बजेटका विवादित विषय सच्याउन अर्थमन्त्री तयार, के-के मा हुँदैछ करका दर हेरफेर ? – Nepal Press

बजेटका विवादित विषय सच्याउन अर्थमन्त्री तयार, के-के मा हुँदैछ करका दर हेरफेर ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बजेटका विवादित विषयहरू सच्याउन सुरू गरेका छन् ।

बजेट निर्माणका बेला अर्थमन्त्रीसँग नजिक रहेको केही उद्योगी र व्यवसायीलाई ‘पोस्ने’ गरी करका दर हेरफेर गरेको भनेर ठूलो विरोध भएको थियो । तर, शर्माले भने बजेट आत्मनिर्भर र उत्पादनमूखी रहेको भनेर दाबी गर्दै आएका छन् ।

बजेट निर्माण भई कार्यान्वयनमा आएको २ महिना नपुग्दै अर्थमन्त्री शर्माले करको दर हेरफेर गर्न सुरू गरेका हुन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार खाने तेल, प्याड र जीआई वायरको कर हेरफेर हुन लागेको हो । जीआई वायरको कच्चापदार्थमा १० प्रतिशत भन्सारलाई घटाएर ५ प्रतिशत कायम गर्न लागेको हो । त्यस्तै तेल उत्पादन गर्ने कच्चा पदार्थमा रहेको १० प्रतिशत घटाएर ३ दखि ५ प्रतिशत पुर्‍याउने तयारी रहेको छ ।

चुनावका मुखमा आक्रोसित उद्योगी-व्यवसायीलाई थुमथुम्याउन करको दर हेरफेरको कसरतमा अर्थमन्त्री लागेको मन्त्रालयमै टिप्पणी हुन थालेको छ ।

सेनिटरी प्याडमा भन्सार छुट दिँदा नेपाली उद्योग बन्द हुने र बाँकी रहेका पनि बन्द हुने अवस्थामा रहेको भन्दै विरोध बढेको थियो । यस विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले समेत विरोध गरिसकेका छन् ।

स्रोतका अनुसार अर्थमन्त्री शर्माले विवादमा आएको केही वस्तुको करको दर हेरफेर गर्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका छन् ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको चलखेल बढेको बाहिरिएपछि उनले राजीनामा दिएका थिए । शर्मा संसदीय छानबिन समितिबाट ‘क्लिनचिट’ पाएपछि फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर