विवेकशील-साझाको ठूलो चोइटो रवीन्द्र मिश्रसँगै राप्रपामा जान तयार, सम्मानजनक एकता हुनुपर्ने सर्त – Nepal Press

विवेकशील-साझाको ठूलो चोइटो रवीन्द्र मिश्रसँगै राप्रपामा जान तयार, सम्मानजनक एकता हुनुपर्ने सर्त

मिश्रलाई ७ मध्ये ६ प्रदेश संयोजकको साथ

काठमाडौं । विवेकशील-साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्र सो पार्टीको ठूलो हिस्सा लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता गर्न तयार भएका छन् । यद्यपि सबै कुरा टुंगिइसकेको छैन ।

एकतामा जाँदा मिश्रले पहिलो वरियताको उपाध्यक्षमा सहमति जनाएको स्रोतले बताएको छ । यसअघि उनलाई सहअध्यक्ष बनाउने गरी छलफल अघि बढेको थियो । तर, उपाध्यक्ष बुद्धिमान तामाङलगायतका केही नेताको विरोधका कारण यसमा सहमति भएन । अध्यक्ष राजेन्द्र लिङ्देनले पनि पार्टीको विधानमै सहअध्यक्षको व्यवस्था नभएकाले आफूलाई अप्ठेरो परेको सुनाएपछि मिश्र लचक बनेका हुन् ।

बुद्धिमान भने मिश्रलाई पहिलो वरियताको उपाध्यक्ष दिनसमेत सकारात्मक छैनन् । एकतामा सबैभन्दा बाधक देखिएका बुद्धिमानकै नेतृत्वमा अध्यक्ष लिङ्देनले वार्ता समिति बनाएका थिए । समितिमा भुवन पाठक र निरञ्जन थापा सदस्य छन् । उनीहरुसहित राप्रपाको ठूलो हिस्सा मिश्र समूहसँग एकतालाई लिएर उत्साहित छ । तर, बुद्धिमानसहितका एकाध नेताहरुले अड्को थापेर अध्यक्ष लिङ्देनलाई सकस परेका छन् ।

राप्रपासँग एकता हुने-नहुने एकदुई दिनभित्रै टुंगो लाग्ने स्रोतले बतायो । मिश्र सुरुदेखि अत्यन्तै लचक भए पनि यदि सम्मानजक एकताको परिस्थिति नभएको खण्डमा अन्तिम समयमा भाँडिन सक्ने विवेकशील-साझा स्रोतको दाबी छ । तर, सम्मानजनक एकता भएको खण्डमा भने सो पार्टीको आधाउधी हिस्सा राप्रपामा जान तयार देखिन्छ ।

स्रोतका अनुसार पार्टीका ७ मध्ये ६ जना प्रदेश संयोजक राप्रपासँगको एकतालाई लिएर सकारात्मक छन् । आफूहरुलाई यथोचित स्थान दिइएको खण्डमा मिश्रसँगै राप्रपामा जाने उनीहरुको मनस्थिति छ । सुदूरपश्चिमका दिनेश भण्डारी, कर्णालीका कर्णबहादुर शाही (इन्चार्ज), लुम्बिनीका अनुपमान सैंजू, गण्डकीका सुशीला केसी अधिकारी, बाग्मतीका उज्ज्वलकृष्ण श्रेष्ठ र मधेसका धनपति महतोलाई मिश्रले आफूसँगै लैजाने सम्भावना देखिन्छ । प्रदेश १ का इन्चार्ज प्रकाशचन्द्र परियार भने राप्रपामा जान तयार छैनन् ।

यसअघि मिश्रसँग निकट मानिएकी नेतृ समीक्षा बास्कोटा पनि राप्रपासँगको एकताको पक्षमै थिइन् । तर, पार्टीको अध्यक्ष नै चुनिएपछि उनले मन बदलेकी छन् । अब यही पार्टीलाई बलियो बनाएर लैजाने उनले बताइरहेकी छन् ।

पार्टीका प्रवक्ता शरदराज पाठकले आफ्नो साथ नछाड्ने आशा मिश्रले लिएका छन् । सम्मानजनक एकता भए पाठक पनि राप्रपामा जान सकारात्मक देखिन्छन् । तर, अपमानजनक तरिकाले भने राप्रपामा विलय हुन नहुने उनको अडान छ ।

हालको केन्द्रीय समितिमा रहेका केही नेताहरु गोप्य रुपमा राप्रपासँगको वार्तामा समेत सहभागी रहेको बुझिएको छ । तर, उनीहरुले आफ्नो पोजिसन क्लियर गरिसकेका छैनन् । पार्टी एकताको टुंगो लागिसकेपछि मात्रै उनीहरु खुल्ने बताइएको छ ।

अध्यक्षबाट हटे पनि विवेकशील-साझाको १२६ सदस्यीय केन्द्रीय समितिमा मिश्रको मजबुत पकड छ । राजसंस्था र हिन्दू-बौद्ध राष्ट्रको पक्षमा मिश्र उभिएपश्चात केही नेताहरु उनीसँग असन्तुष्ट बने । तर, केन्द्रीय समितिको ठूलो हिस्सा उनको एजेन्डामा सहमत रहेको स्रोतले बतायो । पार्टीभित्र आन्तरिक रुपमा मिश्रको पछिल्लो राजनीतिक लाइन तथा राप्रपासँगको एकतालाई लिएर कुनै छलफल भएको छैन । यद्यपि, आधाभन्दा बढीले आफूलाई साथ दिने आशा मिश्रले लिएका छन् ।

समानुपातिक उम्मेदवारको सूची आगामी ३ असोजमा बुझाइसक्नुपर्ने भएकाले राप्रपा र विवेकशील–साझाको एकता एक–दुई दिनभित्रै टुंग्याइसक्नुपर्ने बाध्यता छ । राप्रपाका उपाध्यक्ष तामाङले मिश्रसँग छलफल सकारात्मक रुपमा अघि बढिरहेको भए पनि सबै टुंगो नलागिसकेको बताए ।

नेपाल प्रेससँग उनले भने, ‘बाहिर मिडियामा आएजस्तै सबै सहमति भइसकेको भन्ने होइन । हामी छलफलकै क्रममा छन् । केही कुराहरु टुंगो लाग्न बाँकी नै छन् ।’

राप्रपा अध्यक्ष बनेपछि लिङ्देनले मिश्रसँग छलफल अगाडि बढाएका थिए । मिश्रले सुरुमा दुई पार्टी मिलेर नयाँ शक्ति सिर्जना गर्नुपर्ने अवधारणा प्रस्तुत गरेका थिए । पार्टीको नयाँ नामकरण गर्नुपर्ने उनको प्रारम्भिक अडान थियो । तर, पछिल्लो समय अरु सबै अडानहरु उनले छोडिसकेका छन् र पहिलो वरियताको उपाध्यक्ष लिएर राप्रपामा मर्ज हुन तयार देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर