ओलीसँग ३६ को आँकडा थियो, तर हाम्रो समस्या समाधान गर्न ओली नै लागेः राजेन्द्र महतो – Nepal Press
नेपाल टक

ओलीसँग ३६ को आँकडा थियो, तर हाम्रो समस्या समाधान गर्न ओली नै लागेः राजेन्द्र महतो

काठमाडौं । मधेस राजनीतिका एक प्रखर चेहरा हुन् राजेन्द्र महतो । प्रायः मिडियामा हटकेक बनिरहने उनी पछिल्लो समय भने केही ओझेलमा छन् ।

२०४६ सालको परिवर्तनपछि राजनीतिक परिदृश्यमा उदाएका महतोले पटक-पटक मन्त्री बन्ने सौभाग्य पाए । तर, नामभन्दा बढी बदनामी कमाए । आफ्नो अभिव्यक्ति र क्रियाकलापले गर्दा उनी बारम्बार विवादमा आउने गरेका छन् ।

कुनै वेला केपी ओलीका कट्टर आलोचक महतो ओलीको अघिल्लो सरकारमा उपप्रधानमन्त्री बन्न पुगे । तर, त्यो टिकाउ भएन । अदालतले मन्त्रिपरिषद विस्तारलाई अमान्य गरेपछि १८ दिनमै उनले कुर्सी छोड्नुपर्‍यो । यसबीचमा उनको पार्टी पनि फुट्यो । अहिले महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा आइपुगेका छन् ।

नेता महतोसँग समसामयिक राजनीति तथा आगामी चुनावलाई लिएर नेपाल प्रेसले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छः

– २०५६ सालमा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरेर सर्लाही- २ बाट निर्वाचित हुनुभयो । अहिले २३ वर्षपछि फेरि २०७९ सालमा निर्वाचन लड्दै हुनुहुन्छ । यो २३ वर्षको बीचमा त्यो चुनाव र यो चुनावबीच के अन्तर देख्नुहुन्छ ?

त्यो वेला सर्लाही-२ का जनताले मलाई पूर्व प्रमलाई हराएर जिताएका थिए । त्यो जीत मधेसी, आदिवासी, दलितलगायत शोषणमा परेका जनताको अधिकार र पहिचानका लागि उठाइएको सवालको जीत थियो । सद्भावना पार्टीले जनताका त्यही सवाललाई उठाएर काम गरिरहेको थियो । जनताको ममाथि भरोसा भएकैले पूर्व प्रमजस्तो व्यक्तित्वलाई निकटतम प्रतिद्वन्द्वी बनाएर निर्वाचित गरेका थिए ।

नेपाल एकल राष्ट्र होइन, बहुल राष्ट्र हो । पृथ्वीनारायण शाहले सबैको साझा फूलबारी हो भन्नुभएको थियो । तर, नेपाललाई साझा फूलबारी बनाइएन । नेपाल निर्माणको प्रक्रिया पूरा हुन सकेन । नेपाल भूगोलको मात्रै एकीकरण भयो, भावनात्मक एकीकरण भएन ।

त्यसवेला मधेसको सवाल केन्द्रमा थियो । मलाई भन्दा पनि जनताले सवाललाई जिताएका थिए । राज्यले गरेको विभेदविरुद्ध जनताले जितेका थिए । त्यो मूल्य र मान्यताको जीत थियो । यसपटक पनि शोषणमा परेका जनताका अधिकार, पहिचानका लागि, संघीयताको सुनिश्चितता, नागरिकता समस्या समाधान गर्न म निर्वाचनमा जाने हो ।

सबै नेपालीले नागरिकको मान्यता पाउनुपर्छ । नेपाल एकल राष्ट्र होइन, बहुल राष्ट्र हो । पृथ्वीनारायण शाहले सबैको साझा फूलबारी हो भन्नुभएको थियो । तर, नेपाललाई साझा फूलबारी बनाइएन । नेपाल निर्माणको प्रक्रिया पूरा हुन सकेन । नेपाल भूगोलको मात्रै एकीकरण भयो, भावनात्मक एकीकरण भएन । यहाँ वर्ग, जात, भेषभुषा, भाषा, लिंगको आधारमा विभेद गरियो । लोकतान्त्रिक मूल्य मान्यताविपरीत यहाँ संविधान बनाइए, शासन चलाइए । त्यसैका विरुद्ध उम्मेदवारी हो ।

– भनेपछि तपाईं पटकपटक निर्वाचित भएर सरकारमा जाँदा पनि मधेसी जनताको मूल मुद्दा सेटल्ड भएन ? तपाईंहरु राज्यको स्रोत, शक्ति र पहुँचसँग जोडिँदै गर्दा पनि समस्या कहाँनेर भयो ?

मधेसमा ठूला आन्दोलन भए । थारु आन्दोलन भयो । आदिवासी, जनजाति, दलितले परिचानका लागि विभिन्न ठूला आन्दोलन गरे । हुँदाहुँदै संविधान निर्माण गर्ने कुरा भयो । निर्माण पनि भयो । तर, यो देशमा संविधान र व्यवस्थामात्रै पटकपटक फेरियो । विचार र व्यवहार फेरिएन । हामीले उठाएका सवालहरु सम्बोधन भए त ?

मधेसले संघर्ष गर्‍यो, २०६४ सालको आन्दोलनमा धेरैले शहादत प्राप्त गरे । २०६४ फागुन १६ गते ८ सूत्रीय सम्झौता भयो राज्यसँग । सम्झौतामा अब बन्ने संविधानमा विभेद हुँदैन भनियो । तर, दुर्भाग्य कांग्रेस, एमाले, माओवादीको प्रतिनिधि भएको संविधानसभाले फास्ट ट्रयाकमा जनतामाथि अन्धाधुन्ध गोली चलाएर दर्जनौं हत्या गरेर दीपावली मनाएर २०७२ असोज ३ गते संविधान जारी गर्‍यो । मधेस शोकमा थियो, सरकार खुशीयालीमा । जनतालाई गोली ठोक्दै बनाइएको संविधान कस्तो संविधान हो ? त्यसैले मुद्दाहरु यथावत नै छन् ।

– एकैछिन राज्यलाई एक ठाउँमा राखेर मूलधारका मिडियालाई हेर्ने हो भने तिनले मधेसलाई कसरी हेर्छ ?

यहाँ शासन, चिन्तन सबै नश्लवादी छन् । मूलधारमा मिडिया एकल चिन्तनबाट प्रभावित छन् । एकल नश्लीय सोचबाट प्रभावित छन् ।

६ महिनासम्म चलेको मधेस विद्रोह नाकाबन्दीसम्म पुगेको थियो । तर, काठमाडौंका मूलधारका मिडियाले त्यो विद्रोहलाई मधेसी जनताको विद्रोह भन्न हिच्किचाएको थियो । जब राज्यबाट गोलाबारी, हत्याहिंसा भएको थियो, हामी बाध्य भएर सीमामा गएर बसेका थियौं । त्यसले सीमामा अवरोध आएको थियो, आपूर्ति अवस्था अस्तव्यस्त भएको थियो । तर, यहाँका मिडियाले त्यो आन्दोलनलाई भारतको आन्दोलन भनिदिए ।

लोकतान्त्रिक मुलुकको समर्थन आन्दोलनमा हुन्छ । नेपालका सबै आन्दोलनमा भारतको समर्थन थियो । भारतले नैतिक समर्थन गरेको थियो । तर, यहाँका नश्लवादी मिडियाले भारतको आन्दोलन भनिदिए, मधेसको माग र मुद्दालाई छायाँमा पारिदिए । एकल जातीय चिन्तनबाट प्रभावित मिडियाहरुले पहिचानको आन्दोलन लड्नेहरुलाई लान्छना लगाउने र न्यायिक प्रक्रिया आत्मसात नगर्ने कामहरु गरेकै छन् ।

– अहिलेसम्म मधेसलाई लिएर चर्को रुपमा उठ्ने गरेको सवाल नागरिकताको सवाल हो । नागरिकता विधेयक अहिले राष्ट्रपतिकहाँ पुगेको छ । तर, नागरिकताको मुद्दा मधेसको मात्रै हो कि सबैको हो ?

नागरिकता मुद्दा देशको मुद्दा हो । नागरिकता पाउने मौलिक हक सबै नागरिकको हो । यो देशमा नागरिकताको समस्या छँदैछैन, मानसिकताको समस्या हो । आफ्नो नागरिकलाई पहिचान गरेर प्रमाणपत्र दिनु पनि समस्या हुन्छ र ? हुन्न नि !

उहाँहरु हेर्नेबित्तिकै ए कहाँबाट आएको होला, मधेसको अनुहार हेर्दा भारतबाट आएको भनिहाल्ने, मानसिकता बनाइहाल्ने ! नागरिक पहिचान गरेर उसलाई प्रमाणपत्र दिनु समस्या होइन । त्यसमा विदेशीले नागरिकता पाउनु हुँदैन, सबै सचेत छौं । तर, नेपाली नागरिकले पाउनुपर्छ ।

आज राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक के हो ? हामीलाई गोली ठोकेर कांग्रेस, एमाले, माओवादी मिलेर बनाएको संविधान होइन ? संविधान बनाइसकेपछि राज्यले पूरा गर्नुपर्ने कर्तव्य होइन ? कानून बनाउन खोज्दा राष्ट्रपतिले फिर्ता गर्ने, खै के भइरहेको हो ।

– नागरिकताको सवालमा तपाईंकै नागरिकतामथि पनि प्रश्न गर्छन् मान्छेहरु । तपाईंले उत्तर दिएकोदियै हुनुहुन्छ । र पनि शंका गर्न छाडेका छैनन्, किन हो ?

यो मानसिकताको सवाल हो । यो ननसेन्स कुरा हो । वाइह्यात कुरा हो । राजनीतिमा मुद्दालाई हलुको बनाउन अनेक प्रश्न झिकिन्छ । समस्यालाई हलुको बनाउन यस्ता फजुलका कुरा निकालिन्छ ।

– पहिलो र दोस्रो मधेस आन्दोलनले राज्यलाई घुँडा टेकाउन बाध्य पारेपछि कतिपय मुद्दाहरु सेटल्ड भएका छन् । तर, तपाईंहरु अझै सबै बाँकी छन् भन्नुहुन्छ । खासमा अहिलेको मधेसको मुद्दा चाहिँ के हो ?

मधेस विशेष रुपले राज्यबाट उपेक्षित भयो । आदिवासी, जनजाति पनि उपेक्षित छन् । तर, केही मात्रामा ऊ प्रिभिलेज्ड छ । तपाईंहरु मिडियाका मान्छे पनि घुमाएर मधेसको समस्यालाई ओझेलमा पारिदिनुहुन्छ । यो देशको शासन व्यवस्थामा सरकारले श्वेतपत्र जारी गरोस् । यहाँ एकल जातीय चिन्तन भएका मान्छेको ८९–९० प्रतिशत प्रभुत्व छ । यो मूल समस्या हो । एकल जातीय चिन्तनले विभेद गरेको छ मधेसलाई ।

– समाधान के हो त त्यसो भए ?

यो देशको शासन र संविधान सबैका लागि बनाउनुपर्‍यो । कुनै एउटा जातिका लागि बनाउनुभएन । राज्य सत्तामा सबैको पहुँच हुनुपर्‍यो । कुनै प्रकारको बेइमानी हुनुभएन । विभेद हुनुभएन । म चुनौती दिन्छु, श्वेतपत्र जारी गरोस् न ! शासन कसरी चलिरहेको छ, कसको प्रतिनिधित्व कति छ, श्वेतपत्र जारी गरोस् । समस्या भनेको त्यो हो । सबैका लागि संविधान बन्दा समस्याको समाधान हुन्छ ।

– अहिले ३८-३९ दिनदेखि माइतीघरमा मिटरब्याज पीडितहरु आन्दोलनरत छन् । शीतलहरको समयमा भूमिहीन जनताले चौरमा सुतेर रात कटाउनुपर्ने अवस्था छ । दाइजो प्रथाले महिला हिंसा घरघरमा व्याप्त छ । तपाईंहरु मधेसको मुद्दा उठाइरहेको भन्नुहुन्छ । तर, के मधेसका मुद्दा चाहिँ राजनीतिकमात्रै हुन् ?

यस्ता समस्या त्यहाँका राजनीतिक दल, राजनीतिक व्यक्ति, प्रतिनिधिले उठाउने हो । मधेसको सन्दर्भमा त्यहाँ विविध समस्या छन् । उसको सवाल त्यहाँ प्रतिनिधित्व गर्ने राजनीतिक दलले उठाउनुपर्ने हो । दुर्भाग्य कहाँ छ भने मधेसी जनताको धेरै भोट कांग्रेस, एमाले, माओवादीले पाउँछन् । ८०-९० प्रतिशत मत नश्लवादी पार्टीहरुले पाउँछन् ।

तपाईंले मधेसको सवाल मधेसी नेता, मधेसवादी पार्टीलाई मात्रै सोधिरहनुभएको छ । मधेसको जनताले कांग्रेस, एमाले, माओवादीलाई बढी पत्याएका छन् । समस्या समाधान गर्ने शक्ति मूलधारको पार्टीलाई प्रदान गरेका छन् । यो सवाल उनीहरुलाई सोध्नुपर्दैन ? यहाँका मिडियाहरु पनि नश्लवादी छन् । प्रचण्ड, देउवा, ओलीलाई सोध्नुपर्थ्यो यो सवाल । जहाँ मधेसी जनताले बढी तागत दिएको छ, त्यहाँ सोध्नुपर्दैन ?

– तपाईंहरुले नै मधेसी जनताको मुद्दा मुखर रुपमा उठाएर आउनुभएकाले सोधिएको हो । डेढ महिनादेखि आन्दोलनरत छन् मिटरब्याज पीडितहरु । तर, त्यहाँ मधेसी दलका नेताको अनुहार किन देखिँदैन ?

पहिलो कुरा त यो कानूनी अपराध हो । त्यो अपराधलाई कानूनअनुसार नै दण्डित गर्ने हो । राज्यले त्यही रुपमा लिनुपर्छ । कानूनी रुपमा पीडित जनतालाई राज्यले न्याय दिनुपर्छ । फेरि भनें, जसको सरकार छ, उनीहरुले समाधान गरिदिनुपर्छ । हामी उनीहरुको समस्यालाई लिएर चिन्तित छौं । हामीले हाम्रो गाउँठाउँमा पीडितलाई सहयोग गर्ने काम गरिरहेका छौं । तर, यो सवाल मधेसी जनताले अत्यधिक मतदान गरेका पार्टीका नेतालाई सोध्नुपर्थ्यो ।

– सरकार र प्रतिपक्षको कुरा गर्दा लोसपा खासमा प्रतिपक्ष हो कि सत्ता पक्ष हो ?

सरकारमा रहेको सत्तापक्ष हुन्छ, सरकारमा होइन भने प्रतिपक्ष हुन्छ । तपाईंलाई लाग्छ, हामी सत्तापक्ष हो ?

– एकातिर सत्ता गठबन्धनमा लोसपालाई पनि सीट बाँडफाँट गरिनुपर्छ भनिरहेका छन् । अर्कातिर सरकारमा पनि हुनुहुन्न तपाईंहरु । तपाईंहरु हो चाहिँ के ?

त्यो त चुनावी तालमेल हो । चुनावी तालमेल जोसँग पनि हुनसक्छ । पाँच दलीय गठबन्धनसँग हाम्रो चुनावी तालमेल छैन । तर, तालमेल भएमा पनि सत्तापक्ष भइहाल्न जरुरी छैन । चुनावी तालमेलमै सीमित हुनसक्छ । सत्तापक्ष लोसपा होइन ।

– प्रचण्ड, ओली र देउवा राज्यको सत्ताको वरिपरि वा राज्यको शक्ति, पहुँच, स्रोत र निर्णय क्षमतामाथि दुई दशकदेखि हावी छन् । यी तिनैमध्येबाट एकतिर चुनावी तालमेल हुने होला तपाईंहरुको । तर, ती तीन नेतामध्ये मधेसको सवालमा को अलि बढी उदार र को अलि बढी कठोर लाग्छ ?

सबै उस्तै त हुन् नि ! यो देशको शासन व्यवस्था सबै नेपाली जनतामा पुग्न नदिएका यिनीहरु नै हुन् । कोइरालाको अनुहारमा देउवाको, माधवको अनुहारमा ओलीको, प्रचण्डको अनुहार भएको छ । फेरिएका मात्रै हुन् । अनुहार फेरिए पनि कामधन्धा त्यही हो । को उदार, को अनुदार, को राम्रो को नराम्रो भन्ने छैन । घुमाइफिराइ उही हुन् ।

यी नै नेताको पार्टी मिलेर संविधान बनाएको हो नि ! हामीलाई गोली ठोकेको हो नि ! तिनले मधेसी जनतालाई गोली ठोकेर संविधान बनाएका हुन् । त्यसैले केही तलमाथि हुनसक्छ । तर, उल्लेखनीय फरक छैन ।

– तपाईं त केपी ओलीको कट्टर आलोचक । उनलाई मधेस छिर्नै नदिने घोषणा गर्नुभएको थियो । पछि उनैको सरकारमा मन्त्री बन्न जानुभयो । अप्ठ्यारो लागेन ?

जसले जुन वेला अत्याचार गर्छ, उसैलाई गाली गर्ने हो । मधेसमा गोली चलाउने ओली नै थिए । त्यत्रो हत्या भयो । अनि मधेस प्रदेश माग्दा यूपी बिहार देखाउने केपी ओली नै थिए । अनि कसलाई गाली गर्ने ? गाली खाने काम बढी केपी ओलीले गर्‍यो । र, ओलीले नै बढी गाली खाए । अरुले पनि गाली खाए । तर, कम खाए । हाम्रो लागि सबै बराबर हुन् । जसले काम गर्छ, त्यही राम्रो ।

हामीले नागरिकताको सवाल उठायौं । अनि अध्यादेश जारी गर्न केपी ओली तयार भए । हाम्रो ३९ कार्यकर्तालाई लगाइएको झूटा मुद्दा केपी ओलीको सरकारले नै फिर्ता गरेको हो । संविधान संशोधन गर्ने कार्यदल केपी ओलीले बनाएको हो । अरु सरकारले नगर्दा यिनले गरे नि त !

हाम्रो लागि व्यक्ति प्यारो होइन, मुद्दा प्यारो हो । व्यक्तिसँग जति पनि झगडा गर्न सकिन्छ । तर, काम जसले गर्छ, उहीसँग सहकार्य हुन्छ । ओलीसँग ३६ को आँकडा थियो, कट्टर आलोचक थिएँ म । तर, हाम्रो समस्या समाधान गर्नतिर ओली नै लागे । सबै काम उसकै कार्यकालमा अगाडि बढाएपछि उसलाई सरकारमा गएर सहयोग गरिएको हो । कामको आधारमा गरिएको हो । व्यक्तिगत आग्रह पूर्वाग्रहले होइन कि देश र जनताको सवाल जसले सम्बोधन गर्छ, उसैसँग सहकार्य गर्ने सवालमा त्यो भएको हो ।

– अहिले चुनावी संघारमा छ मुलुक । जुली महतोसँग तपाईंको भेट पक्का जस्तै भएको छ । पहिले कांग्रेसका विमलेन्द्र निधिलई हराउनुभएको थियो । तर, निधिलाई पराजित गराउन राजेन्द्र महतो एमालेसँग मिल्यो भन्ने आरोप छ । यो सत्य हो ?

निर्वाचनमा को कहाँ मिल्छ त्यो त भइरहन्छ नि ! निर्वाचनमा अहिले पाँच दलीय गठबन्धन मिलिरहेका छन् । अहिले हामीले कोसँग गठबन्धन बनाउने भनेर छलफल भइरहेको छ । एमालेसँग गठबन्धन हुने कुरा पनि भइरहेको छ । गठबन्धन हुँदा चुनावमा तालमेल हुँदा, गिभ एण्ड टेक हुँदा खेरी कसै न कसैलाई समर्थन भइरहेको हुन्छ । कसैको विरोध भइरहेको हुन्छ । कोही चुनाव हारिरहेको हुन्छ, कोही जितिरहेको हुन्छ । त्यो स्वाभाविक प्रक्रिया हो ।

अहिले पाँच दलीय गठबन्धनले कसैलाई जिताउला, हराउला । हामी एमालेसँग गयौं भने कोही जित्छ, हार्छ वा एक्लै लड्यो भने पनि एक खालको परिणाम आउँछ । निर्वाचनमा त्यो भइरहन्छ । अहिले पनि एमालेसँग भयो भने उसको सपोर्ट पाउँछु । त्यति वेला पनि एमालेको उम्मेदवार थियो । तर, एमालेले मलाई सहयोग गरेको थियो । त्यस वेला मधेस आन्दोलनको रापताप थियो । एमालेलाई विगतमा भोट दिएका जनताले मलाई मतदान गरे । कांग्रेसका जनताले पनि मलाई सपोर्ट गरेका थिए । मेरो पार्टी त्यहाँ त्यति बलियो थिएन । अनि निधिलाई हराएको हो । मैले हराएको होइन, जनताले हराएका हुन् ।

– तपाईंको राजनीतिक यात्रा सद्भावना पार्टीबाट सुरु भएर अनेक पार्टी गठन, टुटफुट हुँदै लोसपामा आइपुग्नुभएको छ । राजनीतिक पार्टीको भविष्य चुनावी परिणामले निर्क्योल गर्छ भनिन्छ । लोसपाको भविष्य कस्तो देख्नुहुन्छ ? अन्तिममा गएर सद्भावना होला कि ?

पार्टीको अवस्था परिवर्तन भइरहन्छ । यो देशको मूल पार्टी कांग्रेसले २३ सीटमात्रै जितेको थियो । पहिलो संविधानसभामा माओवादी पहिलो पार्टी थियो । अघिल्लो चुनावमा नेकपाले झण्डै दुईतिहाइ बहुमत ल्याएको थियो । निर्वाचनमा कुन पार्टीले कस्तो परिणाम ल्याउँछ, त्यसलाई हेरेर भविष्य निर्क्र्योल हुने हो । त्यसैले लोसपाले कति सीट जित्ने हो, कुन अवस्थामा पुग्ने हो, हेर्दै जाऔंला नि !

अहिलेको पाँच दलीय गठबन्धन भताभुंग भयो भने जुन आंकलन हो, त्यसको ठीक उल्टो नतिजा आउँछ । हाम्रो पनि कस्तो गठबन्धन बन्छ, त्यसअनुसार लोसपाले सीट जित्ने हो । त्यो त्यसै वेला निर्धारण हुन्छ ।

– गठबन्धन टुटफुट भएको खण्डमा उपेन्द्र यादवसँग तालमेल गरेर अगाडि बढ्ने सम्भावना कति छ ?

राजनीतिमा असम्भव भन्ने हुँदैन । उपेन्द्रजीसँग तालमेल नहुने भन्ने हुँदैन । तर अहिलेसम्म त्यस्तो छाँटकाँट छैन ।

– उपेन्द्रलाई संकट पर्दा रातारात पार्टी एकता गरेर सहयोग गर्नुभएको थियो । अहिले त सँगै हुनुहुन्न । उपेन्द्रलाई जुन तरीकाले साथ दिनुभएको थियो, त्यसले तपाईंको राजनीतिक करियरमा फाइदा भयो कि बेफाइदा गर्‍यो ?

खासमा मैले नोक्सान नहोस्, विखण्डन नहोस् भनेर रातारात पार्टी एकता गरेर, रेस्क्यु गरेर उहाँको पार्टीलाई जोगाइदिएको हो । विगतमा पनि पार्टी एकता गर्दै शक्ति निर्माणको प्रयास गरेकै हो । उपेन्द्रजीले कहिल्यै पनि शक्ति निर्माणमा सहयोग गर्नुभएन मलाई । उहाँलाई संकट परेको वेला सहयोग लिनुहुन्छ । संकट समाधान हुने बित्तिकै आफ्नो हिसाबमा हिँडिहाल्नुहुन्छ । मधेसलाई कमजोर पार्ने या संगठनलाई कमजोर पार्ने काम गरिहाल्नुहुन्छ ।

विश्वसनीय ढंगले एउटा शक्ति निर्माण गरौं र एकतालाई अलि बलियोसँग टिकाइराखौं भन्ने थियो, त्यो भएन । पार्टीभित्र विवाद हुन्छ, भारी मत भिन्नता हुन्छन् । तर, पार्टी नै विभाजन गरिहाल्नुहुन्न । उपेन्द्रजीले जसपा भन्ने पार्टीलाई लिएर निर्वाचन आयोगमा मुद्दा दिएर विभाजन गराएको हो । नत्र पार्टीको मत भिन्नता दुनियाँलाई थाहा छ । अग्रगमन, प्रतिगमन भन्दै कांग्रेस-एमालेको चक्करमा हामी फसेका थियौं । त्यो चक्करमा फस्दा पार्टी विभाजन गर्नु जरुरत थिएन । पार्टीभित्रै सल्टाउँदा हुन्थ्यो । उहाँले त्यो बाटो नखोजेर विभाजनको बाटो खोज्नुभयो । त्यसैले उहाँले शक्ति निर्माणमा कहिल्यै सपोर्ट गर्नुभएन ।

– २०७२ सालको संविधानप्रति विमति राख्नुभयो । असोज ३ गतेलाई कालो दिनको रुपमा मान्नुहुन्छ । फेरि त्यही संविधानमा टेकेर चुनावी मैदानमा जाँदै हुनुहुन्छ, सरकारमा जानुभयो । यो वैचारिक खडेरी अनि विरोधाभाष जस्तो देखियो नि ?

यो विरोधाभाष होइन । कुनै प्रकारको विचलन पनि होइन । संविधानलाई पूरै इन्कार गरिएको छैन । संविधान मान्दैनौं भनेको छैन । त्यसैले संविधानलाई मान्दै संविधानमा भएको कमि-कमजोरीविरुद्ध लड्ने हो । धारा, पाना संशोधन गर्ने हो, पुनर्लेखन गर्ने हो । फेरि लेखौं भन्ने हो । पूरै संविधान बनाउँदा कहाँ कमजोरी भयो, त्यसमा सुधार गर्ने हो । त्यही संविधानमा बसेर चुनाव लड्यो, सरकारमा गयो भनेर शीर न पुच्छरको प्रश्न आउँछ, मलाई अचम्म लाग्छ । त्यस्तो होइन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर