१६ जिल्लाका २४ सीटमा जसपाको बटमलाइन, नत्र गठबन्धनबाट बाहिरिने – Nepal Press

१६ जिल्लाका २४ सीटमा जसपाको बटमलाइन, नत्र गठबन्धनबाट बाहिरिने

काठमाडौं । मधेस प्रदेशका ३२ मध्ये कम्तीमा आधा सीट नपाए जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिने भएको छ । अध्यक्ष उपेन्द्र यादवले कार्यदलमा रहेका सदस्यहरूमार्फत गठबन्धनका शीर्ष नेतृत्वलाई समग्र तराईमा २० सीट र पहाड तथा सहरमा समेत गरी २५ सीटको माग गरेका छन् ।

यादवले बुधबार वीरगञ्जको एउटा कार्यक्रममा पनि सम्मानजनक सीट बाँडफाँट नभए एक्लै चुनाव लड्ने भन्दै त्यसको लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई आग्रह गरेका थिए । कार्यदलमा रहेका जसपाका नेताहरू रामसहाय यादव र रकम चेम्जोङले पनि पार्टीको बटमलाइन सुनाएका छन् ।

जसपाले मधेसमा एक्लै लड्दा पनि १२ सीट जित्ने भन्दै गठबन्धनमा त्यो भन्दा तल झरेर सीट लिँदा समानुपातिक मत पनि घट्ने र उम्मेदवारका आकांक्षी नेताहरु एमाले तथा अन्य पार्टीमा गएर चुनाव लड्ने खतरा उपेन्द्रले देखेका छन् । उनले स्थानीय चुनावको आँकडा समेत पेस गर्दै मधेसमा आफ्नो पार्टी कांग्रेस एमालेको हाराहारीमा रहेको बताएका छन् ।

जसपाले मधेस प्रदेशमा कम्तिमा १५ सीट दाबी गरेको छ । त्यस्तै प्रदेश १ को मोरङ, सुनसरी र धनकुटामा एक-एक सीट दाबी गरेको छ । वागमतीको काठमाडौंमा एक सीट जसपाको दाबी छ भने लुम्बिनीको पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँकेमा एक-एक सीट दाबी गरेको छ ।

जसपाले गण्डकी र कर्णालीमा प्रतिनिधिसभातर्फ सीट दाबी गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर