‘प्रदीप ज्ञवाली र गोकर्ण विष्टसँग पार्टी एकताको संवाद गरौं भन्ने हिम्मत छ ?’ – Nepal Press
नेपाल टक

‘प्रदीप ज्ञवाली र गोकर्ण विष्टसँग पार्टी एकताको संवाद गरौं भन्ने हिम्मत छ ?’

रामकुमारी झाँक्री भन्छिन्- हावा नचलेको र पानी नपरेको पनि केपी ओलीको कारणले भन्न सुहाउँदैन

कैलाली । गत वर्ष भदौ ३ गते पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेतृ रामकुमारी झाँक्रीको तस्वीर निकै भाइरल बन्यो । झन्डै पचास वर्ष आफैंले संघर्ष गरेर हुर्काएको पार्टी एमाले छोडेर नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका नेपाललाई नेतृ झाँक्रीले हात समातेर आयोग कार्यालयतर्फ डोर्‍याउँदै गरेको तस्वीर सार्वजनिक भएको थियो ।

त्यस अगाडि २०७७ माघ १६ गते गोरखाको सिरान चोकमा राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा बोल्दा २९ गते प्रहरीले उनकै निवासबाट पक्राउ गर्‍यो । सर्वत्र विरोध भएपछि पाँच घण्टा हिरासतमा राखेर प्रहरीले बयान लिएर उनलाई छोड्यो । त्यसयता उनी नेकपा एमालेविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएकी छन् ।

उनीहरूकै ढाडसले नेकपा एकीकृत समाजवादी पार्टी तयार भयो । उनी सचिव भइन् । पार्टीको तर्फबाट मन्त्रीसमेत बनिन् । नेपाललाई एक वर्ष पहिले हात समातेर आयोग पुर्‍यााएकी झाँक्री अहिले नेपालसँग रुष्ट भएका खबरहरू बाहिर आइरहेका छन् ।

मंगलबारमात्रै एमाले सचिव योगेश भट्टराईको जन्मदिनको अवसरमा झाँक्रीले लेखेको स्टाटसलाई पनि अर्थपूर्ण रूपले हेरिएको छ । ‘आफैंले कुनै महत्त्वपूर्ण निर्णय लिने वेला अभाव महसुस हुने रहेछ दाइ’ उनले लेखेकी थिइन् ।

२०५४ सालमा मालेमा लागेकी झाँक्री वामदेव गौतमसँगै २०५८ सालमा एमाले फर्किएकी थिइन् । २०६२/०६३ सालको जनआन्दोलनकी ‘पोस्टर गर्ल’ को रुपमा चर्चित रामुकमारी झाँक्रीसँग नेकपा एकीकृत समाजवादीभित्रको अवस्था र उनका पछिल्लो अभिव्यक्तिका विषयमा नेपाल प्रेसले गरेको कुराकानी :

– एमालेका सचिव योगेश भट्टराईको जन्म दिनमा तपाईंले ‘केही महत्वपूर्ण निर्णय गर्दा याद आउने रहेछ दाइ’ भन्नुभएको थियो । केही महत्वपूर्ण निर्णय लिन लाग्नुभएको हो र ?

(हाँस्दै) अहिले लिन लागेको होइन । त्यो पहिलेको कुरा हो । अहिले त निर्णय लिने वेला पनि भएको छैन । निर्णय लिने वेलामा अहिले कसलाई सोध्ने भन्ने पनि छैन । पहिले दाइहरू हुनुहुन्थ्यो भनेर मैले विगतको कुरा गरेको हो ।

हाम्रो पार्टी विभाजन हुने वेलामा पनि सबै दाइहरूसँग कुरा गरिरहेको थिएँ । योगेश दाइ आमा बितेर उता हुनुहुन्थ्यो । अरु सबैसँग म संवादमा थिएँ । तपाईंहरूले के गर्नुहुन्छ ? दश भाइमात्रै सुरक्षित हुने हो कि ? पार्टी विभाजन गर्ने हो भने सबै जाऔं, होइन भने हामीलाई कारबाही गरिएको छ । त्यो कुराको टुङ्गो छिटो गर्नुस् । माधव नेपालसहित नै पार्टीमा बस्ने वातावरण बनाऔं भनेर म धेरै नै लागिरहेको थिएँ ।

पार्टी दर्ताको पहिलो निवेदन लिएर पनि म आफैं गएको थिएँ निर्वाचन आयोगमा । त्योभन्दा पहिले पनि म दाइहरूसँग संवादमा थिएँ । तर, अब च्याप्टर क्लोज भयो भनेपछि हामी ३ बजे निर्वाचन आयोग गएका थियौं । त्यो सायद योगेश दाइ भएको भए कुनै भूमिका गर्नुहुन्छ कि भन्ने आश लागेको थियो मलाई ।

सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावललगायत पार्टी फोड्नुपर्छ भनेर त्यही राष्ट्रिय भेलामै लाग्नुभएको थियो ।

एउटा त्यो, अर्काे जति वेला जस्तो पनि निर्णय गर्नुपर्ने हुन्छ । त्यो वेला कसलाई सोध्ने भन्ने हुन्छ । टीम पनि नभएको जस्तो हुँदोरहेछ भन्ने सन्दर्भमा हिजोअस्तिको कुरा गरेको हो ।

योगेश दाइले धेरै गर्नुभएको थियो मेरो लागि । योगेश दाइ, रवीन्द्र दाइहरूलाई धेरै नै मिस गरें । राजनैतिक र वैचारिक स्तर उठाउने काम घनश्याम दाइले गर्नुभयो ।

– योगेश भट्टराईसँग त्यो वेला छलफल भएको भए अहिले सँगै हुने थियौं भन्ने आशय हो ?

योगेश दाइ पार्टी विभाजन गर्न हुँदैन भनेर लागिरहनुभएको थियो । सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावललगायत पार्टी फोड्नुपर्छ भनेर त्यही राष्ट्रिय भेलामै लाग्नुभएको थियो ।

म पनि पार्टी फोड्न हुन्न भन्नेमा लागेको थिएँ । २०५४ सालमा धेरै दुःख भएको थियो हामीलाई । त्यही भएर पार्टी नफोडौं अन्तरसंघर्ष गरौं, बरु समानान्तर गतिविधि गरौं भन्ने मान्छे हो म । अनि योगेश दाइ पनि त्यही विचारमा हुनुहुन्थ्यो ।

सुरुमै पार्टी नफोडौं भन्नुभएको हुँदा केपी कमरेडसँग दाइको संवाद अलि राम्रो थियो कि जस्तो लाग्छ मलाई । राष्ट्रपतिसँग पनि राम्रो थियो । दाइ भइदिएको भए दुर्घटनामा जानसम्म पनि केही गर्नुहुन्छ भन्ने आश लाग्थ्यो नि !

त्यो वेला माधवकुमार नेपालले संवादको लागि १० भाइ बनाउनुभएको थियो । उहाँहरूले व्यक्तिगत सेटलमेन्ट गर्नुभयो ।

– पार्टी नफोड्ने अडानमा रहेको भन्नहुन्छ । फेरि निर्वाचन आयोगमा माधवकुमार नेपालको हात समातेरै पुग्ने तपाईं नै हो नि ! पार्टी फोड्दाको उत्साह र ऊर्जा अहिले हराएको हो ?

पार्टी बनाउने वेलामा उत्साह नै थिएन । पार्टी त बाध्यताको उपज हो । त्यो वेलामा माधव कमरेडलगायत हामी १४ जनालाई पार्टीले निष्काशन गरेर संसदमा नाम टाँस्न पठाएको थियो ।

त्यो वेला माधवकुमार नेपालले संवादको लागि १० भाइ बनाउनुभएको थियो । उहाँहरूले व्यक्तिगत सेटलमेन्ट गर्नुभयो । मैले व्यक्तिगत व्यवस्थापन हेरिनँ । १४ जनाकै लागि अध्यादेश ल्याएर पार्टी विभाजन गर्नुपर्ने भयो । त्योभन्दा अर्काे उपाय थिएन । त्योभन्दा त अहिले उत्साहित छौं नि ! म मन्त्री पनि भएँ । काम पनि गर्न पाएँ । पार्टीको सचिव छु । चुनाव लड्न मलाई आऊ भनिरहनुभएको छ । एमाले नै भएको भए कहाँ मलाई गुल्मीबाट टिकट दिन्थे र ! मेरो निर्वाचन क्षेत्र हुँदैन थियो ।

– अन्तरसंघर्ष चलिहरेका वेला तपाईंका अभिव्यक्तिहरू निकै क्रान्तिकारी आउने गरेका थिए । अहिले निकै सरल छ । त्यो वेला माधव नेपालको निकट हुन चर्को रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको आलोचना गर्नुहुन्थ्यो ?

केपी कमरेडले पार्टी, सरकार सञ्चालन गर्दा उहाँको कार्यशैलीप्रति प्रश्न उठाइएको हो । त्यसपछि संसद विघटन गर्नेदेखि अध्यादेश ल्याउनेसम्मका काम भए । त्यो वेला राष्ट्रपतिले होस्टेमा हैँसे गर्न थाल्नुभएको थियो । त्यही भएर हो ।

अहिले हामी पनि जिम्मेवार भएका छौं । अहिले उहाँहरूलाई मात्र गाली गरेर अगाडि बढ्ने समय पनि त होइन । यो त आफ्ना एजेन्डाहरू अगाडि राखेर त्यसलाई प्रमाणित गर्नुपर्ने वेला हो ।

अहिले हावा नचलेको पनि केपी ओलीको कारणले र पानी नपरेको पनि केपी ओलीले जस्ता अभिव्यक्ति दिन सुहाएन नि हामीलाई । किनभने हामी आ-आफ्नो ठाउँमा जिम्मेवार छौं । हामीले राम्रो गरौं न सकियो नि कुरा । हाम्रो सरकारले चुनाव गरौं भन्यो र एमाले चुनावमा नआएको भए प्रजातन्त्रबाट भाग्छ भन्थिम । चुनावमा आयो । परिणाम राम्रो नआएपछि उहाँहरूले के के अभिव्यक्ति दिनुभयो त्यसको केही तहसम्म टिप्पणी गर्नबाहेक के छ र ?

अब गलत कुराको विरुद्ध गरेको विद्रोह हो । त्यसलाई प्रमाणित गर्ने मौका छ । हामीले प्रमाणित गरिरहेका छौं हाम्रो विद्रोह सही थियो भनेर ।

– पार्टी विभाजन बाध्यकारी कदम भन्नुहुन्छ । अहिले त्यो कदम ठीक थियो भन्ने लाग्छ कि गलत थियो भन्ने लाग्छ ?

पहिले पनि ओली कमरेडले ४० प्रतिशतमा र र वा लेखेकोमा मैले विरोध गरेको थिएँ । पछि २० प्रतिशतमा अध्यादेश ल्याएर पार्टी विभाजन गर्‍यौं । म सैद्धान्तिक रुपमा त्यो कुराको पनि विरोधमा थिएँ । तर, त्यो हाम्रो बाध्यता थियो ।

एमाले नै भएको भए कहाँ मलाई गुल्मीबाट टिकट दिन्थे र ! मेरो निर्वाचन क्षेत्र हुँदैन थियो ।

बीचमा एमालेले ९ महिना परमादेशी सरकार भन्ने र परमादेशी संसद भन्दै बिजनेस गर्न दिनुभएन । उहाँहरू पनि अहिले सुधार हुँदै आउनुभएको छ । पार्टी एकताको लागि एक–दुई जना कमरेडले कुरा पनि गर्नुभएको थियो । तर, ओली कमरेडले अहिले वेला भएको छैन भनेर फर्काइदिनुभएको भन्ने पनि सुनेका थियौं । त्यसकारणले अहिले एमालेसँग पार्टी एकता, कार्यगत एकता, मोर्चा वा गठबन्धन भन्ने कुरा समाजवादीको लागि सम्भव नै छैन ।

– २०५४ को परिणामले माले र एमाले चाँडै एक भएको पनि भनिन्छ । तपाईं त्यसको भुक्तभोगी हुनुहुन्छ । अब प्रतिनिधिसभा र प्रदेशसभाको परिणामले पनि एमाले र नेकपा एकीकृत समाजवादीलाई एक बनाउन सक्ला ?

भविष्यमा हुनसक्ला । तर, तत्काललाई हुन सक्दैन । एमालेले अघिल्लो वर्ष वैशाख २७ गते विश्वासको मत लिन आवश्यक थिएन । नीति तथा कार्यक्रम आउने वेलामा विश्वासको मत लिनुपर्ने कारण नै थिएन । विश्वासको मत लिएन । नपाइसकेपछि सरकारको विकल्प सुरु भएको हो । विश्वासको मत लिने कुरा नै राजनैतिक रूपले गलत कदम थियो ।

– एमालेभित्र घनश्याम भुसाललगायतले वाम तालमेलको प्रसङ्ग ल्याइरहेका वेला एकीकृत समाजवादीभित्र यस्तो बहस भइरहेको छ कि छैन ?

अहिले त्यस्तो प्रकारको बहस भइरहेको छैन । किनभने गठबन्धनभित्र संवाद भइरहेको छ । सरकारमा विश्वासका हौं । एउटा निर्वाचनमा हामी सहभागी भइसकेका छौं । कुनै व्यक्तिले कुनै छलफल गरेको भए थाहा छैन । तर, औपचारिक रुपले एमालेका नेताहरुसँग संवाद भएको छैन ।

– गुल्मीमा एकीकृत समाजवादी एमालेमा समाहित भएको कुरा आएको थियो । कञ्चनपुरमा पूर्वमन्त्रीहरु नै एमाले फर्किए । तपाईंहरूलाई त आफ्नै नेता-कार्यकर्ता जोगाउन नै ठूलो सकस भइरहेको छ नि हैन ?

गुल्मीमा एमाले पृष्ठभूमिभन्दा फरक वामदेव पृष्ठभूमिबाट आउनुभएको कमरेड केन्द्रीय सदस्य हुनुभएको थियो । उहाँ एमालेमा फर्किनुभएको उहाँको व्यक्तिगत निर्णय हो । अर्काे कुरा जो अध्यक्ष हुनुभएको थियो । उहाँ अध्यक्ष भए पनि एउटा पनि वडा कमिटी बनाउनुभएको थिएन ।

अहिले एमालेसँग पार्टी एकता, कार्यगत एकता, मोर्चा वा गठबन्धन भन्ने कुरा समाजवादीको लागि सम्भव नै छैन ।

करिब एक महिनादेखि म गाउँमा छु । मेरो स्पिडमा हिँड्न नसकेपछि हतारहतार एमालेमा गएको हो कि जस्तो पनि लाग्छ । हिजो जे कारणले हामीले एमालेमा विद्रोह गरेका थियौं, त्यो कुरामा सुधार नभई हामी एमालेमा जानु भनेको त शक्तिको राजनीति गर्ने कुरा हो । एउटा इन्चार्ज र एउटा अध्यक्ष गएको हुँदा कमिटी गएको भनिएको हो । तर, कार्यकर्ता गएका छैनन् ।

अर्काे रमाइलो कुरा सुन्नुहुन्छ ?

– भन्नुस् न !

एमालेले हाम्रो पार्टीलाई पार्टी नै स्वीकार गरेको छैन । महाधिवेशनमा ठेगाना थाहा नभएको पार्टी आदि इत्यादि भनेको थियो । अवैधानिक पार्टी भनिरहेको छ । परमादेशी पार्टी भनिरहेको छ । गुल्मीको सम्भावित परिणामबाट हतोत्साही भएर दुई जना मान्छे जाँदा समाजवादीलाई पार्टी स्वीकार गरेर पार्टी एकता भन्न तयार हुनुभयो । यो पनि हतास मानसिकताको परिणाम हो ।

जिल्लाबाट कही पार्टी एकता घोषणा हुन्छ ? दुनियाँमा कही भएको छ ? यो केन्द्रीय रणनीति हो र पार्टी एकता गर्न चाहनुहुन्छ भने संवाद गर्नुहोस् न त । उपमहासचिव, सचिव हुनुहुन्छ ल संवाद गर्नुहोस् । म पनि सचिव छु । चुनाव अगाडि वा पछाडि संवाद गरौं भन्ने हिम्मत छ त ? त्यो चाहिँ छैन । अनि निर्वाचनमा कार्यकर्ता वा जनतालाई यसो भ्रमित गर्न उहाँहरूले पार्टी एकताको यो तहसम्मको नाटक मञ्चन नगरेको भए पनि हुने थियो ।

– तपाईंले चुनौती नै दिनुभयो । विष्ट र ज्ञवालीले संवाद सुरु गरेपछि तपाईंहरू संवाद गर्न तयार हुनुहुन्छ ?

अहिले त्यो जरुरी नै छैन । संवाद गर्ने म्यान्डेट मलाई पार्टीको केन्द्रीय कमिटीले दिएको पनि छैन । हाम्रो पार्टीले त्यस्तो निर्णय पनि गरेको छैन । त्यही कारणले अहिले हाम्रो संवाद गर्ने ठाउँ नै छैन । तर, संवाद गर्न सकिन्छ नि ! संवाद गर्दैमा बिग्रिने केही होइन । तर, अहिले त्यो बाटोमा हामी छैनौं ।

व्यक्तिगत रुपमा मैले कुनै निर्णय लिँदै गरेको छैन, लिने सोचेको पनि छैन र लिँदा पनि लिन्न ।

– तपाईं र माधवकुमार नेपालको सम्बन्ध बिग्रेको हो ?

एकदमै नहुने कुरा मिडियामा गइरहेपछि तिमी बोलेकी छौं कि भन्दा अहिले बोलेको छैन भन्ने जस्ता कुरालाई ल्याएर स्टनबाजी भइरह्यो मेरो लागि । यो पनि दुःखद कुरा हो । अध्यक्षसँग किन सम्बन्ध बिग्रिनु ? हामीले एक वर्ष पहिले यति दुःख गरेर बनाएको पार्टी हो । हामीले विद्रोह सावित गर्ने वेलामा त्यस्तो त हुनै सक्दैन ।

अहिले पनि हामी संवादमा छौं, छलफलमा छौं । के गर्ने, कसो गर्ने, प्रदेशमा को-कोलाई उठाउने, समानुपातिकमा कसलाई राख्ने, समानुपातिक मत कति पाउन सकिन्छ ? यी सबै काममा छलफल भइरहेको छ ।

– गुल्मीको एक कार्यक्रममा एमाले सम्झेर रोएको प्रसङ्ग, एमाले सचिव भट्टराईलाई जन्मदिनमा लेखेको विषय र माधव नेपालसँग सम्बन्ध बिग्रेको हल्ला यी कुराले तपाईं एमाले प्रवेश गर्न खोज्नु भएको चर्चा छ नि !

व्यक्तिगत रुपमा मैले कुनै केही निर्णय गर्ने कुरा छैन । भोलि जे हुन्छ पार्टीबाटै टीममा हुन्छ । माधव कमरेडलगायत देशभरि जो हामी विद्रोहमा थियौं, उहाँहरूको भावनाभन्दा बाहिर गएर व्यक्तिगत रुपमा कुनै निर्णय लिने न सम्भावना छ न त लिने कुरा राम्रो हो ।

भोलि पार्टी एकता भयो भने त्यो अर्कै कुरा हो । व्यक्तिगत रुपमा मैले कुनै निर्णय लिँदै गरेको छैन, लिने सोचेको पनि छैन र लिँदा पनि लिन्न ।


प्रतिक्रिया

2 thoughts on “‘प्रदीप ज्ञवाली र गोकर्ण विष्टसँग पार्टी एकताको संवाद गरौं भन्ने हिम्मत छ ?’

  1. अब यिन्को एमाले प्रवेस को बाटो बन्द भै सक्यो यिन्को अराजक सैलि नै यिन्को बाधक हो , राम कुमारि को एमाले भित्र गर्ने राजनिति समाप्त भयो भो अब सपना नदेख !

    1. कुरा गलत होइन तर माग्न आउने भिक्षुलाई दान नदिनु पनि अल्लि खल्लो हुन्छ

Leave a Reply to नेपालि छोरो Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर