महेन्द्रको ‘टेकओभर’ पछि कांग्रेसकाे विराेधबीच भएको एलिजाबेथको त्यो भ्रमण – Nepal Press

महेन्द्रको ‘टेकओभर’ पछि कांग्रेसकाे विराेधबीच भएको एलिजाबेथको त्यो भ्रमण

इटहरी । सात दशक लामो सत्ता सम्हालेर गत बिहीबार (सेप्टेम्बर ८/भदौ २३) मा मृत्यु भएकी बेलायती महारानी एलिजाबेथले दुई पटक नेपाल भ्रमण गरेकी थिइन् । पहिलो भ्रमण सन् १९६१ फेब्रुअरी २६ देखि २८ (२०१७ फागुन १५ देखि १७) सम्म भएको थियो ।

२०१७ पुस १ गते (१९६० डिसेम्बर १५) को महेन्द्रको ‘टेकओभर’ पछि भएको भ्रमण भएकाले अस्वाभाविक थियो । आफूलाई प्रजातन्त्रको जननी मान्ने बेलायतले प्रजातान्त्रिक पद्धतिबाट निर्माण भएको नेपालको प्रथम जननिर्वाचित सरकार र सिस्टमलाई भंग गरेर प्रत्यक्ष सत्ता हातमा लिएका राजा महेन्द्रको कदमको गरमागर्मीकै समयमा महारानी एलिजाबेथ नेपाल आएकी थिइन् ।

महेन्द्रको टेकओभर भएको साढे दुई महिनामा भएको उक्त भ्रमण रोक्न नेपाली कांग्रेसले धेरै जोडबल गरेको थियो । नेपालको प्रजातन्त्र हत्याइएकाले बेलायत जस्तो प्रजातन्त्रको जननी देशको महारानीले भ्रमण गरेर महेन्द्रलाई साथ दिनुहुन्न भन्ने कांग्रेसको लबिङ थियो ।

नेपाली कांग्रेसको मात्रै हैन बेलायतकै प्रतिपक्षी दल लेबर पार्टीले पनि भ्रमण रोक्न माग गरेको नेपालको परराष्ट्र मामिलामा विद्यावारिधि सोध गरेका भारतीय विज्ञ एसडी मुनीको पुस्तक ‘फरेन पलिसी अफ नेपाल’मा उल्लेख गरिएको छ । मुनीको पुस्तकका अनुसार लेबर पार्टीले महेन्द्रको टेकओभरको विरोध पनि गरेको थियो । उक्त विरोधको समाचार ‘द स्टेट्सम्यान’को सन् १९६१ को जनवरी ७ र १३ तथा मार्च १६ मा प्रकाशित भएका थिए ।

महारानीको भ्रमण अगाडि नेपाली कांग्रेसको लबिङकै कारण भ्रमणको माहोल बुझ्न बेलायतका एक मन्त्रीले एक महिना अगाडि नै नेपालको भ्रमण गरेर अवस्थाको जानकारी लिएका थिए । बेलायतका युद्धमन्त्री जोन प्रोफ्युमो नेपाल आएर अवस्था बुझेका थिए ।

प्रोफ्युमोदेखि महारानीको भ्रमणसम्ममा नेपाली कांग्रेसले पर्चा तथा पम्प्लेटहरु छरेर भ्रमण रद्ध गर्न आग्रह गरेको थियो । तर, ती तमाम विरोधका बावजुद महारानीको भ्रमण भएको थियो ।

महेन्द्र र महारानीको सत्तारोहण लगभगसँगै भएको हो । सन् १९५२ को फेब्रुअरी ६ (२००८ माघ २३ गते) बाट महारानी भएकी थिइन् एलिजाबेथ । त्यो समयमा उनको उमेरमात्रै २५ वर्ष थियो । महेन्द्रको सत्तारोहण त्यसको तीन वर्षपछि सन् १९५५ मार्चमा भएको थियो । महेन्द्र त्यति वेला ३५ वर्षका थिए ।

भ्रमणमा नेपालका राष्ट्र प्रमुख महेन्द्र र बेलायती राष्ट्र प्रमुख महारानी एलिजाबेथ दुवैले एक-अर्काको देशको परम्परादेखि चलिआएको मित्रताको कुरा गरेका थिए । महेन्द्रले रात्रीभोज भाषणमा आफूले ल्याएको प्रजातन्त्र (पञ्चायत)ले तत्काल नतिजा राम्रो नदेखाए पनि दीर्घकालमा राम्रो हुने तर्क गरेको मुनीको पुस्तकमा उल्लेख छ । जवाफमा महारानी एलिजबेथले भनेकी थिइन्, ‘तपाईंको सरोकारमा तपाईं एक्लै हुनुहुन्न ।’

भ्रमणको दौरानमा महारानीले हालको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघ र गैंडा सुटिङमा सहभागी भएकी थिइन् । बाघ र गैंडाको शिकार गर्ने परम्परा बेलायतीहरुलाई राणा शासकले चलाएको एक चलन थियो । चन्द्रशमशेरको प्रधानमन्त्रीत्व कालमा बेलायतका राजा जर्ज पाँचौंको सन् १९११ को नेपाल भ्रमणमा समेत शिकार गरिएको थियो । महेन्द्रले ३२७ हात्तीको जोहो गरेर महारानीलाई शिकारको व्यवस्था गरेका थिए ।

चितवनपछि महारानीले भिक्टोरिया क्रस विजेता गोर्खा योद्धा लालबहादुर थापासमेत सहभागी भएको पहिलो दोस्रो विश्व युद्धका २०० वरिष्ठ योद्धासँग भेटघाट गरेको ‘ब्रिटिस पाथे’ नामक च्यानलले बनाएको भ्रमणको एक छोटो डकुमेन्ट्रीमा उल्लेख छ । डकुमेन्ट्रीमा महारानीले नेपाल भ्रमण सक्नु अगाडिको प्रसंगमा नेपाललाई ‘महेन्द्रको रोमान्टिक अधिराज्य’ भनेर व्याख्या गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर