दीपा, अमिषा र समीक्षा : कस्तो भयो डेब्यूको परीक्षा ? – Nepal Press
साफ च्याम्पियनसिप

दीपा, अमिषा र समीक्षा : कस्तो भयो डेब्यूको परीक्षा ?

काठमाडौं । हरेक खेलाडीले खेल जीवनको सुरुवातमा देख्ने सबैभन्दा ठूलो सपना हुन्छ, राष्ट्रिय टिमबाट डेब्यू गर्ने । तर, कमैले मात्र त्यो सपना साकार पार्ने मौका पाउँछन् ।

पहिलो पटक राष्ट्रिय टिमबाट खेल्दाको क्षण सबैका लागि अविस्मरणीय हुन्छ नै । अझ, उक्त खेलमा आफ्नो टिमले जित्यो भने त्यो भन्दा खुशीको कुरा के होला ? हाल जारी साफ च्याम्पियनसिपमा नेपालका तीन महिला फुटबलरले यही दोहोरो खुशीको अनुभूति गर्न पाए ।

पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका समीक्षा घिमिरे, अमिषा कार्की र दीपा शाहीले अन्तिम २३ भित्र पर्दै पहिलो खेलमै डेब्यू गरेका थिए । प्राय डेब्यूटेन्ट खेलाडीलाई कमै मात्र प्रशिक्षकहरूले सुरुवाती सेटमा खेलाउने गर्छन् । तर, नेपालकी फरवार्ड अमिषा कार्की र मिडफिल्डर दीपा शाहीले सुरुवाती ११ मै स्थान बनाएका थिए । समीक्षा भने खेलको ७४औँ मिनेटमा हिरा कुमारी भुजेललाई स्थानान्तरण गर्दै मैदान प्रवेश गरेकी थिइन् ।

डेब्यू खेलमा नै पुरै समय मैदानमा बिताएकी दीपा सेटमा खेल्दैछु भन्ने थाहा पाएदेखि केही नर्भस थिइन् ।

उनी भन्छिन्, ‘म उत्साहित त थिएँ, तर डरले मुटु काँपेको थियो । मैदानमा के हुन्छ भन्ने थियो । तर सबैको हौसलाले आफूलाई प्रमाणित गर्न सकेँ । जति मैदान बाहिर डर थियो, भित्र त्यो भएन ।’

करिब दुई वर्षअघि मात्रै फुटबल खेल्न थालेकी दीपाको यो सफलता अतुलनीय छ । हुम्ला खार्पुना गाउँपालिका ८ मा जन्मिएर आफ्नो एसएलसी सम्मको पढाइ सकेपश्चात् उनी उच्च शिक्षाका लागि राजधानी आएकी थिइन् । राजधानी आएपछि पनि उनी पहिला फुटसल मात्रै खेल्ने गर्थिन् । गाउँमा रमाइलोका लागि खेले पनि फुटबलबारे उनलाई पूर्ण ज्ञान नभएको दीपा बताउँछिन् ।

उनले नेपालबाट यू-१८, यू-१९ हुँदै राष्ट्रिय टिमसम्मको यात्रा तय गरेकी हुन् । उनी विभागीय क्लब आर्मीमा आबद्ध छिन् ।

दीपाले आफू राष्ट्रिय टिममा पर्छु भन्ने सोचेकी थिइन्, तर यत्ति चाँडै हैन । आज पनि उनलाई सपना जस्तै लाग्छ राष्ट्रिय टिमसम्मको यात्रा । तर उनी भन्छिन्, ‘आफ्नो कडा मिहेनत र संघर्षले सार्थकता पाएको क्षण हो यो, म असाध्यै खुसी छु ।’

साफ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा छ । समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेल्न बाँकी छ । दोस्रो खेलमा पनि आफू सेटमा पर्नेमा विश्वस्त छिन् दीपा । उनी चाहन्छिन्, अझ घरेलु मैदानमा आयोजना भएको डेब्यू प्रतियोगितामा स्वर्ण जितेर उपाधि घरमै राख्ने अवसर मिलोस् ।

‘म अरू खेलमा पनि सेटमा पर्छु भन्नेमा विश्वस्त छु । मलाई टिमको लागि स्वर्ण जित्ने ठूलो इच्छा छ । अझ यो डेब्यू प्रतियोगितामै हामी पहिलो उपाधि जितेर इतिहास रच्ने लक्ष्यमा छौँ,’ उनले भनिन् ।

०००

फरवार्ड अमिषा कार्कीलाई आफू खेल्दैछु भन्ने थाहा पाएपछिको अनुभूति शब्दमा बयान गर्न कठिन हुन्छ । उनले सानै हुँदादेखि देखेको सपना पुरा भएको क्षण थियो त्यो । राष्ट्रिय टिमको जर्सी लगाएर मैदान प्रवेश गर्दै गर्दा आफैँमाथि गर्व महसुस भएको उनी बताउँछिन् ।

अमिषाले राष्ट्रिय टिममा पर्न कडा मिहिनेत गरेकी थिइन् । त्यसैले यसै पटक टिममा पर्ने आशा थियो उनलाई ।

‘मैले कडा मिहेनत गरेकी हुँदा यो पटक पक्कै टिममा पर्छु भन्ने लागेको थियो । परेँ पनि । अनि सेटमा खेल्ने मौका पनि पाएँ । ‘हार्ड वर्क पेज अफ’ भनेको यही होला,’ उनले भनिन् ।

साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटनसँग खेलेको थियो । खेल सुरु हुनुअघि नै भारी वर्षा भएका कारण मैदान जलमग्न थियो । पानी परेकै कारण आफ्नो खेल राम्ररी देखाउन नपाएको अमिषाको गुनासो छ ।

‘पानी परेर राम्ररी खेल देखाउन नपाउँदा दुख लाग्यो । त्यस्तो अवस्थाका लागि हामी अलि अभ्यस्त भएनौँ । पहिलो खेल पनि भएकाले अलि गाह्रो महसुस भयो । पानी परेको भन्दा बाहेक सबै राम्रो भएको थियो,’ उनले भनिन् ।

त्यसो त डेब्यूमै गोल गर्ने उनको चाहना भने अधुरो रह्यो । अब अर्को खेलमा गोलको तिर्खा मेट्ने प्रयास गर्नेछिन् ।

‘डेब्यूमै गोल गर्न चाहन्थेँ, तर सकिन । अर्को खेलमा प्रयास गर्नेछु,’ उनले भनिन् ।

उदयपुरको त्रियुगा नगरपालिकामा जन्मिएकी अमिसाले आफ्नो शिक्षा र खेल करिअरको सुरुआत भने राजधानीमै गरेकी हुन् । उनी कक्षा ६ मा पढ्दादेखि फुटबल खेल्ने गर्थिन् । उनले उमेर समूह हुँदै सिनियर टिम सम्मको यात्रा तय गरेकी छन् । अमिषा एक वर्षदेखि त्रिभुवन आर्मी क्लबमा अनुबन्ध छिन् ।

०००

भुटानसँगको खेलमा निर्धारित समयको १६ मिनेट बाँकी रहँदा मैदान प्रवेश गरेकी समीक्षाको अनुभव केही फरक थियो । समीक्षाको एक वर्ष अगाडि एसिएल इन्जुरी भएर अप्रेसन गर्नु परेको थियो । फेरि पुनरागमन गर्न सक्छु कि सक्दिन भन्ने अन्योल थियो उनलाई । तर, छोटो समयमै राष्ट्रिय टिममा डेब्यू गर्न पाउँदा उनी भावुक बनिन् ।

समीक्षा भन्छिन्, ‘मेरो लागि खुसीको क्षण यत्ति चाँडै आउँछ भन्ने सोचेकै थिइनँ ।’

१४ वर्षको उमेरदेखि फुटबल खेल्न थालेकी समीक्षा रौतहटकी उत्पादन हुन् । राष्ट्रिय टिममा रौतहटका खेलाडीको बाहुल्यता रहेको छ ।

समीक्षाले उमेर समूहमा यू–१८, यू–१९ हुँदै राष्ट्रिय टिमसम्मको यात्रा तय गरिन् । उनी हाल विभागीय टिम नेपाल पुलिस क्लबमा आबद्ध छिन् ।

जारी साफ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोलको अन्तरले पराजित गरेको थियो । समूह ‘बी’ मा रहेको नेपालले दोस्रो खेल सोमबार श्रीलंकासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *