गठबन्धनभित्र भागबण्डाकाे किचलाे : आ-आफ्ना दाबी नछाेड्दा अड्कियाे तालमेलकाे हलाे – Nepal Press

गठबन्धनभित्र भागबण्डाकाे किचलाे : आ-आफ्ना दाबी नछाेड्दा अड्कियाे तालमेलकाे हलाे

काठमाडौं । आगामी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सीट बाँडफाँट टुंग्याउन सत्तागठबन्धनले बनाएको कार्यदलले एक महिनापछि अपुरो प्रतिवेदन बुझाएपछि अहिले यो विषय शीर्ष नेतामा पुगेको छ । ‘निर्णायक’ भनिएका शीर्ष नेतृत्वको पटक-पटकका बैठकले पनि सोमबार बिहानसम्म निचोड निकाल्न सकेको छैन ।

मतदानको मिति आउन अब ६८ दिन बाँकी छ । अहिलेसम्म सीट भागबण्डा नटुंगिदा गठबन्धन घटकका नेताहरूको मन भाँडिने क्रम पनि बढ्दो छ । केहीले त बाहिरिने समेत चेतावनी दिइरहेका छन् ।

सोमबार बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक करिब ७ घण्टाको छलफलले पनि केही निर्णय गर्न सकेन । हिजै टुंग्याउने तयारीका सहित खाना-खाजासहित जुटेका नेता निष्कर्षमा नपुगी उठे ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले निर्णयको नजिक पुगेको तर सहमति भइनसकेको जानकारी दिए ।

एकैपटक प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० सीटमा भागबण्डा टुंग्याउने गठबन्धनको तयारी छ । यसमा ७४ को निर्वाचन र हालै सम्पन्न स्थानीय चुनावको परिणामलाई आधार बनाइएको छ । ७४ मा नलडेकाले माधव नेपालको पार्टी नेकपा एसका हकमा विशेष प्राथमिकताका साथ हेर्ने निर्णय भइसकेको छ । कार्यदलका एक सदस्यका अनुसार प्रतिनिधिसभाका १६५ मध्ये ९० सीटमा लगभग सहमति भइसकेको छ । बाँकी ७५ सीटमा दुई-तीनवटा दलको दाबी परेकाले अहिले त्यहाँ निर्णय गर्न सकस छ ।

‘कतिपय ठाउँमा एउटामात्र पार्टीको निश्चित देखिएका ठाउँमा अरुलाई छाड्नुपर्ने अवस्था साथै सम्भावित बागी विद्रोहीले गठबन्धनलाई हुने घाटाले पनि केही क्षेत्र बाँडफाँट हुन नसकेको हो’, एक नेताले बताए ।

कार्यदलमा कांग्रेसबाट सदस्य रहेका कार्की भन्छन्, ‘एउटै सीटमा २/३ पक्षले दाबी गरेको अवस्था छ । त्यसलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेका छन् ।’

दलहरूले आ-आफ्नो अडान राखेको र त्यसलाई विश्लेषण गर्ने काम भइरहेको कार्कीको भनाइ थियो । उनले थपे, ‘सबैले लचिलो हुनुको विकल्प छैन । दलहरूको अडान छ सुक्ष्म ढंगले विश्लेषण गरिरहेका छौं ।’

कसको कति दाबी ?

एक सय सीटको औपचारिक अडानमा रहेको कांग्रेस ८६ को वरपर मान्न तयार भएको छ । तर, कांग्रेसकै एउटा शक्ति केन्द्रीय समिति बैठकको बर्खिलाप हुने गरी सीट बाँडफाँट हुन नहुने अडानमा छ ।

आइतबार गृहनगर विराटनगरका नेता शेखर कोइरालाले बहुमत नल्याउने भए गठबन्धन गरेर चुनाव लड्नुको औचित्य नरहने प्रष्ट्याएका छन् ।

‘८०/८५ सीटमा उम्मेदवार दिएर कांग्रेसले बहुमत ल्याउँदैन । उल्टै पार्टीमा विद्रोह हुन्छ हामी २०७४ सालमा कांग्रेस एक्लैले जितेका क्षेत्र छाड्न सक्दैनौं । यो कुरा मैले प्रचण्डलाई पनि भनिसकेको छु’, कोइरालाले भनेका थिए ।

त्यस्तै माओवादीले बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ६० सीटमा दाबी गरेको छ ।

केही दिनअघि माओवादीलाई (नेसपा) बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ४४ सीट, नेकपा एसलाई १८ सीट, जसपालाई १२ र राजमोलाई १ सीट गरी मस्यौदा तयार पारिएको थियो ।

माधव नेपालले कांग्रेसलाई ७० सीटमा लड्न देउवालाई आग्रेह गरेका थिए । त्यस्तै प्रचण्डले कांग्रेस ८२, अरु दल ८३ सीट बाँडौं भनेर प्रस्ताव गरेको बताइएको छ ।

मागेजति नपाए गठबन्धन छाड्ने ‘घुर्की’

सत्ताघटक जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशका ३२ मध्ये कम्तीमा आधा सीट नपाए गठबन्धन छाड्ने चेतावनी दिइसकेको छ । अध्यक्ष उपेन्द्र यादवले रामसहाय यादव र रकम चेम्जोङमार्फत गठबन्धनका शीर्ष नेतृत्वलाई समग्र तराईमा २० सीट र पहाड तथा सहरमा समेत गरी २५ सीटको दाबी गराएका छन् ।

मधेसका केही सार्वजनिक कार्यक्रममा उनले सम्मानजनक सीट बाँडफाँट नभए एक्लै चुनाव लड्ने भन्दै त्यसको लागि तयारी रहन निर्देशन दिइसकेका छन् ।

पछिल्लो समय जसपाका संघीय, प्रदेश सांसद, स्थानीय तहका पूर्वजनप्रतिनिधि एमालेमा फर्किने लहर बढिरहँदा थोरै सीटमा लड्नुपर्दा आकांक्षीलाई सेटल गर्न नसक्दा यो क्रम झन् बढ्ने खतरा उपेन्द्रले देखेका छन् ।

जसपाले मधेस प्रदेशमा कम्तीमा १५ सीटको साथमा प्रदेश १ को मोरङ, सुनसरी र धनकुटामा एक-एक सीट दाबी गरेको छ । वागमतीको काठमाडौंमा एक सीट, लुम्बिनीको पश्चिमनवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा एक-एक सीट उसको दाबी छ ।

यता नेकपा एसका माधवकुमार नेपालले ४० सीटको दाबी गरिरहेका माधवकुमार नेपालले ‘अपमान’ गरेर सीट भाग नलाउन सार्वजनिकरूपमै चेतावनी दिइरहेका छन् । उनले चित्त नबुझाए एक्लै चुनाव लड्न तयार रहेको बताउँदै आएका छन् ।

२३ सीटलाई बटमलाइन बनाइरहेकोमा गठबन्धनमा भने बढीमा १६ देखि १८ सीट नेकपा एसलाई दिन सकिने भनेर छलफल भइरहेको स्रोतले जनाएको छ ।

‘विगतमा एमालेले जितेका ठाउँलाई देखाएर माधवजीहरूको दाबी छ । स्थानीय चुनावको रिजल्ट हेर्दा दाबी गरिएजति दिने अवस्था छैन । तर, विद्रोही शक्ति भएकाले कम नआँक्न भनिरहनुहुन्छ’, एक नेता भन्छन् ।

कांग्रेसलाई एमालेको ‘रणनीतिक’ प्रस्ताव

यसबीचमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सिंगल-सिंगल चुनाव लडौं भन्ने प्रस्ताव कांग्रेसलाई राखिसकेको छ । केपी ओलीले शेरबहादुर देउवासमक्ष सीधा यो प्रस्ताव गरिसकेका छन् । त्यस्तै दुवै पार्टीका दोस्रो ‘लेयर’ का नेता निरन्तर छलफलमा छन् । प्रचण्ड र माधवलाई नबोक्ने आश्वासनसहित त्यसका लागि ‘जेन्टलमेन्ट एग्रिमेन्ट’ गर्नसमेत एमाले तयार भएको छ । तर, देउवा माधवलाई साथ नदिनेमा ढुक्क भएपनि एमालेले माओवादीसँग तालमेल गर्नेमा शशंकित छन् । पछिल्लो समय शेखर कोइराला, मिनेन्द्र रिजालको ओलीसँगको भेटले कांग्रेसमा तरंग नै आएको छ ।

गठबन्धन कार्यदलको बैठकमा कांग्रेसका बागी विद्रोहीलाई एमालेले बोकिदिने र त्यसबाट हुने जोखिमबारे समेत चर्चा भएको छ ।

पर्ख र हेरमा लोसपा ?

लोसपा भने गठबन्धन र एमाले दुवैसँग सघन छलफलमा छ । वरिष्ठ नेता राजेन्द्र महतोले केही दिनअघि नेपाल प्रेससँग अन्तर्वार्तामा एमाले र प्रधानमन्त्री दुवैले तालमेलका लागि आग्रह गरेपनि गठबन्धनमा खासै प्रगति नदेखिएको खुलाएका थिए ।

‘पाँचदलीय गठबन्धनमा जाने अवस्था अहिलेसम्म देखिएको छैन । मलाई लाग्छ, पाँच दलीय गठबन्धनमा लोसपा जाँदैन । एमालेसँग पनि अनौपचारिक रुपमा कुरा भइरहेको छ । एमालेसँग चुनावी तालमेल हुने सम्भावना म देख्छु’, महतोको भनाइ छ ।

लोसपालाई गठबन्धनमा ल्याउन माओवादी, जसपा सहमत छैनन् । देउवा पोजिटिभ देखिएपनि कांग्रेसबाटै सीट काट्नुपर्छ भएपछि पछि हटेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर