१६५ सीट बाँडफाँटको प्रतिवेदन लगभग तयार- लोसपासहित कांग्रेसलाई आधा, अरुलाई कति ? – Nepal Press
गठबन्धन कार्यदल

१६५ सीट बाँडफाँटको प्रतिवेदन लगभग तयार- लोसपासहित कांग्रेसलाई आधा, अरुलाई कति ?

काठमाडौं । सत्तागठबन्धनमा सीट बाँडफाँटलाई निष्कर्षमा पुर्‍याउने गरी कार्यदलको बैठक साँझ ६ बजे बस्दैछ । आजको ‘अन्तिम’ बैठकले भागबण्डा टुंग्याउँदै प्रतिवेदन तयार पार्नेगरी कार्यदलका सदस्य जुटेका छन् ।

सोमबारको बैठकले १६५ वटै निर्वाचन क्षेत्रका बारेमा छलफल गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अहिलेसम्म २०७४ को संसदीय र भर्खरै सकिएको स्थानीय चुनावको परिणामलाई आधार मानेर कुन क्षेत्रमा कसको के पोजिसन छ भन्नेबारे कार्यदलले सरसर्ति प्रतिवेदन बनाएको छ ।

आजको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिने र शीर्ष नेतासमक्ष भोलि पेस गर्नेछ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार प्रदेशसभाको समेत सीट बाँडफाँट गरेर सार्वजनिक गर्ने तयारीमा कार्यदल जुटेको छ ।

स्रोतका अनुसार गठबन्धन दलबीच १६५ मध्ये कांग्रेसले आधा र अन्य दलले आधा सीट पाउनेगरी संख्या तथा निर्वाचन क्षेत्रमा सहमति भएको छ ।

यसअघि नेपाल प्रेसले अनौपचारिक मस्यौदा आइतबार सार्वजनिक गरेको थियो । कांग्रेसले ८६ सीट वरपर पाउने भएको छ । यसमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका लोसपा नेतालाई समर्थन जनाउने/जिताउने गरी कांग्रेसले नै बाँड्नुपर्नेछ ।

त्यस्तै माओवादीलाई (नेसपा) बाबुराम भट्टराई, महिन्द्रराय यादव, वामदेवसहितलाई ४४ सीट, नेकपा एसलाई १८ सीट, जसपालाई १२ र राजमोलाई १ सीट प्रस्ताव गरिएको छ ।

माधव नेपालले कांग्रेसलाई ७० सीटमा लड्न देउवालाई आग्रेह गरेका थिए । त्यस्तै प्रचण्डले कांग्रेस ८२, अरु दल ८३ सीट बाँडौं भनेर प्रस्ताव गरेको बताइएको छ ।

कांग्रेस सय सीटकै औपचारिक अडानमा छ । तर, देउवाले कार्यदल सदस्यहरूलाई लचिलो हुन संकेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर