गठबन्धनमा भागबण्डा : ९० सीटमा समझदारी, ७५ मा दोहोरो-तेहेरो दाबी – Nepal Press

गठबन्धनमा भागबण्डा : ९० सीटमा समझदारी, ७५ मा दोहोरो-तेहेरो दाबी

कैलाली । पाँचदलीय गठबन्धनले सीट बाँडफाँटका लागि बनाएको कार्यदलले अझै सम्म सहमति जुटाउन सकेन । कार्यदलभित्रै दलहरूले आफू अनुकूल दाबी गरेपछि पटकपटकको बैठकमा पनि सहमति हुन नसकेको हो ।

हिजो शीर्ष नेतृत्वसँग बसेर सहमति जुटाउने जनाएको कार्यदलको त्यो योजना पनि पूरा भएन । सबै नेताहरू व्यस्त भएका कारण कार्यदलको प्रतिवेदनमा छलफल नभएको नेताहरूले बताएका छन् । कार्यदलले शीर्ष नेतृत्वलाई अधुरो प्रतिवेदन बुझाएको थियो ।

‘अहिलेसम्म कार्यदलमा ९० सीटमा मात्रै समझदारी भएको छ’ कार्यदलका सदस्य रकम चेम्जोङले नेपाल प्रेसलाई भने ‘अन्य सीटमा सहमतिको प्रयास जारी छ ।’

१६५ निर्वाचन क्षेत्र मध्ये ७५ क्षेत्रका दुईपक्षीय र त्रिपक्षीय दाबी छ । दुई वा दुईभन्दा बढी पार्टीले सशक्त दाबी गरेका क्षेत्रका विषयमा कार्यदलले समझदारी गर्न नसकेको हो । प्रदेश १ र मधेस प्रदेशका सीटमा बढी समस्या भइरहेको उनको भनाइ छ । आज ३ बजे पुन: कार्यदल-शीर्ष नेताबीच छलफल हुने बताइएको छ ।

करिब ९० सीटमा समझदारी भएपनि दलगतरूपमा कसले कति पाउने भन्ने विषयमा साझा धारणा बन्न सकेको छैन । सम्भवतः आजै सहमति हुनसक्ने उनी बताउँछन् ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफल सहमतिनजिक पुगेको बताउँछिन् । ‘धेरै कुरामा सहमति भइरहेको छ छलफल जारी छ । आज सहमति जुट्ला’ उनले भनिन् ।

कांग्रेसले एक सय सीट दाबी गरेकोमा ९० सम्ममा झर्ने संकेत गरेको थियो । ६० सीट दाबी गरेको माओवादी केन्द्र पनि केही तल झर्न सक्ने बताइएको थियो । तर, नेकपा एकीकृत समाजवादी र जसपाले भने आफूहरूलाई सम्मानजनक सीटको माग गरेपछि समस्या भएको हो । जसपाले ३२ र नेकपा एकीकृत समाजवादीलेले ४० को दाबी गर्दै आइरहेका छन् । तर, उनीहरूलाई पनि आज मनाउने प्रयास शीर्ष नेताहरूले गर्ने जनाएका छन् ।

आज ३ बजे बस्ने शीर्ष नेता र कार्यदल बीचको छलफल ‘निर्णायक’ भनिएको छ ।

हिजो साँझ कार्यदलका सदस्यसमेत रहेका माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुनले पनि अधिकांश क्षेत्रमा सहमति भइसकेको जनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर