एनटीसी, एनसेल र डिसहाेममा बिटक्वाइनबाटै भुक्तानी ! राष्ट्र बैंक बेखबर – Nepal Press

एनटीसी, एनसेल र डिसहाेममा बिटक्वाइनबाटै भुक्तानी ! राष्ट्र बैंक बेखबर

काठमाडौं । नेपालमा बिटक्वाइनलगायतका क्रिप्टोकरेन्सीलाई कानूनले वैधता दिएको छैन । नेपाल राष्ट्र बैंकले बारम्बार सूचना निकाल्दै क्रिप्टो कारोबारमा संलग्न नहुन सचेत गराइरहेको छ । नेपालमा मात्रै नभएर विदेशमा रहेको नेपालीले समेत क्रिप्टो कारोबार गर्न पाउँदैनन् ।

तर, सरकारी नीति-नियमविपरीत देशका दुई ठूला दुरसञ्चार सेवा प्रदायक कम्पनीहरूले बिटक्वाइनबाट भुक्तानी सुविधा दिइरहेको हामीले फेला पारेका छौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलले अवैधरूपमा बिटक्वाइनलाई मान्यता दिएको पाइएको हो । अत्यन्तै अपारदर्शी रुपमा दिइएको यस्तो सुविधाबाट ठूलो परिमाणमा कर छली भइरहेको छ । एनटीसी र एनसेलले रिचार्जलगायतका प्रयोजनमा बिटक्वाइन स्वीकार्न थालेको विषयमा नियामक निकाय राष्ट्र बैंकलाई थाहापत्तो छैन ।

क्रिप्टो कारोबार हुने ‘बिनान्स’ नाम एपमा जोडिएर नेपाल टेलिकम, एनसेल र स्मार्टसेलले बिटक्वाइनमा भुक्तानी सेवा दिएका हुन् । उक्त एपले बकाइदा ती कम्पनीहरूको लोगो राखेर प्रचारसमेत गरेको छ । टेलिभिजन सेवाप्रदायक डिसहोममा पनि बिटक्वाइनबाट भुक्तानी गर्न सकिने उल्लेख छ ।

एनसेलको लोगो राखेर भनिएको छ, ‘एनसेलमा बिटक्वाइन र एनसेलको प्रयोग गर्नुहोस् । कुनै एकाउन्ट आवश्यक पर्दैन । क्रिप्टोमा बाँच्न थाल्नुहोस् ।’

यसमा आफ्नो मोबाइल नम्बर राखेर तोकिएको रकम बिटक्वाइनमार्फत भुक्तानी गर्न सकिन्छ । यसबाट रिचार्जका साथै विभिन्न डाटा प्याकहरु खरिद गर्न पनि सकिन्छ । हामीले परीक्षणका लागि बिटक्वाइनबाट एनसेलको सिममा रिचार्ज गर्दा त्यो सफल भयो । यसको अर्थ बिट क्वाइनलाई एनसेलले स्वीकार गरिरहेको स्पष्ट छ ।

हामीले यस विषयमा एनसेलका आधिकारिक व्यक्तिसँग बुझ्न खोज्दा कोही पनि बोल्न चाहेनन् ।

नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलले एनसेल र एनटीसीले बिटक्वाइनबाट भुक्तानी लिइरहेको विषयमा अनभिज्ञता दर्शाए । बिटक्वाइन नेपालमा अवैध भएकाले यसमार्फत भुक्तानी गर्न नपाइने उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा विटक्वाइन अवैध हो । कसैले प्रयोग गरेको भए हामी कारबाही छौं । कारोबारको जानकारी पाउनसाथ पेमेन्ट सिस्टम डिपार्टमेन्टलाई जानकारी गराएर तत्कालै कारवही हुन्छ ।’

यता, नेपाल टेलिकमका सहप्रवक्ता रणजीत लोहियाले पनि विटक्वाइनबाट एनटीसीको सिम कार्डमा ब्यालेन्स हाल्ने सुविधा दिइएको आफूलाई जानकारी नभएको बताए ।

उनले उल्टै हामीलाई भने, ‘कसरी बिटक्वाइनबाट एनटीसीमा ब्यालेन्स हालिन्छ, तपाईंलाई थाहा छ भने जानकारी दिनुस् न ।’

ई-सेवाको पनि दुरुपयोग

बिटक्वाइनलगायत क्रिप्टो कारोबार गर्ने सयौं एप छन् । तीमध्येको एउटा हो बिनान्स । योजस्तै अरु एपहरूबाट पनि नेपालमा क्रिप्टोको धन्दा भइरहेको हुन सक्छ । जुन खोजको विषय हो ।

अब प्रश्न उठ्छ, नेपालीहरूले बिटक्वाइन पाउँछन् कहाँबाट ? हामीले खोजी गर्दा यसमा नेपालको चर्चित पेमेन्ट गेटवे ई-सेवासमेत दुरुपयोग भइरहेको पाइयो । इसेवामार्फत जोकोहीले सहजैरूपमा बिटक्वाइनको लेनदेन गर्न सक्ने रहेछन् ।

ई-सेवामा नेपाली पैसा लोड गरेर एयरटिएम नामक अन्तर्राष्ट्रिय वालेटमा जोडिएर बिटक्वाइन खरिद गर्न सकिन्छ । यस्ता धेरै अन्तर्राष्ट्रिय वालेटको प्रयोगबाट बिटक्वाइन र अन्य क्रिप्टाे नेपालबाट खरिद गर्न सकिने अवस्था छ । अन्तर्राष्ट्रिय वालेटमा ई-सेवा आईडी हालेपछि यसमा भएको आफ्नो ब्यालेन्स बराबर बिटक्वाइन किन्न सकिन्छ । त्यो किनेको बिटक्वाइनबाट एनटीसी र एनसेल मात्र नभएर डिसहोमका सेवाहरूका निम्ति पनि भुक्तानी गर्न सकिने बनाइएको छ । आफूले किनेको बिटक्वाइन पनि यही प्रक्रियाबाट बिक्री गर्न सकिन्छ ।

के छ कानूनमा ?

राष्ट्र बैंक ऐन २०५८ मा बिटक्वाइनलगायत क्रिप्टो कारोबारमा ७ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ । ऐनको दफा ९५ अनुसार बिगो जफत, बिगोको तीन गुणासम्म जरिबाना वा सात वर्ष कैद वा दुवै सजाय हुने उल्लेख छ । पछिल्लो समय प्रहरीले क्रिप्टो कारोबारीमाथि कारबाही बढाइरहेको छ । तर, सरकारी निकायले नै यसरी बिटक्वाइनलाई मान्यता दिइरहँदा न प्रहरीले थाहा पाएको छ, न नियामक निकायले ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर