ढुवानी व्यवसायीको दबाबमा सचिव र डिजीको सरुवा, मुख्यसचिव बाधक बनेपछि मन्त्रीले चोरबाटो रोजे – Nepal Press

ढुवानी व्यवसायीको दबाबमा सचिव र डिजीको सरुवा, मुख्यसचिव बाधक बनेपछि मन्त्रीले चोरबाटो रोजे

काठमाडौं । अति आवश्यक वस्तुभित्र पर्ने पेट्रोलिय पदार्थको ढुवानी व्यवसायीले आफूखुशी रोकेका छन् । हवाई इन्धन ढुवानी भदौ १९ गतेदेखि बन्द रहेको छ । यता उद्योग मन्त्रीले नै मन्त्रिपरिषदमा लगेर २० प्रतिशत भाडा बढाउने प्रस्ताव मुख्य सचिवले रोकेका छन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा पेट्रोलियम पदार्थको ढुवानी भाडा वृद्धि गर्ने गरि लगिएको प्रस्ताव मुख्य सचिव शंकर दास बैरागीको हातमा पुगेको थियो । तर मुख्यसचिवले निगम सञ्चालक समितिले नै भाडा वृद्धिको निर्णय गर्न सक्ने भन्दै फाइल फिर्ता गरिदिएका छन् ।

उद्योग मन्त्रालयका एक कर्मचारीले भने, ‘ अहिले मुख्य सचिवले नै फाइल फिर्ता गर्दिनु भएको छ । नयाँ आपूर्ति सचिवलाई भाडा वृद्धि गर्नपर्छ भनेर नै मन्त्रालयमा ल्याइएको हो । अब उहाँले मिलाएर गर्नु होला । तर निगम घाटामा गएको बेला सजिलै ढुवानी भाडा वृद्धि हुने अवस्था भने छैन् ।’

उद्योग मन्त्री दिलेन्द्र बडू जसरी भएपनि ढुवानी भाडा वृद्धि गर्ने पक्षमा छन् । तर निगम सञ्चालक समितिका सबै सदस्यहरु भाडा वृद्धि गर्ने पक्षमा छैनन् । यसभन्दा अघि पनि निगमको सञ्चालक समितिबाट भाडा वृद्धि गर्न खोज्दा सदस्यहरुले सहमति नदिएपछि रोकिएको थियो ।

निगमको सञ्चालक समितिले सुरुमा ढुवानी भाडा वृद्धि गर्ने प्रस्ताव गर्दा अर्थ मन्त्रालयका सहसचिव तथा निगका सञ्चालक समितिका सदस्य डा. अर्जुन कुमार खड्का सहमत भएनन् । उनी सहमत नभएपछि तत्कालीन वाणिज्य सचिव डा. गणेश प्रसाद पाण्डेय पनि उनकै पक्षमा उभिएका कारण प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

पाण्डे सरुवा भएपछि तोयम रायलाई ल्याइएको छ । उद्योगमन्त्रीले नै ढुवानी भाडा वृद्धि गर्नका लागि उनलाई मन्त्रालयमा वाणिज्य सचिवको रुपमा ल्याएका हुन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तथा नेपाल आयल निगमका सञ्चालक लिला प्रसाद शर्मालाई पनि उद्योग मन्त्रालय सरुवा गरिएको छ । उनी पनि ढुवानी भाडा वृद्धि गर्न असहमत भएपछि उनलाई सरुवा गरिएको उद्योग मन्त्रालय स्रोतले बतायो ।

नेपाल पेट्रालियम ढुवानी व्यवसायी महासंघले बुधवारदेखि अमलेखगञ्ज डिपोबाट अन्य डिपोमा पेट्रोलियम पदार्थ ढुवानी नगर्ने बताएको छ । असोज १ गतेबाट राज्यभरका सबै डिपोमा लोड तथा अनलोड नगर्ने भन्दै महासंघले विज्ञप्ति नै जारी गरिसकेको छ ।

महासंघले विज्ञप्ति निकालेलगत्तै नेपाल आयल निगमले अति आवश्य बस्तु भएकाले पेट्रोलियम पदार्थको ढुवानी नरोक्न भनेको थियो । ढुवानी भाडा बढाउन नमानेको कारण व्यवसायीको दबाबमा आपूर्ति सचिबको सरुवा भएको र नयाँ सचिव आएसँगै भाडा बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।

नेपाल आयल निगमा प्रवक्ता विनितमणी उपाध्ययाले भाडा वृद्धि गर्ने विषयमा छलफल भइरहेको बताए । निगमले पनि पेट्रोलियम पदार्थ ढुवानी नरोक्नु भनेर पत्र पठाइसकेको उनले बताए । ढुवानी भाडा गर्दा आयल निगम थप घाटामा जानेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *