सन्दर्भ बाल दिवस : बलात्कारमा संलग्न बालकको डरलाग्दो तथ्यांक – Nepal Press

सन्दर्भ बाल दिवस : बलात्कारमा संलग्न बालकको डरलाग्दो तथ्यांक

४ वर्षमा एक हजार २५५ जना बालक पीडक, ६ हजार ३८ जना बालिका पीडित

काठमाडौं । १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएपछि प्रहरी यतिवेला राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न तयारी अवस्थामा बसेको छ । १८ वर्षभन्दा कम उमेरको किशोरीसँग सहमतिमै यौन सम्बन्ध भए पनि त्यो अपराध मानिने कानुनी व्यवस्था रहेकाले सन्दीपले सजिलै उन्मुिक्त पाउने देखिँदैन ।

कानून बालबालिकाविरुद्ध हुने अपराधमा कठोर छ । तर, अपराधमा संलग्न हुने बालबालिकाको संख्या सामान्य छैन।

बुधबार बाल दिवस मनाइरहँदा सयौं बालबालिका अपराधमा संलग्न भएको आरोपमा बाल सुधार गृहमा छन् । त्यत्तिकै संख्यामा १८ वर्ष पूरा भएर बाँकी सजाय कारागारमा बसेर कटाउन तयार भएर बसेका छन् ।

प्रहरीको केन्द्रीय तथ्यांकअनुसार पछिल्ला वर्षहरुमा जघन्य मानिने बलात्कारमा संलग्न बालकको तथ्यांक डरलाग्दो छ । पछिल्लो ४ वर्षमा मात्र देशभर एक हजार २५५ जना बालकविरुद्ध बलात्कारको आरोप लागेको छ ।

गत वर्षमात्रै २७१ जना बालकविरुद्ध बलात्कारको मुद्दा चलेको थियो । आर्थिक वर्ष २०७५/०७६ मा ३०५, २०७६/०७७ मा ३२८ र २०७७/०७८ मा ३५१ जना बालक बलात्कारमा संलग्न रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बलात्कारपछि सबैभन्दा बढी लागूऔषध र चोरीमा बालबालिका संलग्न हुने गरेको तथ्यांकले देखाउँछ। प्रहरी प्रधान कार्यालयका अनुसार गत वर्ष चोरीमा २२१ र लागूऔषधमा १२७ जनाविरुद्ध जाहेरी दर्ता भएको थियो । यसैगरी १७७ जनाविरुद्ध अभद्र व्यवहारको आरोपमा मुद्दा दर्ता भएको थियो । यसैगरी ३८ जनाविरुद्ध हत्याको आरोप लागेको थियो ।

प्रहरीले आर्थिक वर्ष २०७८/७९ मा देशभर एक हजार १६१ जना बालबालिका अपराधमा संलग्न भएको जनाएको छ।

प्रदेश १ मा १८९, मधेसमा २१९, बागमतीमा ११४, गण्डकीमा १०१, लुम्बिनीमा ८५, कर्णालीमा १२७, सुदूर पश्चिममा १७८ र काठमाडौं उपत्यकामा १९३ जना बालबालिका अपराधमा संलग्न भएको प्रहरीले जनाएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा देशभर १ हजार २४९ जना बालबालिका अपराधमा संलग्न रहेको पाइएको छ। त्यस वर्ष चोरीमा १९०, लागूऔषधमा १३६ र अभद्र व्यवहारमा १०८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।

अपराधमा संलग्न भएका बालबालिका दोषी ठहर भए १८ वर्ष नपुग्दासम्म बाल सुधार गृहमा र त्यसपछि बाँकी कैद भुक्तानीका लागि कारागारमा राखिने कानूनी व्यवस्था छ । बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार १० वर्षसम्मको उमेरका बालबालिकाविरुद्ध कुनै पनि किसिमको मुद्दा नचलाइने र सजाय नहुने व्यवस्था छ ।

१० वर्षभन्दा माथि र १४ वर्षभन्दा कम उमेरको बालबालिकाले जरिवाना हुने कसुरजन्य कार्य गरेको भए सम्झाइबुझाइ गरेर छाडिने र कैद सजाय हुने कसुर गरेको अवस्थामा कसुरको प्रकृति हेरी ६ महिनासम्म कैद वा कैद नगरी बढीमा एक वर्षसम्म बाल सुधार गृहमा राखिने व्यवस्था छ ।

यस्तै १४ वर्ष वा सोभन्दा माथि र १६ वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलाई कानुनबमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुने कानूनी व्यवस्था छ । १६ वर्ष वा सोभन्दा माथि र १८ वर्ष वा सोभन्दा कम उमेरको बालबालिकाले कुनै कसुरजन्य कार्य गरेको भए निजलाई कानूनबमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको दुईतिहाइ सजाय हुने कानूनी व्यवस्था गरिएको छ ।

तर, बालबालिका संलग्न अपराधको मुद्दाको सुनुवाइ गर्ने बाल अदालतले बालबालिकाको उमेर, लिङ्ग, कसुरजन्य कार्यको प्रकृति र त्यस्तो कार्य गर्दाको परिस्थितिसमेतलाई विचार गरेर सर्त तोकी वा नतोकी दोषीको सजाय स्थगन वा सजायस्वरुप कैदमा नराखी अन्य विकल्प दिन सक्ने पनि बालबालिकासम्बन्धी ऐनमा व्यवस्था छ ।

चार वर्षमा ६ हजारभन्दा बढी बालिका बलात्कृत

प्रहरीको केन्द्रीय तथ्यांकअनुसार पछिल्लो चार वर्षमा देशभर ६ हजार ३८ जना बालिका बलात्कृत भएका छन् । प्रहरीमा दर्ता भएको जाहेरीका आधारमा गत आर्थिक वर्षमात्रै देशभर एक हजार ५६० जना बालिका बलात्कृत भएका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा एक हजार ४२०, २०७६/७७ मा एक हजार ३९३ र २०७७/७८ मा एक हजार ६६५ जना बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर