आरजुले समानुपातिक रोज्दा कैलाली –५ मा कांग्रेसको उम्मेदवार को ? – Nepal Press

आरजुले समानुपातिक रोज्दा कैलाली –५ मा कांग्रेसको उम्मेदवार को ?

कैलाली । नेतालाई एक क्षेत्रबाट सिफारिस हुन सकस भइरहेका बेला प्रधानमन्त्री पत्नी आरजु राणा देउवाको नाम पाँच जिल्लाबाट सिफारिस भयो । डडेल्धुराबाट समानुपातिक सिफारिसमा परेकी आरजु कैलाली ५, बर्दिया २, बाँके ३ र बागलुङ २ बाट प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस भएकी थिइन् ।

३ प्रदेशका पाँच जिल्लाबाट सिफारिस भएपनि धेरैले आरजुको रोजाइमा यस पटक पनि कैलाली ५ नै पर्ने अनुमान गरेका थिए । तर, अन्तिम समयमा भने उनी समानुपातिक बस्न राजी भइन् ।

अघिल्लो पटक बाम गठबन्धनबाट उम्मेदवार नारदमुनि रानासँग प्रत्यक्ष निर्वाचनमा होमिएकी राणा ५ हजार बढी मतले पराजित भएकी थिइन् । राना २७ हजार २०२ मतसहित विजयी हुँदा राणाले २२ हजार ३२२ मत ल्याएकी थिइन् । अहिले पनि धेरैले राणा र रानाको प्रतिस्पर्धा हुने अनुमान गरेका थिए ।

एमालेबाट रानाको नाम एकल सिफारिस हुँदा कांग्रेसले राणाको नाम सर्वसम्मत सिफारिस गरेको थियो । तर, राणाले समानुपातिक रोजेपछि अहिले प्रत्यक्ष तर्फ कसले टिकट पाउने हो भन्ने बिषयमा चर्चा सुरु भएको छ ।

कांग्रेस कैलालीमा अहिले सम्म आरजु राणाले समानुपातिक रोजेको भन्ने बिषय आधिकारिक रुपमा जानकारी आएको छैन । त्यसैले गर्दा उनको विकल्पका विषयमा छलफल गर्ने बेला नभएको कैलाली सभापति नारायण दत्त भट्टले बताए ।

‘मैले पनि तपाइहरूकै मिडियाबाट थाहा पाएको हो’ उनले भने ‘अहिले सम्म उहाँले समानुपातिक रोजेको भन्ने आधिकारिक कुरा हामीलाई थाहा छैन । त्यहि भएर उहाँको विकल्पका बिषयमा छलफल गर्ने बेला भएको छैन ।’ सभापति भट्ट पनि अहिले काठमाडौँमा छन् । प्रधानमन्त्री वा प्रधानमन्त्री पत्नीसँग भेट नभएको भन्दै यस बिषयमा उनी अनुत्तरित भए ।

सभापति समानुपातिकका बिषयमा जानकारी नभए पनि एक पदाधिकारीले आरजु राणाको नाम समानुपातिकमा सिफारिस भएको पुष्टि गरे । ‘हो उहाँको नाम समानुपातिकमा परेको छ । अब त्यहाँ प्रत्यक्ष उम्मेदवार खोजि सुरु हुन्छ ।’

प्रतिनिधि सभामा आरजु राणाको मात्रै नाम सिफारिस भएको हुँदा उनको विकल्पमा सिफारिस नभएका व्यक्तिले टिकट पाउने छन् । यस्तो अवस्थामा धेरैले पुष्कर नाथ ओझाले टिकट पाउने आकलन गरेका छन् । अघिल्लो पटक आरजुलाई हराउन भूमिका खेलेको भन्दै सदस्य समेत नरहने गरि कारबाहीमा परेका ओझाले टिकट नपाउने सम्भावना नरहेको काङ्ग्रेसकै नेताहरू बताउँछन् ।

‘आरजु पछि उहाँले टिकट पाउँछन् भन्ने धेरै छन् । तर त्यो सम्भावना छैन भन्दा पनि हुन्छ’ उनले भने ‘यहाँ कांग्रेस प्रदेश महामन्त्री नरनारायण शाह मनु र सुनिल भण्डारीको सम्भावना बढेको छ ।’ प्रदेश महामन्त्री शाह कैलालीमा दुई पटक सम्म जिल्ला सभापति भइसकेका छन् । यस पटक प्रदेश सभा तर्फ प्रत्यक्ष र प्रतिनिधि सभा तर्फ समानुपातिक सिफारिस भएका शाह आरजुको विकल्प हुन सक्ने कांग्रेस नेताहरू बताउँछन् ।

त्यस्तै भण्डारीलाई पनि उम्मेदवार बनाउन सक्ने धेरैको आकलन छ । भण्डारी अघिल्लो पटक कैलाली क्षेत्र नम्बर ४ बाट बाम गठबन्धनका उम्मेदवार लेखराज भट्ट सँग १० हजार ३ सय ९९ मतान्तरले पराजित भएका थिए । अहिले पनि उनको नाम कैलाली ४ बाट सिफारिस भएको छ ।

उनी सहित नैन सिंह महर, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा।लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो । तर, कैलाली ४ नेपाली कांग्रेसले पाउँदा वीर बहादुर बलायरलाई लडाउने विषयमा पनि छलफल भइरहेको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ । बलायर कांग्रेस प्रदेश सभापति हुन् ।

‘डोटीका नेकपा एकीकृत समाजवादीले सशक्त दाबी गरिरहेको छ । त्यहाँ प्रेम आलेले पाउने अवस्थामा प्रदेश सभापतिलाई कैलाली ४ ल्याउने बिषयमा पनि छलफल चलिरहेको छ’ कांग्रेस स्रोतले भन्यो ‘त्यस्तो अवस्थामा कैलाली ४ मा सिफारिस हुनु भएका सुनिल भण्डारी आरजुको क्षेत्रमा आउन सक्नु हुन्छ ।’भण्डारी प्रधानमन्त्री देउवाका समकालीन हुन् ।

कैलालीका ५ मा आरजुको विकल्पमा हाल प्रदेश सभा सदस्य रहेका डिल्लीराज पन्त पनि उम्मेदवार बन्न सक्ने बताइएको छ । कांग्रेस कैलालीका सचिव केशव मिश्र भने आरजु राणा देउवा समानुपातिक मा रहेको कुरा आधिकारिक जानकारी नआएको भन्दै यदि त्यस्तो भएका प्रतिनिधि सभाका लागि आकांक्षीहरु धेरै हुन सक्ने बताउँछन् ।

‘उहाँलाई हामीले भावी प्रधानमन्त्रीको रुपमा हेरेर एकल नाम सिफारिस गरेका हौँ । उहाँ समानुपातिक बस्ने भएपछि यहाँ धेरै आकांक्षी हुन सक्छन्’ उनले भने ‘हामी पनि त्यो पदको लागि योग्य छौँ । ’

अहिले आरजु राणा देउवाको नाम समानुपातिकमा सिफारिस भए लगत्तै उनको क्षेत्रका प्रत्यक्ष तर्फको उम्मेदवारको चर्चा भइरहेको बेला १६ गते पछि फेरी उनी प्रत्यक्षमा आउन सक्ने केही नेताहरू दाबी गर्छन् । ‘निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सूचि सच्याउन दिएको समयमा फेरी उनको नाम समानुपातिकमा नरहन सक्छ’ कांग्रेसका एक नेताले भने ‘अहिले नै आरजु प्रत्यक्ष नलड्ने भनिइन भनेर भन्दा हतार हुन सक्छ ।’


प्रतिक्रिया

One thought on “आरजुले समानुपातिक रोज्दा कैलाली –५ मा कांग्रेसको उम्मेदवार को ?

  1. यो देशको राम्रो देख्न मन हुनेले गठबन्धनलाई देशव्यापी हराउनै पर्छ । अन्यथा देश र जनताले दु:ख पाउँछन् । अब यिनले जताबाट टिकट पाए पनि जनतालाई के मतलव ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर