महिला साफ च्याम्पियनसिप : फाइनलअघि आत्मविश्वासी नेपाली टीम, ट्रफीमा अर्जुनदृष्टि – Nepal Press

महिला साफ च्याम्पियनसिप : फाइनलअघि आत्मविश्वासी नेपाली टीम, ट्रफीमा अर्जुनदृष्टि

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टीमको एउटा ‘स्लोगन छ- ‘हामी सक्छौं, हामी गर्छौं ।’

खेलमैदान प्रवेश गरेपछि यसै स्लोगनबाट प्रेरित भएर उनीहरु ९० मिनेट लड्छन् । सन् २०१८ मार्चमा हरि खड्काले नेपालको प्रशिक्षण सम्हालेदेखि नेपाली महिला टीमले यो ‘स्लोगन’ ले अहिलेसम्म निरन्तरता पाएको छ ।

खड्काले २०१८ मार्च देखि २०१९ डिसेम्बरसम्म महिला फुटबलको प्रशिक्षण सम्हालेका थिए । उनको प्रशिक्षणमा नेपालले २२ खेल खेल्यो । तर, चाहेको उपलब्धि हासिल भएन । ‘हामी सक्छौं र हामी गर्छौं’ भन्ने ‘स्लोगन’ नारामै सीमित भयो ।

तर, करिब १२ वर्षको प्रतीक्षापछि नेपाली महिला फुटबल टीम महत्वपूर्ण उपलब्धिको नजिक पुगेको छ । साफ महिला च्याम्पियनसिपअन्तर्गत आज हुने फाइनलमा बंगलादेशमाथि जीत हासिल गरे नेपालका लागि यो ऐतिहासिक सफलता हुनेछ ।

त्यसो त फाइनल प्रवेश अगाडि नै नेपालले एउटा इतिहास रचिसकेको छ । नेपालले इतिहासमै पहिलोपटक चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई पराजित गरेको छ । अहिलेसम्म भएका यस प्रतियोगिताका सबै संस्करणको विजेतालाई सेमिफाइनलमा पाखा लगाउनु चानचुने सफलता होइन । यद्यपि, त्यस जीतको खुशीलाई भुलेर अर्को कोसेढुंगा पार गर्ने चुनौतीमा छ नेपाल ।

साफ इतिहासमा कहिल्यै पराजित गर्न नसकेको भारतलाई सेमिफाइनलमा १-० गोलले पराजित गर्दै नेपालले फाइनल यात्रा तय गरेको हो । फाइनल पुग्नु नेपालका लागि कुनै नौलो पक्कै होइन । साफका ६ संस्करणमा नेपाल फाइनल पुगेको यो पाँचौं पटक हो ।

सन् २०१६ को साफमा भने नेपाल सेमिफाइनलमा भारतसँगै पराजित भएर घर फर्किएको थियो । त्यसबाहेका चारै संस्करणको फाइनलमा नेपाल भारतसँगै पराजित भई उपाधिबाट बञ्चित भएको थियो । तर, यसपटक नेपालले घरेलु मैदान र दर्शकबीच भारतको वषौंदेखिको विजयी यात्रालाई ब्रेक लगाइदियो । र, अब अन्तिम प्रतिद्वन्द्वी पाएको छ बंगलादेश ।

इतिहास हेर्ने हो भने नेपालको पक्षमा छ । बंगलादेशले नेपालसँग ८ खेल खेल्दा कुनै पनि खेलमा जीत निकाल्न सकेको छैन । नेपालले बंगलादेशविरुद्ध ६ जीत र दुई बराबरीको नतिजा निकालेको छ । तर, यो इतिहासले मैदानमा काम नगर्न सक्छ । किनकि अहिलेको बंगलादेशी टीम पनि विगतको भन्दा कमजोर छैन ।

समूह चरणमा बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेको छ । साफ इतिहासमा एकछत्र राज गरेको भारतलाई ३-० गोलले पराजित गर्दै सनसनी नतिजा निकालेको बंगलादेशले नेपाललाई गम्भीर चुनौती खडा गर्ने निश्चित छ ।

नेपाली टीमका मुख्य प्रशिक्षक कुमार थापाले पनि बंगलादेशलाई कम आँकेका छैनन् । ‘बंगलादेश सधैं राम्रो हो । तर, यसपटक उत्कृष्ट छ’, उनले फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा भने ।

बंगलादेश बलियो भए पनि नेपाली टीमलाई उपाधि यात्रामा धेरै पक्षहरुमा फाइदा भने पक्कै छ । घरेलु मैदानमा दर्शकलाई निराश नपार्ने र नेपाल आएको ट्रफी अरुलाई लैजान नदिने लक्ष्यमा छन् प्रशिक्षक थापा र नेपाली राष्ट्रिय महिला टीम । यसवेला नेपाली टीमको नजर एउटैमा छ, त्यो हो साफ महिला च्याम्पियनसिप २०२२ को ट्रफी ।

प्रशिक्षक थापाले पनि नेपाली टीम अहिले अर्जुनदृष्टिमा रहेको र मुख्य टार्गेट ट्रफीबाहेक केही नभएको बताए । ‘मौसम कस्तो छ, मैदान कस्तो छ जस्ता केही कुरामा हामीले ध्यान दिएका छैनौं । हाम्रो एउटै अर्जुनदृष्टि छ । त्यसैले हामीले ट्रफीबाहेक केही देखेका छैनौं’, उनले भने ।

नेपालकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले पनि स्लोगनमा जस्तै नेपाली टीमले फाइनलमा गरेर देखाउने र सकारात्मक नतिजा निकाल्ने बताउँछिन् ।

‘हाम्रो स्लोगन नै छ हामी सक्छौं, हामी गर्छौं । त्यसैले फाइनलमा हामी यही कुरालाई फलो गरेर सकारात्मक नतिजा निकाल्छौं । त्यसका लागि हामी कम गल्ती गर्छौं, गोल खाँदैनौं र ट्रफी घरमै राख्छौं’, उनले भनिन् ।

जारी साफ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको थियो । नेपालसँगै भूटान र श्रीलंका पनि समूह बीमा थिए । बंगलादेश समूह ‘ए’ मा थियो । बंगलादेशको समूहमा भारत, पाकिस्तान र माल्दिभ्स थिए । समूह चरणमा माल्दिभ्सविरुद्ध ३-०, पाकिस्तानलाई ६-० र भारतलाई ३-० गोलले पराजित गर्दै बंगलादेश समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

सेमिफाइनलमा बंगलादेशले समूह बीको उपविजेता भूटानलाई ८-० गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

यस्तै नेपालले समूह चरणको पहिलो खेलमा भूटानलाई ४-० र दोस्रोमा माल्दिभ्सलाई ६-० गोलले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनल पुगेको हो । समूह विजेता बनेसँगै समूह एको उपविजेता भारतसँग नेपालले सेमिफाइनल भेट पक्का गरेको थियो । सेमिफाइनलमा पाँच पटकको च्याम्पियन भारतलाई हराउँदै नेपालले फाइनलमा बंगलादेशसँगको भेट पक्का गरेको हो ।

साफको १२ वर्ष लामो इतिहासमा योसहित बंगलादेश दोस्रोपटक फाइनल पुगेको हो । शब्दमा लेखिने खेल र मैदानमा देखिने खेल फरक हुन्छ । तर, करिब १२ वर्षको भारतको दादागिरी तोड्दै उपाधि जसले उचाले पनि आज साफले नयाँ च्याम्पियन पाउने निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *