शोक मनाउँदै भीभीआईपीको रात्रिभोज, राष्ट्रियसभाका अध्यक्ष नजाने – Nepal Press

शोक मनाउँदै भीभीआईपीको रात्रिभोज, राष्ट्रियसभाका अध्यक्ष नजाने

काठमाडौं । बेलायती महारानी एलिजावेथको निधनमा सरकारले शोक मनाइरहेका बेला चिनियाँ उच्चस्तरीय पाहुनाको सम्मानमा गर्न लागिएको रात्रिभोजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नजाने भएका छन् ।

‘एकातिर शोक घोषणा गर्ने त्यहीबेला विदेशी उच्चस्तरीय सम्मान शोभनीय भएन । त्यसैले मैले यस्तो कार्यक्रममा नजाने निर्णय गरेको छु । यो गम्भीर कूटनीतिक भुल पनि हो’, अध्यक्ष तिमिल्सिनाले नेपाल प्रेससँग भने ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चिनियाँ समकक्षी (राष्ट्रिय जनकंग्रेसका अध्यक्ष) ली झान्सु आज काठमाडौं आउँदैछन् । उनको सम्मानमा आज साँझ सोल्टी होटलमा सापकोटाले रात्रिभोज आयोजना गरेका छन् । त्यहाँ भूपू प्रधानमन्त्री, मन्त्री, राष्ट्रियसभाका अध्यक्ष, भूपू सभामुखलगायत शीर्ष पाहुनाहरू सहभागी हुनेछन् ।

गठबन्धन सरकार बनेयता लगातार चीनविरोधी तथा चीनलाई अपमानित गर्ने निर्णय हुँदै आएकोमा पछिल्लोपटकको पूर्वनिर्धारित भ्रमणकै बीच शोक मनाउने निर्णयप्रति परराष्ट्र विज्ञहरूले आलोचना गरिरहेका छन् ।

‘यसमा सरकारको किन सामान्य ख्याल गर्न नसकेको हो ? यो त सरासर चीनविरोधी नीतिको निरन्तरताका रुपमा चिनियाँ नेता आउने दिन शोक मनाउने निर्णय गरेको देखियो । नत्र चिनियाँ नेता आउने दिनको ख्याल गरेर २४, २५ र २६ पनि गर्न सकिन्थ्यो’, परराष्ट्र मामलाका एक जानकार भन्छन् ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले बेलायतकी महारानी एलिजाबेथको निधनमा भदौ २५-२७ गतेसम्म तीनदिन शोक मनाउने निर्णय गरेको थियो ।

चीनमा राष्ट्रपति सी जिनपिङपछिको तेस्रो वरीयताका उच्चपदस्थ व्यक्ति हुन् ली झान्सु । उनी तीनदिन नेपाल रहनेछन् ।

शोक र देशभर आधा झण्डा झुकाइरहेका बेला दुई देशको झण्डा फहराएर विदेशी पाहुनालाई स्वागत गर्न मिल्छ ? भन्ने प्रश्नका बीच राजकीय रात्रिभोजप्रति शोक मनाउनु आकस्मिक घटना भएकाले पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न नपर्ने भन्दै सरकारी पक्षले बचाउ गरेको छ ।

राष्ट्रपति सीपछिको नेपालमा हुन लागेको चीनको उच्चस्तरीय भ्रमणका बेला सरकारले सोही दिनसम्म लम्ब्याउने गरी मनाएको शोक दिवसलाई संयोगमात्र मान्न नसकिने भन्दै सभामुख पनि चिन्तित रहेको उनीनिकट स्रोतको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर