिचयपत्र भेटेको थियो । युनुसलाई गोली हान्ने भाटियालाई काठमाडौंमा बसेर योजना कार्यान्वयन गराउने व्यक्ति तीनै परिचय पत्रमा उल्लेखित व्यक्ति रहेको अनुसन्धानबाट खुल्यो ।

त्यसको केही समयमा नेपालस्थित पाकिस्तानी दुतावासका द्वितीय सेक्रेटरीमाथि बसुन्धरामा भएको गोली प्रहारमा भाटियालाई खटाउने तीनै व्यक्ति संलग्न रहेको प्रहरीको दाबी छ । तर प्रहरीले ती व्यक्तिलाई पक्राउ गर्न सकेन । बसुन्धरामा बाइकमा आइरहेका पाकिस्तानी दुतावासका कर्मचारीलाई रोकेर सार्वजनिक विदाका दिन गोली प्रहार भएपनि हेलमेटका कारण उनी ज्यान जानबाट जोगिएका थिए ।

इस्लाामिक संघका महासचिव फैजान अहमदलाई २०६८ असोज ९ गते काठमाडौंको घण्टाघरअघि दिनदहाडै गोली हानी हत्या गरिएको थियो । प्रहरीले सुटरले प्रयोग गरेको ट्याक्सीका नेपाली चालकलाई पक्राउ गर्नुबाहेक अन्यलाई पक्राउ गर्न सकेन ।

२०६६ माघ २४ गते लाजिम्पाटस्थित फ्रान्सेली दुतावास अगाडि सञ्चार उद्यमी जमिम शाहको पनि गोली हानी हत्या भएको थियो । यो घटनामा पनि सुटर पक्राउ पर्न सकेनन् । बरु प्रहरी अधिकारीले सहयोग गरेको भन्दै उनीहरुलाई मुद्धा चलाइएको थियो ।

‘घटनाको अनुसन्धान गर्ने क्रममा संलग्न देखिएका व्यक्तिहरुका मोबाइल नेपालस्थित भारतीय दुतावास अगाडि स्वीच अफ भएको पनि देखिने गरेको छ’, अनुसन्धान अधिकृत भन्छन् ।

२०५५ असार १५ गते पूर्वराज्यमन्त्री तथा सांसद दिलसाद बेगको काठमाडौंमै गोली हानी हत्या भएको थियो । २०६६ मा रुपन्देहीमा सौकत बेग र २०७५ असोज ४ गते सुनसरीको भुटाहामा रैयान नेसनल स्कुलका सञ्चालक खुर्सिद आलमको गोली हानी हत्या भएको थियो । यी प्राय घटनामा सुटर र योजनाकार पक्राउ पर्न सकेनन् ।

‘छिमेकी देशकै एजेन्सीको संलग्नतामा आफ्ना नागरिकहरुको दिनदहाडै गोली हानेर हत्या हुँदा पनि चुप लागेर बसिरहनुले हाम्रो सुरक्षा चुनौती कुन स्तरमा छ भन्ने देखाउँछ । यथार्थमा भारत-पाकिस्तान दुश्मनीको मारमा नेपालीहरु परिरहेका छन् । सरकारले त्यसमा चासो दिएर कदम चाल्नुपर्छ,’ नेपाल प्रहरीका अवकाशप्राप्त एक उच्च अधिकृत भन्छन् ।

 

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर