उज्वेकिस्तानमा सुरु भयो ‘एससीओ’ सम्मेलन, मोदी, पुटिन र सी जिङ पिनले जनाए सहभागिता – Nepal Press

उज्वेकिस्तानमा सुरु भयो ‘एससीओ’ सम्मेलन, मोदी, पुटिन र सी जिङ पिनले जनाए सहभागिता

काठमाडौं । उज्वेकिस्तानको समरकन्दमा ‘शांघाई कोअप्रेशन अर्गनाइजेशन (एससीओ ) ‘ २२ औं सम्मेलन सुरु भएको छ । सम्मेलनमा एससीओको सुधार तथा विस्तार, क्षेत्रीय सुरक्षा, सहकार्य, सम्पर्क सञ्जाल सुदृढीकरण र व्यापार प्रवर्धनका विषयमा छलफल तथा सम्झौता हुने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

कोरोना महामारी पछिको यो पहिलो भौतिक सम्मेलन हो । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीनका राष्ट्रपति सी जिङ पिन , रुसका राष्ट्रपति भ्लादिमीर पुटिन सहित अन्य सदस्य राष्ट्रहरुको कार्यकारी प्रमुख , पर्यवेक्षक राष्ट्रहरू, क्षेत्रीय आतंकवाद विरोधी संरचना ‘र्याट्स’ का कार्यकारी निर्देशक, तुर्कमेनिस्तानका राष्ट्रपति तथा अन्य आमन्त्रित अतिथिहरूको सहभागिता रहेको छ ।

के हो ‘एससीओ’ ?

शांघाई कोअप्रेशन अर्गनाइजेशन ‘एससीओ’ सर्वप्रथम रुस र चीनको नेतृत्वमा स्थापना भएको ८ सदसिय राष्ट्रहरुको राजनीतिक, आर्थिक र सुरक्षा संगठन हो । यसको स्थापना सन् १९९६ मा भएको थियो भने सुरुवाती चरणमा यसलाई ‘शांघाई फाइभ’ नाम दिइएको थियो ।

सन् २००१ देखि यसको नाम एससीओ राखिएको हो । भारत र पाकिस्तान यस संगठनका सबै भन्दा कान्छा सदस्य राष्ट्र हुन् । वर्तमान समयमा यो विश्वको कुल गार्हस्थ उत्पादनको झण्डै ३० प्रतिशत र विश्वको जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने सबैभन्दा ठूलो बहुपक्षीय संगठनको रुपमा रहेको छ । एससीओ सम्मेलनलाई मध्य एसियाली क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण सम्मेलन मध्ये एक मानिन्छ ।

एससीओमा हाल चीन, भारत, काजाकिस्तान, किर्गिस्तान, रुस, पाकिस्तान, ताजिकिस्तान र उज्वेकिस्तान गरी ८ सदस्य छन् भने एससीओको पूर्ण सदस्यतामा प्रवेश गर्न इच्छुक चार पर्यवेक्षक राष्ट्रहरूमा अफगानिस्तान, बेलारुस, इरान र मंगोलिया रहेका छन् । यस्तै एससीओका छवटा “संवाद साझेदारहरू” मा नेपाल सहित आर्मेनिया, अजरबैजान, कम्बोडिया, श्रीलंका र टर्की रहेका छन्। उज्वेकिस्तान एसीओ २०२२ को वर्तमान अध्यक्ष हो भने भारत यस पछीको अधक्ष्य हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *