‘उपप्रधानपञ्च हुँदा सोचेको थिएँ ६० पुगेपछि राजनीति छाड्छु, ८० टेक्दामात्र भूमरीबाट निस्केँ’ – Nepal Press
नेपाल टक

‘उपप्रधानपञ्च हुँदा सोचेको थिएँ ६० पुगेपछि राजनीति छाड्छु, ८० टेक्दामात्र भूमरीबाट निस्केँ’

‘सूर्यबहादुर र मैले गलत साइतमा पार्टी खोल्यौं क्यार, राप्रपा कहिल्यै सग्लो रहेन’

काठमाडाैं । जीवित पूर्वप्रधानमन्त्रीहरुमध्ये उमेरले सबैभन्दा ज्येष्ठ हुन् लोकेन्द्रबहादुर चन्द । ८३ औं बसन्त पार गरिसकेका यी वयोवृद्ध नेता अहिले सक्रिय राजनीतिमा छैनन् ।

पञ्चायतकालदेखि प्रजातन्त्रसम्म पटक-पटक प्रधानमन्त्री भएका उनी अन्य पूर्वपञ्चहरुभन्दा उदार मानिन्थे । २०४६ सालमा जनआन्दोलन उत्कर्षमा रहेका बेला राजा वीरेन्द्रले पञ्चायत जोगाउने अन्तिम प्रयासका रुपमा चन्दलाई प्रधानमन्त्री दिएका थिए । तर, उनले पनि पञ्चायत जोगाउन सकेनन् ।

प्रजातन्त्र पुनःस्थापनापछि पनि चन्दको राजनीति समाप्त भएन । उनी र सूर्यबहादुर थापाले प्रजातन्त्रमा पनि दुई-दुईपटक प्रधानमन्त्री बन्ने अवसर पाए । राजा ज्ञानेन्द्रले शेरबहादुर देउवा नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर चन्दलाई प्रधानमन्त्री बनाएका थिए ।

लामो राजनीतिक जीवनपछि अहिले किनारामा बसेर देशको राजनीतिलाई नियालिरहेका छन् चन्द । आउँदो चुनावमा उम्मेदवारी नदिने उनले घोषणा गरिसकेका छन् । यसअघि राप्रपाको आन्तरिक प्रतिस्पर्धाबाट पनि उनले आफूलाई अलग राखे ।

घरमै आराम गरिरहेका उनै लाेकेन्द्रबहादुर चन्दसँग नेपाल प्रेसले समसामयिक राजनीति र उनको राजनीतिक जीवनबारे गरेको कुराकानीः

– अहिले स्वास्थ्य अवस्था कस्तो छ ?

मलाई अरु समस्या छैन । गर्दन र ढाडको समस्या छ । हिँडडुल गर्दा अलि असर पर्छ । शान्त वृद्धावस्था र रिटायर्ड लाइफ मज्जाले इन्जोय गरिरहेको छु ।

– पछिल्लो समय राजनीतिक परिदृश्यबाट परै बसेजस्तो देखिनुहुन्छ । पर बसेर हेर्दा र भित्रै पसेर हेर्दाको अनुभूति कस्तो छ ?

पर बसेर हेरिराख्ने मान्छे पनि चाहियो । तर, यो मुलुकमा के चलिरहेको हो, मैले केही बुझिरहेकोे छैन । साम्यवाद भन्छन्, डेमोक्रेसी भन्छन् । कम्युनिष्ट भन्छन्, डेमोक्रेटस् भन्छन् । के हो भन्ने नै ठम्याउन सकिरहेको छैन ।

– पूर्वप्रधानमन्त्री जस्तो मान्छेले ठम्याउनै नसक्ने भन्ने त हुँदैन होला ?

अहिलेका पार्टीहरु के हुन् ? कम्युनिष्ट हुन् कि सोसियलिस्ट हुन् कि डेमोक्रेट हुन् ? कामले त केही पनि छैनन् । उनीहरु सिद्धान्तविहीन भए । डेमोक्रेसीको अत्तोपत्तो छैन । चुनावदेखि लिएर हरेक ठाउँमा डेमोक्रेसीको नर्म्स हुन्छन्, त्यसको पालना भएको मैले देखेको छैन ।

– उसो भए राजतन्त्र गएपछि जनताले दुःख पाएका हुन् र ?

यहाँ जनताको मतलबको कुरै छैन । डेमोक्रेसीका लागि निर्वाचन हुने भए त्यो निष्पक्ष हुनुपर्‍यो । धाँधली हुनुभएन । अहिले निर्वाचन लड्न करोडौं रुपैयाँ चाहिन्छ । यहाँ कि राजनीति छाड्नुपर्‍यो कि दश करोड खर्च गर्न तयार हुनुपर्‍यो । त्यसका लागि बीस करोड जम्मा गर्नुपर्‍यो । अहिले एउटा त्यस्तो सर्कलै बनेको छ ।

पहिला त निर्वाचन आयोग स्वतन्त्र हुनुपर्‍यो । अन्य मुलुकमा प्रहरी, सुरक्षाकर्मी निर्वाचनको वेला सबै निर्वाचन आयोगको मताहतमा जान्छन् । सरकारले शान्ति सुरक्षामात्रै हेर्छ । तर, यहाँ त्यस्तो छैन । धमाधम नियुक्तिहरु भइरहेका छन् । हुन त निर्वाचन घोषणा भएपछि आचारसंहिता लाग्छ ।

– चुनावकै प्रसंग आउँदा अहिले पाँचजना पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा हुनुहुन्छ । मैदान बाहिर तपाईं एक्लै पर्नुभयो है ?

यही रमाइलो छ । उनीहरुलाई यही बसेर हेरिरहन्छु । बाहिरबाट हेर्दा पनि रमाइलै हुन्छ । म राजनीतिमा उपप्रधानपञ्चबाट सुरु गरेर यहाँ आइपुगेको हो । मैले त्यसवेला सोचेको थिएँ, ६० वर्ष पुगेपछि राजनीति छाड्छु र साहित्यमा लाग्छु । तर, राजनीतिमा पसिसकेपछि फर्कन गाह्रो हुने रहेछ । ६० मा लागियो, छाड्न सकिएन । ७० मा लागियो, सकिएन । ८० पुग्न लागेपछि मात्रै अब ठीकै छ भनेर छाडेँ ।

– तपाईंले चाहनुभयो भने त निर्वाचित हुने तवरले नै तालमेल गरेर मैदानमा होमिन सक्ने विकल्प प्रशस्तै छन् नि ?

जितिन्छ भन्ने पनि नहोला । तर, म तटस्थ रहें यसपटक । साथीहरु आएर भन्नुभएको थियो, ‘नाम नोमिनेसन गरेर अगाडि जाऔं । हामी काम गर्छौं । चुनाव जितिन्छ ।’ मैले भनें, ‘बल्ल यो भूमरीबाट निस्किएको छु, तपाईंहरुको अनुरोधका लागि धन्यवाद । माफ गर्नुहोला, म चुनावी मैदानमा जान चाहन्नँ ।’

– उपप्रधानपञ्च हुँदा र अहिलेको चुनावी अवस्थामा धेरै परिवर्तन भए । त्यो वेला र आजको अवस्थामा के-के फरक देख्नुहुन्छ ?

के फरक छ भने पहिला अप्रत्यक्ष निर्वाचन हुन्थ्यो । महाकाली अञ्चलमा चार जिल्ला थिए । चार जिल्लाका पंचायतहरु अप्रत्यक्ष निर्वाचनले चुनिन्थे । आउन त उनीहरु जनताबाटै चुनिएर आउँथे । अहिले प्रत्यक्ष निर्वाचन प्रणाली भएको छ । यसले जनतालाई अधिकार दिएको छ । यो सकरात्मक हो ।

तर, जुन वेलासम्म सबै पार्टीका नेताहरुले यो सिस्टम रहिरहोस्, हामी चुनाव जितौं हारौं, पदमा बसौं नबसौं त्यसले फरक पार्दैन भनेर सोच्न सुरु गर्छन्, र मात्रै प्रजातन्त्र बलियो हुन्छ ।

कमल थापा पनि आफूलाई करेक्सन गर्ने ठाउँमा पुगेका छन् । यस विषयमा मेरो कुरा पनि भएको छ । थापा म्याच्युर्ड नेता हुन् । तर, के परेर हो, आक्रोश व्यक्त गरिहाले ।

– अहिले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा र तपाईंले जन्माएको पार्टीको नेतृत्व तेस्रो पुस्तामा आइपुगेको छ । तेस्रो पुस्ताले राप्रपा हाँकिरहँदा पार्टीको भविष्य कस्तो देख्नुहुन्छ ?

अहिले जनता खुशी छैनन् । मैले यो रिसले भनेको होइन । तर, जनतालाई सम्हाल्ने, उनीहरुको आक्रोश, दुःख दर्दको इलाज गर्ने कोही देखापरेको छैन । यसमा के छ भने हाम्रो पार्टीका नेताहरु सरकारमा जाँदैनन्, मन्त्री बन्दैनन् भन्ने भएपछि जनता ब्याक हुन सक्छन् । राम्रो छ, सबैतिर युवाहरु आएका छन् । तर, झलनाथ खनालजीले भनेजस्तो युवा भएरमात्रै हुँदैन, विवेक पनि चाहिन्छ । म त रिटायर्ड भएर बसेको छु । तर, युवा भन्नासाथ पार्टी चल्दैन, विवेक चाहिन्छ ।

– थापा र तपाईंले स्थापना गरेको पार्टीको विरासत बचाउन सक्लान् त यी युवाले ?

खै, हाम्रो त पहिलादेखि नै के के भयो के के । गलत साइतमा पार्टी खोल्यौं क्यार । हामी बीचमा टुटफुट हुँदै आयौं । अहिले पनि पार्टी टुटफुटमा गएको छ । तर, राम्रो होस् भन्ने मेरो कामना छ । तैपनि अहिल्यै सबै राम्रो भयो भन्न मिल्दैन । निर्वाचनको रिजल्ट हेरौं, त्यसपछि गतिविधि हेरौं । अनि केही भन्न सकिएला ।

– आसन्न निर्वाचनलाई लिएर आफ्नै खाले हिसाब त राख्नुभएको होला नि ?

डिटेलमा मलाई थाहा छैन । पछिल्लो समय कहाँ कस्तो गतिविधि भइरहेको छ, बुझ्ने कोसिस पनि गरेको छैन । कोही सोध्न आयो भने सल्लाह पनि दिउँला । तर, मलाई कसैले सोध्न आएको छैन । अहिले जुनसुकै पार्टीबारे पनि भनिहाल्ने अवस्था बनिसकेको छैन ।

– तपाईंहरुले स्थापना गरेको पार्टी एक हुँदै महाधिवेशन पनि भयो । राजेन्द्र लिंदेन अध्यक्ष निर्वाचित भए । त्यसपछि कमल थापा समूह अर्कै पार्टी खोलेर हिँडेको छ । यसलाई कसरी नियालिरहनुभएको छ ?

हाम्रो पार्टी कहिल्यै इन्ट्याक्ट भएर बस्न सकेन । बीचबीचमा कमल थापा र राजेन्द्र लिंदेनको जस्तो भइरह्यो । त्यो नभएको भए पार्टी मजबुत हुन्थ्यो । संसदमा हाम्रो संख्या राम्रै हुन्थ्यो । तर, अहिले विभाजनले कमजोर बनाउँदै लगेको छ ।

राजसंस्थाको जो संस्कार छ, त्यसको उपयोग गर्नुपर्ने हो । तर, सक्रिय राजतन्त्रको पक्षमा त म पनि छैन ।

– राप्रपामा तेस्रो पुस्ता आइपुग्दा कमल थापाले त राजतन्त्रको एजेन्डाले फालेर हिँडिसकेका छन् नि ?

राप्रपाको मूल एजेन्डा राजतन्त्र पनि हो । राजतन्त्र कुन तवरकोे हुने, सक्रिय हुने कि संवैधानिक हुने ! अस्ति काभ्रेमा एउटा कार्यक्रम भएको थियो, त्यहाँ सिम्बोलिक राजतन्त्रको कुरा उठेको थियो । राप्रपाको सुरुदेखिकै एजेन्डा हो राजतन्त्र । मैले सुनेको त कमल थापा पनि आफूलाई करेक्सन गर्ने ठाउँमा पुगेका छन् । यस विषयमा मेरो कुरा पनि भएको छ । थापा म्याच्युर्ड नेता हुन् । तर, के परेर हो, आक्रोश व्यक्त गरिहाले ।

– राप्रपाको मूल एजेन्डा राजतन्त्र भए पनि राजतन्त्र फालेर मुलुक १५-१८ वर्ष अगाडि बढिसकेको छ । तपाईंहरुलाई कस्तो राजतन्त्र चाहिएको हो ?

प्रत्यक्ष त हुँदैन । संवैधानिक या अर्को कस्तो हुन्छ, त्यस्तो राजतन्त्र चाहिएको छ । यो १५-१८ वर्षमा के आनन्द छ त ? आरामले सुतेर खान पाएको छ र ? सबै ठीक छ र ? त्यसैले एउटा अभिभावक चाहिएको छ । अस्ति अदालतमा पनि के भएको हो भनेर सोधिदिने मान्छे पनि भएन । यहाँ त खेलाँचीजस्तो गरिरहेका छन् । नागरिकता विधेयकमै पनि राष्ट्रपति सम्मानित पद हो । उहाँले फिर्ता गरेपछि हाउसमा छलफल गरेर, एक दुई शब्द फेरेर पठाइदिए केही जाँदैन थियो । त्यसमा पनि राजनीति गरेर बबण्डर गरेका छन् ।

– यस्ता संकटको निरुपणको उपाय राजतन्त्रै त होइन होला नि ?

यस्तो वेला अधिकार नभए पनि ‘के गर्दैछौ’ भनेर भनिदिने मान्छे चाहियो ।

– राजतन्त्र जनताले खोजिरहे जस्तो लाग्छ ?

एउटा अभिभावक हाम्रो देशमा चाहिएको छ । कहिलेकाहीं जथाभावी भएजस्तो हामी देख्छौं । कहिलेकाहीं ग्वाला, गोठाला जस्तो हेरिदिने मान्छे चाहिन्छ, अहिले कोही छैनन् । जिम्मेवारी लिने मान्छे छैनन् । संकटको वेला आफ्नो व्यक्तित्वको प्रभावले ‘यो ठीक भएन, कसरी हुन्छ ?’ भनेर बोलाउने संस्था जरुरी छ ।

त्यसरी मैले आफैंले भने पनि हुन्थ्यो वा ठूला नेताले भने पनि हुन्थ्यो । तर, हामी पदमा छँदा भीड हुन्छ । जिल्ला-जिल्लामा जाँदा ए मेरो मान्छे त यति धेरै, मेरो ठूलो प्रभाव रहेछ भन्ने लाग्छ । तर, पदमा नहुँदा कसैले फर्केर हेर्दैन । आफूले नमस्कार गर्दासमेत फर्काउँदैन ।

राजाको हेर्नुस् न, अहिले पद छैन । तर, दशैंमा हिमाल, पहाड र तराईका मान्छेहरु टीका थाप्न आउँछन् । त्यो श्रद्धा अझै छ । त्यो सम्मानलाई हामीले मुलुकका लागि राजालाई उपयोग गर्नुपर्ने हो । राजसंस्थाको जो संस्कार छ, त्यसको उपयोग गर्नुपर्ने हो । तर, सक्रिय राजतन्त्रको पक्षमा त म पनि छैन ।

– २०६२/०६३ सालको १९ दिने जनआन्दोलनले पूर्वराजा ज्ञानेन्द्र शाह दरबार छाड्न बाध्य भए । यसपछि मुलुकमा नयाँ संविधान जारी भयो, देश संघीयतामा गएको छ । अझै पनि राजतन्त्र फर्किन्छ जस्तो लाग्छ ?

त्यो त मैले भन्ने कुरा भएन । अब शेरबहादुरजी ज्योतिषकहाँ गएर सबै हेर्नुहुन्छ, उहाँलाई गएर सोध्न पर्‍यो (लामो हाँसो) ।

बेलायतमा पनि राजतन्त्र बाहिर परेको थियो । राजतन्त्रलाई मासेका थिए । तर, पछि आए । कम्बोडियामा फेर्‍यो । हुँदै हुँदैन भन्न त गाह्रो छ ।

– फर्काउन सक्ने ठाउँ देख्नुहुन्छ ?

त्यो जरुरी छ । फर्काउन सकिन्छ कि सकिँदैन, त्यो मलाई भन्न गाह्रो छ । एक त त्यति जनसम्पर्क पनि छैन । म त्यति हिसाब गर्न पनि सक्दैन । तर, एउटा अभिभावक चाहिएको छ । त्यो त सबै पार्टीहरुले पनि विचार गरेर आफैं अभिभावक स्थापित गर्नुपर्ने हो ।

– २०६२/०६३ को जनआन्दोलनको एउटा जडको रुपमा पूर्वराजा ज्ञानेन्द्रको ‘कू’लाई पनि लिइन्छ । तपाईंले भनेजस्तो फेरि अभिभावक बनाउँदा अर्को ‘कू’ नहोला भनेर भन्न नसकिएला नि ?

त्यो ‘कू’को पृष्ठभूमिबारे कसैलाई थाहा छैन । बालुवाटारमा शीर्ष नेताहरुको बैठक बस्यो । हाम्रोतर्फबाट सूर्यबहादुर थापाजी जानुभएको थियो । त्यहाँ के निर्णय भयो भने राजाले निर्वाचनको मिति सारिदिनुपर्ने भयो । तोकेको समयमा निर्वाचन नहुने भएकाले मिति सारिदिनुपर्ने निर्णय गरे । म गाडीमा कतै गइरहेको थिएँ । सूर्यबहादुरजीलाई फोन गरें । मैले भनें, ‘यो मिलेन, सरकारले निर्वाचन आयोगलाई चिठी लेख्ने, निर्वाचन आयोगले अनि राजालाई चिठी लेख्ने । सरकारले सीधै राजालाई चिठी लेख्ने होइन । त्यो गरौंं ।’

तर, त्यहाँ के अड्चन थियो भने राजाले निर्वाचन सारिदिएको भए संविधानविपरीत हुन्थ्यो । यस्तो प्रबन्ध संविधानमा थिएन । उहाँले संविधानविपरीत नै काम गर्ने हो भने त ‘कू’ नै गर्ने हो भनेर गर्नुभएको हो । उहाँले ग्राउण्ड त दिएकै हो नि !

त्यस वेला म ६-७ महिना प्रधानमन्त्री भएँ । त्यो वेला माअ‍ोवादीसँग संवाद गर्ने भन्ने थियो । म हुँदासम्म एक तहसम्म राम्रै संवाद चलिरहेको थियो । तर, मलाई लाग्यो, यो संवादको निचोड राम्रो जाँदैन । अनि मैले नेपालगञ्जबाट राजीनामा दिन्छु भनें । पछि बल्ल जेठमा राजाले राजीनामा स्वीकृत गरिदिए । तर, फेरि अर्को सरकार बन्दा माओवादी जंगलमै गए । पछि हुँदाहुँदा भारतमा गएर सबै कुरा मिल्यो ।

– २०६१ साल माघ १९ मा राजाले ‘कू’ नगरेको भए र प्रत्यक्ष शासन आफ्नो हातमा नलिएको भए राजतन्त्र जोगिने सम्भावना थियो भन्छन् नि ?

त्यो थियो । त्यो वेला राम्रो किसिमले ह्याण्डिल गरेर माओवादी समस्या मिलाइदिएको भए ठूलै क्रेडिट जान्थ्यो दरबारलाई । तर, विभिन्न कारणले त्यो सम्भव हुन सकेन । पछि राजतन्त्र नै ढल्यो ।

– तर, अहिले राजतन्त्र पुनःस्थापना हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

अभिभावकको रुपमा राजतन्त्र स्थापित हुनुपर्छ भन्ने छ । बेलायतमा पनि राजतन्त्र बाहिर परेको थियो । राजतन्त्रलाई मासेका थिए । तर, पछि आए । कम्बोडियामा फेर्‍यो । हुँदै हुँदैन भन्न त गाह्रो छ ।

– पूर्वराजा ज्ञानेन्द्रको कटु आलोचकको रुपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कसरी हेर्नुहुन्छ ?

म उहाँलाई बडो गहिरो गरी हेर्छु । मलाई बडो रमाइलो लाग्छ । एक न एक कुरा निकालिरहनुहुन्छ । उहाँ तपाईंलाई घर भयो, जग्गा भयो, त्यसमै स्वर्गको तारा पनि दिउँला भन्नुहुन्छ । एक एक कुरा निकालिरहनुहुन्छ । तर, एक कुरा उहाँले भनेको सही हो कि मुलुक माओवादीकै एजेन्डामा चलिरहेको छ । माओवादीले आफ्नो स्टान्ड छाडे पनि माओवादीकै एजेन्डामा चलिरहेको छ मुलुक, त्यो साँचो हो ।

त्यस वेला सबै दलले राजतन्त्रलाई हामी मान्छौं भनेका थिए । तर, प्रत्यक्ष होइन, संवैधानिक राजतन्त्र मान्ने एजेन्डामा प्रायः सबै सहमत हुनुहुन्थ्यो ।

म उहाँको दुःखको क्षणमा गएको छु । कुराकानी पनि हुन्छ । मसँग भएको कुराकानीमा मैले के पाएको थिएँ भने उहाँ एकदमै नयाँ नयाँ रुप लिनुहुन्छ । तर, तर्क दिएर कन्भिन्स गर्‍यो भने उहाँ कन्भिन्स हुनुहुन्छ । यो गणतन्त्र पनि उहाँहरुकै एजेन्डा हो । अरु कम्युनिष्ट पार्टी र कांग्रेसको एजेन्डा होइन । धन्न जातीय राज्य बनाउनुभएन । जातीय राज्य, संघीयता उहाँहरुकै हो ।

– पञ्चायततिर फर्कंदा सूर्यबहादुर थापासँग सत्तामा ओहोरदोहोर गरिरहनुभयो । कहिले नमिल्ने दुई किनारजस्तो बनिरहनुभयो । विचार, सिद्धान्तका लागि त्यो झगडा भनौं भने तपाईंहरु एकै व्यवस्थाका पक्षपोषक हुनुहुन्थ्यो । त्यो सत्ताकै लडाइँ थियो त ?

सत्ताकै लडाइँ भन्दा पनि हुन्छ । व्यक्तिगत लडाइँ नै हुनसक्छ । हामी विशेष बुँदामा असहमत हुन्थ्यौं । एक-अर्काको आलोचना पनि गर्थ्यौं । तर, कहिल्यै आपसमा दुर्भावना, कुभलो चिताएनौं । कुनै कार्यक्रममा जाँदा हामी पूर्वप्रधानमन्त्रीहरुको एकै लहरमा सीट हुन्थ्यो । हामी सँगै बस्थ्यौं । त्यहाँ मज्जाले गफ हुन्थ्यो । तर, हाम्रा समर्थक हैरान हुन्थे । यिनीहरु मिल्ने भए, हामीलाई अप्ठयारो हुने भयो सोच्थे । तर, त्यस्तो हुँदैन थियो ।

– एउटाको सरकार ढालेर आफू सरकारमा जाने राजनीतिक संघर्ष नै हुन्थ्यो, हो ?

पञ्चायतदेखि नै त्यो भइरहेको थियो । उहाँ हटेपछि म आएँ । खैर, यता २०५४ सालमा एमाले र मेरो सरकार हटाएपछि उहाँ आउनुभयो । उहाँको सरकार हटाउने प्रयास हामीले पनि गर्‍यौं । तर, दुर्भावना छैन । तर, एउटा खेल थियो त्यो ।

– खेलकै कुरा गर्दा तपाईं १२ औं खेलाडी भन्ने उपन्यास लेखेको मान्छे । १२ औं खेलाडीको रुपमा सूर्यबहादुरसँग सत्ता बाहिर-भित्र लुकामारी लामो समय चलिरह्यो । त्योबाट के पाएँ र के गुमाएँ भन्ने लाग्छ ?

त्यसले फाइदा भएन । मलाई के लाग्छ भने हामी दुईबीच जस्तो प्रतिस्पर्धा र सम्बन्ध सायद अन्त पाउनुहुन्न । विरोध पनि गरिरहेको छ, सँगै बसेर गफ पनि गरिरहेका छौं । हामी कहिलेकाहीं भेट हुँदा भन्थ्यौं, मैले न सूर्यबहादुर जीजस्तो विरोधी पाउँछु न त उहाँले मजस्तो नै पाउनुहुन्छ ।

– त्यस वेला तपाईंले भन्नुभएको एउटा भनाइ अहिले पनि उत्तिकै सान्दर्भिक छ । तपाईंले भन्नुभएको थियो, राजनीतिमा यो मूसा प्रवृत्तिले अन्ततः यो व्यवस्थालाई नै सिध्याउँछ । वर्तमान राजनीतिमा मूसा प्रवृत्ति कत्तिको देख्नुहुन्छ ?

मैले त्यस वेला सबैलाई भनेको थिएँ । मेरा मन्त्री झण्डा भएको गाडीमा आए, अनि त्यहाँ मेरो विपक्षमा भोट हाले । चारपाँच जना मन्त्रीले त्यसो गरे । जहाज डुब्न लाग्यो भने मूसाहरु फाल हान्छन् । तर, त्यो समुद्रमै परेर मर्छन् ।

ज्ञानेन्द्रलाई एक त राजा हुन्छु भन्ने थाहा थिएन । उहाँले सत्तातिर ध्यान दिएको पनि थिएन । बुद्धिमा त राजा वीरेन्द्रभन्दा पनि चाँडै क्याच गर्ने खालका थिए ।

अहिलेको राजनीतिमा ठ्याक्कै भनिहाल्न मिल्दैन । तर, अहिले सबैको लक्ष्य सत्तामात्रै छ । त्यसका लागि मूसा बिरालो जे हुनुपर्‍यो, भइदिन्छन् ।

– मूसा बिरालो हुने चरित्रले अहिलेको व्यवस्था संकटमा पार्ने सम्भावना कत्तिको छ ?

छ, बीपीले पनि भन्नुभएको थियो, संविधान त केही होइन, त्यसलाई कसले कसरी चलाउँछ, त्यसमा भर पर्छ । अब संविधानमा लेखिदिएरमात्रै हुँदैन । त्यसलाई कसरी चलाइएको छ । जनताको हितमा छ कि छैन भन्ने कुरामा भरपर्छ । तर अहिले चुनावमा जे भए पनि जनताको चित्त बुझेको छैन ।

– राजाले ‘कू’ गरेपछि तपाईं अन्तिमपटक प्रधानमन्त्री हुनुभयो । त्यसपछि सात दल र माओवादीले दोस्रो जनआन्दोलन गरेर राजतन्त्र नै फाले । अहिले पञ्चायत र राजतन्त्रलाई बलियो बनाउन लगाएको जीवनको त्यो ऊर्जाशील समय पछुतो लाग्दैन ?

त्यो वेला काम गर्न सकिन्थ्यो । अहिलेको व्यवस्था त हामीले मानिरहेका छौं । त्यो समयमा निरंकुश भन्नेहरु भन्दै थिए, आम जनतालाई पिरेको थिएन । वीरेन्द्र जनताको हित र पीरमर्का बुझ्न ज्यादै सेन्सिटिभ राजा थिए । वीरेन्द्र नै राजा भइराखेको हो भने अहिलेका सबै नेता फेल हुन्छन् ।

– राजतन्त्र फालिनुका पछाडि मूलभूत समस्या के थिए ?

त्यो वेला मैले सरकार छाडेपछि दलको कुनै मान्छेलाई प्रधानमन्त्री बनाउनु भनेर राजालाई सुझाव पनि दिएको थिएँ । तर, राजासँग अरु मान्छे पनि सल्लाहकार थिए । सूर्यबहादुरजी प्रधानमन्त्री हुनुभयो । तर, उहाँको समयमा माओवादीसँग कुरा मिलेन । पछि शेरबहादुरजी हुनुभयो । उहाँले पनि माओवादीलाई मिलाउन सक्नुभएन ।

तर, त्यस वेला राजाले दलको मान्छेलाई प्रधानमन्त्री बनाएको भए सबै कुरा मिल्ने थियो । सबै दलले राजतन्त्रलाई हामी मान्छौं भनेका थिए । तर, प्रत्यक्ष होइन, संवैधानिक राजतन्त्र मान्ने एजेन्डामा प्रायः सबै सहमत हुनुहुन्थ्यो ।

– वीरेन्द्रको वंशनाश हुँदैन थियो भने यति चाँडै राजतन्त्र सकिइहाल्ने अवस्थामा पुग्दैन थियो पनि भन्छन् नि मान्छेहरु ?

हो, लामो सोचाइले काम गर्ने मान्छे हो उहाँ । सबै नेतासँग राम्रो सम्बन्ध थियो । ज्ञानेन्द्रलाई एक त राजा हुन्छु भन्ने थाहा थिएन । उहाँले सत्तातिर ध्यान दिएको पनि थिएन । बुद्धिमा त राजा वीरेन्द्रभन्दा पनि चाँडै क्याच गर्ने खालका थिए । भनिन्छ नि रामचन्द्र भगवानलाई सुनको मृग हुँदैन भन्ने थाहा थिएन र ? उनी शिकार खेल्न गए । सीताको हरण हुनुपर्ने र रावणको वध हुनुपर्ने लेखिएको थियो । समयको प्रभाव हो त्यो ।

म चाहन्छु कि कमल थापा पनि राप्रपामै आऊन् । राजेन्द्र कमलकै मान्छे हो । वरिष्ठ नेता भएर आए हुने भन्ने लाग्छ ।

ज्ञानेन्द्र राजा भएपछि हामीले उहाँलाई सल्लाह दिन नसकेको हो । नत्र महेन्द्र ट्रस्टको जिम्मा दरबारबाट पाएपछि बडो राम्रोसँग चलाइदिनुभएको थियो उहाँले । त्यतिखेर सल्लाहकार हामीहरु नजिक थियौं । तर, हामीले पनि तत्कालीन राजनीतिक परिवेशको उचित मूल्यांकन गर्न सकेनौं कि ! त्यो पनि हुनसक्छ । तर, फेरि जो पावरमा भयो, उसले मुख्य मान्छेभन्दा पनि आफ्नो स्वार्थ हेर्ने भइहाल्छ ।

– दरबारका अर्का सल्लाहकार सूर्यबहादुर थापालाई चाहिँ तपाईं कसरी सम्झनुहुन्छ ?

उहाँ चतुर खेलाडी हो । उहाँ हेर्दा खेरी पनि बडो राम्रो, ह्याण्डसम देखिने मान्छे । प्रभावित गर्न सक्ने मान्छे हुनुहुन्थ्यो ।

– थापासँग तपाईंको राजनीतिक टकराव चाहिँ कहिल्यै अन्त्य भएन । २०७२ साल वरिपरि सम्झौताअनुसार अध्यक्ष नदिएपछि अदालत जानुभयो । थापासँगको राजनीतिक टकराव चाहिँ उहाँको मृत्युपछि मात्रै समाप्त भयो है ?

उहाँको मृत्यु अगाडि नै कुरा भइसकेको थियो । उहाँ उपचारका लागि बाहिर जाँदा मलाई म्यासेज आइसकेको थियो, मिलेर जाऔं भनेर । त्यसपछि सुनिल थापा पनि मलाई भेट्न आए । सूर्यबहादुरजीले मान्छे नै पठाउनुभएको थियो दिल्लीबाट । त्यो मान्छे उता फर्कंदा उहाँ बितिसक्नुभएको थियो । अदालत गएको त धोका भएर हो नि !

– आसन्न निर्वाचनमा जुन एजेन्डा बोकेर राप्रपा र राजेन्द्र लिंदेन चुनावमा होमिँदैछन् । जनताले भोट हाल्छन् त ?

एजेन्डा लिएर बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुरजीलाई भेट्न जाँदाखेरी उहाँलाई महत्वका साथ नलिई बाहिर पठाइदिनुभयो । पछि उहाँहरु जंगल जानुभयो । पछि समय आयो, अब के भन्ने र ! त्यस वेला कुरा सुनिदिएको भए सायद जनयुद्ध नै हुँदैन थियो । त्यसैले भन्न सकिन्न ।

– राप्रपाको नेतृत्वमा आएको तेस्रो पुस्ताले थापा र चन्दको विरासत बचाउन सक्लान् त ?

राम्रो गरेको छ भन्न पनि मिलेन । नराम्रो भन्न पनि मिलेन । हेर्दै जाऔं । अहिले कमेन्ट गर्नुभएन । म चाहन्छु कि कमल थापा पनि राप्रपामै आऊन् । राजेन्द्र कमलकै मान्छे हो । वरिष्ठ नेता भएर आए हुने भन्ने लाग्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर