लुम्बिनीका ६ क्षेत्रमा यस्तो छ एकीकृत समाजवादीको शक्ति, पाउला त सबै सीट ? – Nepal Press

लुम्बिनीका ६ क्षेत्रमा यस्तो छ एकीकृत समाजवादीको शक्ति, पाउला त सबै सीट ?

रुपन्देही । नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनभित्र लुम्बिनीमा ६ वटा प्रतिनिधिसभा र १८ प्रदेशसभा सीटमा दाबी गर्दै आएको छ । यहाँ प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ सीट छन् ।

पहिलो चरणको प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा नेकपा एसलाई ३ वटा सीट दिन गठबन्धन तयार भएको थियो । तर, अन्य क्षेत्रमा पनि दाबी गरेकाले भागबन्डा टुंगिन सकेको छैन ।

प्रतिनिधिसभामा सीट दाबी गरेका क्षेत्रमा स्थानीय तह निर्वाचनमा उसको मत कमजोर रहेकाले गठबन्धनका अन्य दल उसलाई मागेअनुसार सीट दिन तयार छैनन् । नेकपा एसका लुम्बिनीका प्रदेश इन्चार्ज भागवत विश्वासीले गठबन्धनमा पार्टीको प्रतिनिधिसभामा ६ र प्रदेशसभामा २४ सीट दाबी रहेको बताएका थिए ।

एसका प्रतिनिधिसभामा दाङ १ बाट मेटमणि चौधरी, ३ बाट हीराचन्द्र केसी, पाल्पा २ बाट सोमप्रसाद पाण्डे र र गुल्मी २ बाट समानुपातिकमा रामकुमारी झाँक्री सांसद छन् । उनीहरुमध्ये झाँक्री पार्टी विभाजनपछि मन्त्री बनिन् । अहिले चौधरी र केसी मन्त्री छन् । प्रदेशसभामा पाल्पाकी समानुपातिक सांसद रमा घर्तीमात्रै छिन् । उनी प्रदेशमा मन्त्री छिन् ।

नेकपा एसले चार सांसदको क्षेत्रसहित रुपन्देही २ मा राजु गुरुङ र बाँके ३ मा हीरालाल सुनारलाई व्यवस्थापन गर्ने गरी प्रतिनिधिसभामा ६ सीट दाबी गर्दै आएको हो । गठबन्धनभित्र नेकपा एसबाट दाङ १ मा चौधरी, पाल्पा २ मा पाण्डे र गुल्मी २ मा झाँक्रीलाई सीट दिने करिब निश्चित जस्तै छ । रुपन्देही २ भने टुंगिसकेको छैन ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालले यहाँ जसरी पनि केन्द्रीय सदस्य तथा प्रदेश सचिव राजु गुरुङलाई टिकट दिने अडानमा छन् । उनीहरुले गुरुङलाई सीट खाली गरे एमाले उपाध्यक्ष विष्णु पौडेललाई हराउन सकिने दृढता व्यक्त गर्दै आएका छन् । तर, यहाँ कांग्रेसले दाबी गर्दै आएको छ ।

नेता गुरुङले बुटवलबाट चुनावमा उठ्ने घोषणा गर्दै अहिले प्रचारप्रसारसमेत अघि बढाएका छन् । दाङ ३ का हीराचन्द्र केसी र बाँके ३ हीरालाल सुनारको क्षेत्र कांग्रेसलाई छोड्न नेकपा एस सहमत भइसकेको छ ।

नेकपा एस छोड्ने बढ्दो

निर्वाचन नजिकिएसँगै नेकपा एस पार्टी छोड्ने नेता तथा कार्यकर्ताहरु बढिरहेका छन् । पार्टीका केन्द्रीय सदस्य एवं केन्द्रीय अर्थ विभाग उपप्रमुख डा. बालकृष्ण चापागाईं एमालेमै फर्किएका छन् । प्रदेशसभामा उम्मेदवार सिफारिस डा. चापागाईंले पार्टी कांग्रेस र माओवादीको पुच्छर बनेकाले पुरानै घरमा फर्किएको बताए ।

त्यसैगरी एसले दावी गरेको गुल्मी क्षेत्र नं २ मा पनि पार्टी गुल्मीको नेतृत्व तह एमालेमा समाहित भएको छ । एसका सचिव झाँक्रीले एमालेलाई जसरी पनि यो क्षेत्रबाट हराउने उद्घोष गरिसकेकी छन् । गठबन्धन दलले पनि उनलाई टिकट दिने ग्रिन सिग्नल दिइसकेका छन् । तर उनकै क्षेत्रका जिल्ला नेतृत्वले पार्टी छोडेका छन् ।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली र सचिव गोकर्ण विष्टको उपस्थितिमा पार्टी एकता घोषणा गरी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज गणेश खनाल र केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष नरेश भण्डारीसहित जिल्ला नेतृत्व एमाले प्रवेश गरेका थिए ।

नेता भण्डारीले कांग्रेसको नेतृत्वमा गठबन्धन गरेर पार्टीले असफल यात्रा तय गरेकाले साथ दिन नसकी पुरानो पार्टीमा फर्किएको बताए । जिल्ला नेतृत्व नै एमालेमा फर्किएपछि कांग्रेस र माओवादीभित्र गुल्मी २ नेकपा एसलाई दिन नहुने दबाब बढ्न थालेको छ ।

त्यस्तै एसको नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) जिल्ला उपाध्यक्ष कृपाललाल यादव, अनेमसंघ जिल्ला अध्यक्ष सरिता पौडेल, प्रदेश सदस्य खगेश्वर पन्थीसहित एउटा टीम एमालेमै फर्किएको छ । पाल्पा, अर्घाखाँची, बाँकेमा पनि पार्टी छाड्ने क्रम जारी छ ।

पार्टीका प्रभावशाली नेताहरू महासचिव डा. बेदुराम भुसाल, उपमहासचिव डा. विजय पौडेल, सचिवहरु रामकुमारी झाँक्री, भागवत विश्वासी, पोलिटब्युरो सदस्य तथा प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डे, संघीय सांसदहरु मेटमणि चौधरी र हीराचन्द्र केसी लुम्बिनी प्रदेशकै नेताहरु हुन् । पार्टी विभाजनमा ठूलो शक्ति नआएको, सबै तहमा पार्टी कमिटी नबनिसकेको र जनाधार तयार नभइसकेको अवस्थामा एकीकृत समाजवादीका लागि आउँदो निर्वाचन कठिन परीक्षा हुने देखिएको छ ।

तर, नेकपा एसका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेले स्वार्थका लागि आएकाहरूले पार्टी छाड्नु अस्वाभाविक नभएको प्रतिक्रिया दिए ।

एसले दावी गरेका क्षेत्रमा कति छ जनमत ?

नेकपा एसले लुम्बिनीमा दाबी गरेका ६ वटै क्षेत्रमा स्थानीय तह निर्वाचनको जनमत निकै कमजोर छ । यद्यपि गठबन्धनमा अहिलेसम्म ३ वटा क्षेत्र दिन सकिने र थप एक क्षेत्रमा सम्भावना रहेको बुझिएको छ ।

स्थानीय निर्वाचनमा पाँचौं र छैटौं शक्तिका रुपमा रहेको एसलाई आफ्नो सबै मत खन्याएर जिताउन समस्या हुने गठबन्धनका अन्य दल बताइरहेका छन् । स्थानीय तह निर्वाचनमा दलका वडा अध्यक्ष उम्मेदवारले पाएका मतअनुसार नेकपा एस सबैतिर कमजोर नै देखिन्छ ।

१) सोमप्रसाद पाण्डेको क्षेत्र : पाल्पा २
एमाले – ३०,५६६
कांग्रेस – २९,०३९
माओवादी – ४,३१३
एकीकृत समाजवादी – ४३३
राप्रपा – ३३६

२) मेटमणि चौधरीको क्षेत्र : दाङ १
कांग्रेस – २९,७५७
एमाले – २७,०२५
माओवादी – १९,२७६
राप्रपा – २,३५०
एकीकृत समाजवादी – २,३४१
जसपा – ८०७

३) रामकुमारी झाँक्रीको क्षेत्र : गुल्मी २
एमाले – ३१,२५३
कांग्रेस – २९,८२१
माओवादी – १,८४१
एकीकृत समाजवादी – ६५८
राप्रपा – १०१

४) राजु गुरुङको क्षेत्र : रूपन्देही २
कांग्रेस – ३४,९५९
एमाले – ३३,१८७
राप्रपा – ३,९२०
माओवादी – ३,१८८
एकीकृत समाजवादी – १,३८२
जसपा – १८३

५) हीराचन्द्र केसीको क्षेत्र : दाङ ३
एमाले – ३८,६५८
कांग्रेस – ३०,९८९
माओवादी – १२,८८०
एकीकृत समाजवादी – १,९३८
राप्रपा – १,४४४
जसपा – १८२

६) दलबहादुर सुनारको क्षेत्र : बाँके ३
कांग्रेस – २५,६८९
एमाले – २२,१५९
माओवादी – १४,८१८
राप्रपा – ४,६४१
जसपा – ४,१९९
एकीकृत समाजवादी – २३४८
लोसपा – १०३७


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर