नेपालीमा कमजोर अहिलेका विद्यार्थीः आफ्नै भाषा किन गाह्रो ? – Nepal Press

नेपालीमा कमजोर अहिलेका विद्यार्थीः आफ्नै भाषा किन गाह्रो ?

अलिअघि एसईईको नतिजा प्रकाशित भयो । धेरै स्कुल, विद्यार्थी तथा अभिभावकले विभिन्न सामाजिक सञ्जालमार्फत खुशी साटेको पाइयो । यसैक्रममा मलाई एकजना विद्यार्थीले आफ्को हरेक विषयमा ‘ए+’ जीपीए आएको र नेपालीमा मात्र ‘बि’ आएको सुनाए । उनी निर्धक्कसँग आफूलाई नेपाली नै नआउने बताइरहेका थिए ।

उनको फ्युचर प्लान सुन्दा झन् अचम्म लाग्यो । उनले भने ‘अब म ए लेवल्स पढ्ने हो, अनि त नेपाली पढ्नै पर्दैन ।’

मैले प्रतिप्रश्न गरे ‘तिमीलाई नेपाली किन यस्तो गाह्रो भाको ? यो त आफ्नै भाषा होइन र ?’

उनले जवाफ दिए, ‘खोइ, जति पढे पनि आउँदैन । नेपालीमा त सँधै यस्तै हो रिजल्ट ।’

मैले प्रष्टसँग बुझँे उनको भावना तथा समस्या । उनको कुराले मलाई भाषा सम्वन्धी मान्छेको गलत बुझाई र अहिलेको पुस्ताको कमजोरीमाथि घोत्लिन कर लाग्यो । उनी एक प्रतिनिधि पात्र मात्र हुन् । धेरै विद्यार्थीहरु नेपाली विषयकै कारण जीपीए कम आएको गुनासो गर्छन् । आखिर आफ्नै मातृ भाषामा आधारित शिक्षा किन भविष्यका कर्णधारहरुका निम्ति बोझिलो बनिरहेको छ ? यसमा सबैको ध्यान जानु आवश्यक छ ।

अहिलेको पुस्तालाई आफ्नै मातृभाषा पढ्न, बुझ्न र लेख्नमा किन छ त भनेर मैले केही खोज तथा अनुसन्धान गरेँ । अरु विषयहरु पनि छन् विद्यार्थीहरुलाई गाह्रो लाग्ने, तर नेपाली विषय सबैको साझा समस्या देखियो । यो विषयमा अभिभावक शिक्षकको बीचमा छलफल भएको देखिन्छ । तर के गर्दा विद्यार्थीहरुले राम्रोसँग नेपाली बुझ्छन् र दक्षता हासिल गर्छन् भनेर व्यवहारिक र उपयुक्त समाधानको उपाय निकालिएको पाईंदैन । कहाँनेर समस्या छ र यसलाई कसरी व्यवहारिक तवरले निराकरण गर्न सकिन्छ भनेर निष्कर्षमा पुगेको पनि देखिदैन ।

यो समस्यालाई मात्र बहसको विषय बनाइन्छ र वहसमै सिमित राखिन्छ । जिम्मेवार निकायको यस्तो प्रवृत्तिले गर्दा विद्यार्थीहरु मारमा परेका छन् । विद्यार्थीले अनिवार्य विषयको रुपमा पढ्नैपर्छ, तर राम्रोसँग बुझिरहेका छैनन् । अहिले सामाजिक शिक्षा विषयलाई नेपालीमा पढ्नुपर्छ । विद्यार्थीले परीक्षामा राम्रो अंक तथा ग्रेड ल्याउनु–नल्याउनु ठुलो विषय होइन र जटिल समस्या पनि होइन । तर, अहिलेको पुस्ताले नेपालीलाई गाह्रो विषय मान्नु चाहिँ चिन्ताको विषय हो । यसले हाम्रो पहिचान र अस्तित्वमाथि नै ठुलो प्रश्नचिन्न खडा गर्छ ।

नेपाली नबुझ्नु र नेपाली भाषामा दक्षता हासिल गर्न नसक्नु भनेको आजका पुस्ताले आफ्नो परिवेश आफु बसेको समाज, भुगोल तथा समग्रमा देशलाई नै बुझ्न नसक्नु हो । तर यसमा दोष विद्यार्थीको मात्र भने पक्कै होइन । यो हाम्रो भाषाप्रतिको गलत बुझाई र विद्यार्थीलाई दिइएको गलत ‘ओरियन्टेसन’ को नतिजा पनि हो । अहिलेको पुस्ता यस्तो गलत ओरियन्टेसनको सिकार बनिरहेका छन् ।

मैले गरेको अध्ययनमा नेपाली विषयमा कमजोर भएको बारे धेरैजसोको एउटै तर्क थियो, स्कुलमा अंग्रेजी माध्यममा अध्यापन गराइनु । कतिपयको धारणा थियो– नेपालीलाई धेरै प्राथमिकतामा नराखिनु । कतिपयले त अब सरकारले अंग्रेजी माध्यममा पढाउन रोक लगाएर नेपालीमै पढाउनुपर्ने धारणा पनि राखे ।

अनुसन्धानका क्रममा लामो समयसम्म नेपालमा बसोबास गर्दै आएका विदेशी नागरिक, अंग्रेजी भाषाका प्रशिक्षिक तथा भाषाविदसँग भेट भयो । उनी विदेशी नागरिक हुन् र विगत २ दशकदेखि नेपालमा भाषासम्बन्धी तालिम तथा प्रशिक्षण दिदै आइरहेका छन् । उनीसँग मेरो वार्तालाप हुँदा उनले मलाई भाषासम्बन्धी निकै उपयोगी कुराहरु सिकाए । मैले प्रश्न गरेँ ‘के ईंग्लिश मिडियममा बिद्यार्थीहरुलाई अध्यापन गराएकैले उनीहरुको नेपाली कमजोर भएको हो त ?’

उनले यसरी उत्तर दिए, ‘आफ्नो भाषालाई छोडेर अर्काे भाषा बढी प्रयोग गर्दा केही हदसम्म पहिलो भाषामा असर त पक्कै पनि गर्छ, तर पूर्णरुपले भने होइन । दोश्रो भाषा जति राम्रोसँग सिके पनि आफ्नो पहिलो भाषामा जति दख्खल हासिल गर्न सकिदैन । दोश्रो भाषामा पनि मातृभाषाको उलेख्य प्रभाव देखिन्छ । नजानिँदो तरिकाले एक–अर्कामा प्रभाव परिरहेको हुन्छ ।’

उनी थप्छन्, ‘इन्टरनेटको तथा विज्ञान–प्रविधिको अतुलनिय विकासका कारण संसारले कोल्टो फेरेको कुरालाई हामी नकार्न सक्दैनौं । विश्वव्यापीकरणले गर्दा हामीले संसारका धेरै नयाँ कुराहरु सिक्न पाएका छौं । सिंगो विश्व आज एउटा साँघुरो गाउँ भएको छ । तर दुःखको कुरा नेपालजस्तो विकाशोन्मुक देशमा आफ्नोपन हराउँदै गएको छ ।’

अहिले सूचनाको युग भएकाले अंग्रेजीमा दख्खल हुनु अनिवार्य आवश्यकता र समयको माग पनि हो । विद्यालय तहदेखि अंग्रजी पढ्दा उनीहरुमा यस भाषाको राम्रो अभ्यास हुन्छ र संसारलाई बुझ्छन् । हामीलाई चहिने विषयको जानकारी अंग्रेजी भाषामा पर्याप्त पाइन्छ । इन्टरनेट तथा टेक्नोलोजीमा प्रयोग गरिने भाषा अंग्रेजीमे हुन्छ भने प्रायजसो विश्वप्रसिद्ध पुस्तकहरु पनि यही भाषामा हुन्छन् । अन्य भाषामा लेखिएका उपयोगी तथा चर्चित पुस्तकहरु पनि अंग्रेजीमा अनुवाद गरेर निकालिएका छन् ।

अंग्रेजीलाई हरेक देशले दोश्रो भाषाको रुपमा लिएको र पठयक्रममा राखेको पाइन्छ । यदि विद्यालय तहदेखी यसको अभ्यास गरिएन भने अहिलेका पुस्ताहरु निक्कै पछाडि धकेलिन्छन् । यस्ता विविध कारणहरुले गर्दा अंग्रेजी भाषालाई जोड दिनुपर्ने वाध्यता छ । तर, यसको अर्थ आफ्नो मातृभाषालाई उपेक्षा गर्नु पक्कै होइन ।

एकजना अंग्रेजी भाषाका ज्ञाता तथा भाषाबिद्सग मेरो संयोगबस भेट भयो । उनी लामो समयदेखी अंग्रेजी भाषामा अध्यापन गर्दै आइरहेका छन् । उनले अंग्रेजी भाषामा थुप्रै किताबहरु पनि लेखेका छन् । उनी अंग्रेजीमा सेमिनार तथा गोस्ठी चलाउँछन् । कार्यक्रमको सिलसिलामा उनी विदेश पनि गइरहन्छन् । उनले भाषा सम्बन्धी गहिरो खोज, अनुसन्धान तथा अध्ययन गरेका छन् ।

वार्तालापको क्रममा मैले उनलाई प्रश्न गरँे, ‘अहिले नेपालीलाई नेपाली बुझ्न किन गाह्रो हुँदैछ, विशेषगरी युवा पुस्तालाई ?’

उनको जवाफ थियो, ‘यो सबै गलत बुझाईको कारणले गर्दा हो । यसमा नेपाली भाषा पढाउने शिक्षकहरु बढी भागिदार छन् ।’

यदि नेपाली शिक्षकहरुले चाहे भने आमुल परिवर्तन आउन सक्ने उनले बताए ।

‘उनीहरुले आफ्नो बिषयमा कसरी राम्रो गर्न सकिन्छ भनेर प्रयास गरेको देखिदैन । उनीहरु पनि विद्यार्थीलाई नेपाली आउँदैन, बुझ्दैनन् भन्ने भ्रमको पछाडि दौडिरहेका छन् । यदि सबै नेपाली शिक्षकहरुले चाहे भने छोटो समयमा कायापलट ल्याइदिन्छन् ।’

मलाई उनको कुरा निकै चित्त बुझ्यो । आखिर हामी किन भ्रमको पछाडि कुदिरहेका छौं त ? उनका अनुसार हरेक नागरिक सर्वप्रथम आफ्नो मातृभाषामा दक्ष हुनु जरुरी छ । आफ्नो भाषामा मास्टरिङ नगरेको व्यक्तीले अन्य भाषा अर्थपूर्ण र मिठासतापुर्वक सिक्न सक्दैन ।

स्कुलमा शिक्षणको माध्यम अंग्रेजीको साटो नेपाली हुनुपर्ने कतिपयको तर्क मलाई सान्दर्भिक लाग्दैन । यदी हामी नेपाली भाषामा मात्र सिमित रह्यौ भने हामी संसारसग डिस्कनेक्ट हुन्छौं । अनि अर्को महत्वपूर्ण कुरा, अहिलेको युवा पुस्ताको प्रतिस्पर्धा भनेको विश्वसँग छ । तसर्थ अंग्रजी कमजोर भए पछि परिन्छ ।

एकजना बौद्धिक दाई तथा मिडियाकर्मीसँग मेरो भेट भयो । उनी टेलिभिजनमा समाचार वाचन गर्ने, समाचार लेख्ने तथा युनिभर्सिटीमा विद्यार्थीहरुलाई पढाउँछन् । उनले नेपाली तथा अंग्रेजी भाषामा पुस्तक पनि लेखेका छन् ।

उनी भन्छन् ‘मिडियाकर्मी भएपछि अंग्रेजी तथा नेपाली दुवै भाषामा दख्खल हुनु अति जरुरी छ । हामीले अहिलेको पुस्तालाई नेपालीको माध्यमबाट अंग्रेजी चिनाउनु पर्छ, तर गलत भैइरहेको छ ।’

उनको भनाइ ईंग्लिशलाई जस्ताको तस्तै नेपालीमा उल्था गरेर पढाउने भन्ने होइन । उनको भनाइको आशय हो– आफुलाई बुझेरमात्र संसारलाई बुझुन सकिन्छ । उनको यो कुरामा निकै सत्यता छ । विश्वका विकसित देशहरुलाई हेर्दा यो कुरा छर्लङ्ग हुन्छ । विकसित देशहरु जसको पहिलो भाषा अंग्रेजी होइन, तर उनीहरु अंग्रेजी भाषा सिक्छन् । यद्यपि, आफ्नो भाषालाई बढी जोड दिन्छन् । उनीहरु आफ्नो भाषामा दक्ष छन् र अंग्रेजी भाषामा पनि उत्तिकै अब्बल छन् । उनीहरु सकेसम्म आफ्नै भाषामा बोल्न खोज्छन् । यदि अंग्रेजी बोल्नै परे राम्रो र सुद्ध बोल्छन् । उनीहरुले आफ्नो भाषा बुझ्नमा समस्या छ भनेको कतै सुन्नै पाइदैन ।

अहिले सुन्दै नसुनेको, पुरा लिपी नै फरक भएको भाषा जस्तैः कोरियन, जापनिज् आदि हामीले ५–६ महिनामा सिकेर, बुझेर भाषा परिक्षा पास गरेर ती देशहरुमा गएर बस्छौं, काम गर्छौ । अनि आफु जन्मेदेखि, बोली फुट्दै सिक्दै बोल्दै आएको भाषा गाह्रो मान्छौं ।

एकजना भाईको कथा निकै रोचक छ । भाई सानैदेखी नेपाली खासै बुझ्दिन भन्दै हिँड्थे । उनको स्कुल पढ्दा नेपालीमा सधैं काम स्कोर आयो, तर उनले यसलाई त्यस्तो ठुलो समस्याको रुपमा लिएका थिएनन् । नेपाली आउँदैन भनेर चित्त बूझाउँथे । तर जब उनी नेपाली नबुझ्नुको कारणले गर्दा मारमा परे, तब निकै झस्किए । उनी ड्राइभिङ लाईसन्सको परिक्षामा ३ पटक असफल भए, किनकी त्यहाँ सबै प्रश्नहरु नेपालीमा सोधिएका थिए ।

यो त एउटा उदाहरण मात्र हो । यहाँ कयौ नेपाली युवाहरु छन् जसले आफुलाई सम्वन्धित विषयमा राम्रो जानकारी भएता पनि नेपालीमा प्रश्नपत्र सोधिएको कारण परीक्षा विगारेका हुन्छन् ।

नेपाली भाषा अली ‘क्लिस्ट’ भने पक्कै पनि छ । अंग्रेजी भाषामा एउटै शब्दले धेरै शब्दको काम गर्छ । नेपालीमा त्यस्तो हुँदैन । लेखाइ र बोलाइमा पनि धेरै भिन्नता पाइन्छ अंग्रेजी र नेपालीमा । तुलनात्मक रुपमा अंग्रेजी सजिलो देखिन्छ । विद्यालयमा उपयुक्त विधी प्रयोग गरेर, बढीभन्दा बढी किताबहरु पढ्न लगाएर, लेख्न तथा बोल्न भरपुर अभ्यास गराएर नेपाली सुधार्न सकिन्छ ।

नेपाली भाषमै राम्रो दख्खल नभएमा युवाहरु देशमा भैरहेका कुसंस्कर तथा बेतिथीका बारेमा आवाज उठाउन सक्दैनन् । नेपालको ईतिहास, भुगोल, शासन व्यवस्था तथा अन्य थुप्रै महत्वपूर्ण विषयहरु बुझ्नबाट वञ्चित हुन्छन् । उनीहरुले नेपालमा अवसर तथा सम्भावनाको खोजी गर्दैनन् र देख्न पनि सक्दैनन् । हाम्रा चलिआएका मुल्य मान्यतामा भएका राम्रा–नराम्रा कुराहरुमा फरक छुट्याउन सक्दैनन् । उनीहरुले नेपाललाई राम्रोसँग बुझेपछि मात्र नेपाल विकास नहुनका कारणहरु थाहा पाउछन र नेपालमा केही गर्नुपर्छ भन्ने भाव उनीहरुमा उत्पन्न हुन्छ ।

विद्यार्थीले परीक्षामा नेपाली विषयमा कम अंक ल्याउनु, जीपीए कम ल्याउनु ठुलो समस्या होइन । उनीहरुले आफ्नै भाषा नबुझ्नु र आफंैलाई राम्रोसँग बुझ्नबाट वञ्चित हुनु डरलाग्दो सम्स्या हो । नेपाली समाचार पढ्न नसक्नु, नेपालीमा लेखिएका किताबहरु पढ्न नसक्नु, कुनै सरकारी अफिसमा गएर फारम भर्न नसकेर फर्किनु, सरकारले निकालेका सुचनाहरु तथा पाठयक्रम नबुझ्नु निकै निराशाजनक कुराहरु हुन् ।

अहिलेको प्रतिस्पर्धी समयमा अंग्रेजी भाषाको मह्त्वलाई कदापी अबमुल्यन गर्न सकिदैन । हरेक व्यक्ती अंग्रेजी भाषामा दक्ष हुन जरुरी छ । भाषाले हामीलाई जोडने काम गर्दछ । तर अन्य भाषालाई बढवा दिने नाममा आफैंलाई बिर्सिनु भएन । आफ्नो भाषा, धर्म, संस्कार, संस्कृतिसँगै बोकेर अंग्रेजी भाषामा दक्षता हसिल गरौं । संसारलाई बुझौं र संसारसँग जोडीउँ । संसरसँग भिडांै । समय अनुसार चलौं तर सर्बप्रथम आफुलाई बुझांै ।

मैले जोड दिएको विषय नेपाली खस भाषामा मात्र नभएर नेपालभरिका हरेक जातजाती तथा भाषाभाषिले बोल्ने अन्य भाषाहरुमा पनि लागू हुन्छ । मैले उठाउन खोजेको हाम्रो आडम्बरी सोच र अहिलेको युवा पुस्ताको जल्दोबल्दो समस्या हो । संसारलाई बुझ्न र जोडिन सबैभन्दा पहिले आफुलाई बुझ्नुपर्छ र आफुमा विश्वाश गर्नुपर्छ भन्ने मेरो बिचार हो । यदी कोही कसैलाई ब्यक्तिगतरुपमा पर्नगएमा क्षमाप्रार्थी छु ।

प्रतिक्रिया

One thought on “नेपालीमा कमजोर अहिलेका विद्यार्थीः आफ्नै भाषा किन गाह्रो ?

  1. लेख सान्दर्भिक र महत्त्वपूर्ण छ। लेखका लागि लेखकलाई धन्यवाद!
    जानेकोबाट नजानेको, सजिलोबाट असजिलो र आफ्नोपनबाट नयाँपन सिक्ने सिकाउने पद्धति नहुँदा हामी आफ्नो मौलिक भाषा, संस्कृति, संस्कार र ऐतिहासिक पक्षलाई छोड़ने भएका छौं। हिजो त्यसको मात्रा कम थियो भने अहिले बढेको छ। यही क्रममा बढ्योभने समयान्तरमा हाम्रो पहिचान (भाषा धर्मसंस्कृति र जन्मभूमि) संकटमा पर्न सक्छ। हतारमा अंग्रेजी सिक्ने सिकाउने मोहले गर्दा हाम्रा भाषाहरूले महत्त्व पाएनन्। पहिले नेपाली बाहेकका मातृभाषा समस्यामा परेको थियोभने अहिले नेपाली भाषा नै समस्यामा परेको छ।
    यो समस्याबाट मूक्तिका लागि हाम्रो शिक्षा व्यवस्थामा नै आमूल परिवर्तन गरिनुपर्छ। घरमा अभिभावकले आफ्ना छोराछोरीहरूसँग आफ्नै भाषामा कुराकानी गर्नुपर्छ भने विद्यालयमा शिक्षकले कम्तिमा पाँच कक्षासम्म विद्यार्थीहरूको भाषा प्रयोग गरेर पढाउनु पर्छ। विद्यालयको प्रमुख माध्यम भाषा के हुने पाठ्यक्रममा नै व्यवस्था गरिनुपर्छ। भाषाको महत्त्व नबुझ्दा र नबुझाउँदा हाम्रा भाषाहरूको प्रयोग बिस्तारै घट्दैछ। उदाहरणका रूपमा ईम्बोस्ड नम्बर अंग्रेजीमा राख्ने प्रावधानलाई लिन सकिन्छ।
    त्यसैले कुन तहमा कुन भाषाका माध्यमबाट पढाउने? हाम्रा भाषाहरूलाई कसरी सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने? अंग्रेजी भाषालाई भाषा शिक्षाको रूपमा पढाउने कि माध्यम भाषा नै बनाउने? हामी स्पष्ट हुनुपर्छ। फेरि हाम्रा भाषाहरूको विकास र प्रयोगको नाममा धर्मान्तरणका गतिविधिहरू भइरहेका छन्, त्यसलाई कसरी रोक्ने? विदेशी भाषाविदहरू त्यही कामका लागि नेपालमा क्रियाशील भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *