साफ सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल, घरेलु मैदानमा इतिहास रच्ने अवसर – Nepal Press

साफ सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल, घरेलु मैदानमा इतिहास रच्ने अवसर

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा आज नेपाल र भारत भिड्दैछन् ।सन् २०१० देखि सुरु भएको महिला साफको यो छैठौं संस्करण हो ।

यसअघिका पाँच मध्ये चार संस्करणमा नेपाल फाइनलमा भारतसँगै पराजित हुँदै उपविजेतामै सीमित भएको थियो । भने एक संस्करण भारतको सिलिगुडीमा आयोजना भएको चौथो संस्करणको सेमिफाइनलमा पनि नेपाल भारतसँगै स्तब्ध भएको थियो ।

जतिबेला नेपालको प्रशिक्षण कुमार थापाले सम्हालेका थिए । संयोेगबस नेपालले यसपटक पनि सेमिफाइनलमा भारतसँगै प्रतिस्पर्धा गर्दैछ र नेपालको प्रशिक्षणको जिम्मेवारी पनि थापा माथिनै रहेको छ ।

त्यसबेला भारतको घरेलु मैदानमा सेमिफाइनल हारेर घर फर्किएको नेपाली टिम यसपटक आफ्नो घरेलु मैदानमा भारतलाई हराएर फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापा भन्छन्,‘यसपटक भारतलाई हामी हाम्रो मैदानमा हराएर फाइनल जित्छौं । साफको ट्रफी घरमै राख्छौं । हामी त्यो खराब इतिहासलाई दोहोरिन दिँदैनौं । नयाँ इतिहास बनाउँछौं । त्यसका लागि म र मेरा खेलाडी पक्कै पनि तयार छन् ।’

थापाले भने जस्तै घरेलु मैदान र दर्शकबीच सँधै उपाधि यात्रामा तगारो बनेको भारतलाई पन्छ्याउने नेपालसामु ठूलो अवसर छ ।
तर, टिमकी मुख्य खेलाडी साबित्रा भण्डारी अनुपस्थित हुनसक्ने सम्भावनाले भने नेपाललाई केहि हदसम्म गाह्रो हुन सक्नेछ । समूह चरणमा श्रीलंकासँगको खेलको एकदिन अघीदेखि डेंगु पुष्टि भएपछि सावित्राले श्रीलंकाविरुद्धको खेल गुमाएकी थिइन् । डेंगु संक्रमण भएका कारण उनले खेल्ने वा नखेल्ने अझै टुङ्गो लागेको छैन ।

जारी प्रतियोगितामा सात टीमलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह‘बी’ मा रहेको नेपालले लगातार दुई खेल जित्दै समूह विजेताको हैसियतले सेमिफाइनलमा स्थान बनाएको थियो । समूह‘बी’मा लगातार दुई खेलमा जित निकालेको भारत अन्तिम खेलमा बंगलादेशसँग ३–० ले पराजित हुँदै समूह ए को उपविजेता भएको थियो ।

भारत उपविजेता हुँदै सेमिफाइनलमा नेपालसँग्को भेट पक्का भएको थियो । समूह ए को विजेता टिम बंगलादेशले समूह बी को उपविजेता भुटानसँग खेल्ने तय भएको थियो । सबै संस्करणको विजेता भारत साफ इतिहासमा पहिलो पटक पराजित भयो । अनुभवि भारत सेमिफाइनलमा नेपालविरुद्ध पक्कैपनि बलियो रुपमा प्रस्तुत हुने अनुमान लगाउन सकिन्छ । यद्यपी, घरेलु मैदान र दर्शकको फाइदा भने नेपाललाई रहने छ ।

साफ च्याम्पियनसिपको पहिलो संस्करणको फाइनलमा नेपाल भारतसँग १–० गोलको नतिजामा पराजित भएको थियो । त्यसपछि दोस्रो संस्करणमा ३–१, तेस्रोमा ६–० ले हार्दा विराटनगरमा आयोजना भएको पाँचौं संस्करणमा नेलालले ३–१ले पराजित हुँदै उपाधि भारतलाई सुम्पिएको थियो ।

दोस्रो पटक घरेलु मैदानमा आयोजना भएको साफ उपाधि जित्न भारतलाई सेमिफाइनलबाट पाखा लगाउन नेपाललाई ठूलो दवाव छ । तर, पहिलो संस्करण देखि खेलिरहेका कतिपय खेलाडीका लागि यो साफ आफुलाई प्रमाणित गर्ने अन्तिम अवसर पनि हुनेछ ।

त्यसैले, भारतसँग सँधै हारेर आफु उपाधि जित्न वञ्चित भएको जिवनभरि सम्झिएर पछुताउने बाटो उनीहरुलाई नराख्नलाई पनि भारतसँगको खेल जित्नु नेपालका लागि ठूलो इतिहाँस रच्ने अवसर बन्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *