घरेलु मैदानमा साफ च्याम्पियन बन्न उत्साही नेपाली महिला फुटबल टोली – Nepal Press

घरेलु मैदानमा साफ च्याम्पियन बन्न उत्साही नेपाली महिला फुटबल टोली

काठमाडौं । नेपाली फुटबल टोलीले पछिल्लो ७/८ वर्षमा थुप्रै अन्तर्राष्ट्रिय उपाधि जितेको छ । तर, क्षेत्रीय गर्वको रूपमा रहेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिपको भने उपाधि खडेरी भने नेपालले अझैसम्म चिर्न सकेको छैन ।

नेपाली महिला र पुरुष दुवै टोलीले नेपाललाई हालसम्म साफ च्याम्पियन बनाउन सकेका छैनन् । मंगलबारदेखि दशरथ रंगशालामा सुरू हुन लागेको साफ च्याम्पियनसिपदेखि नेपाली महिला टोली उत्साही देखिन्छ । नेपाललाई पहिलोपटक साफ च्याम्पियन बनाउन उनीहरू आतुर देखिन्छन् ।

साफ महिला च्याम्पियनसिप आयोजना हुन थालेको १२ वर्ष बितिसक्दा नेपाल प्राय हरेकपटक फाइनल पुगेको छ। हालसम्म पाँच संस्करण आयोजना भएकामा नेपाल चारपटक फाइनल पुगेको छ। ती सबैमा भारतले नेपाललाई निराश बनाएको थियो ।

सन् २०१६ मा आयोजित संस्करणमा भने नेपाल फाइनल पुग्न सकेको थिएन । सन् २०१९ मा नेपालमै आयोजना भएको पछिल्लो संस्करणमा नेपाल फाइनलसम्म त पुगेको थियो तर उपाधि भिडन्तमा भारतसँग ३-१ गोलले पराजित भएको थियो। साफ महिला च्याम्पियनसिप हालसम्म भारतबाहेकले जित्न सकेका छैनन् ।

दर्शक नेपाली महिला फुटबल टिमलाई साफ जिताउने आधार बन्न सक्छन्…..

ललितपुरस्थित चर्च ब्वाइजको मैदानमा भइरहेको नेपाली टोलीको तयारीबाट फुर्सद निकाल्दै मुख्य प्रशिक्षक कुमार थापा यसपटक आफू आशावादी रहेको बताइरहेका थिए । तर, त्यसका लागि समर्थकको बलियो साथ आवश्यक रहने उनको भनाई थियो ।

‘नेपालमा महिला फुटबलको संरचना नै राम्रो छैन । सबैले हेला गर्छन् । जिम्मेवार निकाए गम्भिर नै हुँदैनन् । इङल्यान्डलाई यूरो उपाधि जित्न समर्थकको सपोर्ट कति थियो ? हामीले दशरथ रंगाशालामा मंगलबारदेखि सुरू हुने साफ च्याम्पियनसिपमा पनि त्यस्तै समर्थन अपेक्षा गरेका छौं’, प्रशिक्षक थापाले भने ।

दर्शकको उपस्थितिले खेलमा ठूलो महत्व राख्छ । खेलाडीलाई हौसला मिल्छ, विपक्षीलाई दबाब हुन्छ । सन् २०१९ मा विराटनगरमा आयोजना भएपछि फेरि महिला सफ च्याम्पियनसिप नेपालले आयोजना गर्न लागेको हो ।

दोस्रो पटक घरेलु मैदानमा आयोजना भएको साफको उपाधि यसपटक घरमै राख्न र जितको स्वाद चाख्न आतुर छ नेपाली टिम ।

पहिलो संस्करणदेखि खेलिरहेका कतिपय खेलाडीका लागि यसपटकको प्रतियोगिता करिअरकै अन्तिम प्रतियोगिता पनि भएकाले उनीहरू यसलाई स्मरणीय बनाउन चाहन्छन् । प्रशिक्षक थापा स्वयंका लागि पनि करिअरको यो अर्को परीक्षा हुनेछ । उनी दोस्रोपटक नेपाली टोलीलाई साफ च्याम्पियनसिपमा प्रशिक्षण गर्दैछन् । विसं २०७३ सालमा भारतको सिलगुडीमा आयोजना भएको चौथो संस्करणको साफमा थापाले नै नेपालको प्रशिक्षण सम्हालेका थिए । त्यतिबेला नेपाली टोली सेमिफाइनलबाटै बाहिरिएको थियो ।

थापा भन्छन्,‘मैले पुनर्जीवन पाएको छु । आफूलाई प्रमाणित गर्नुछ ।’

उनलाई लाग्छ मान्छे सधैँ सफल हुँदैन । अघिल्लो कार्यकाल आफूलाई त्यस्तै भएको थापाालाई लाग्छ । ‘मैले केही कोसिस गरेको थिएँ तर त्यतिबेला अगाडि नै एउटा गाह्रो बाटो आयो मैले पार गर्न सकिनँ । त्यहीँ ठोक्किएर लडेँ । तर, हिम्मत हारिनँ। फेरि नेपाली टोलीमा फर्किएको छु’, थापाले भने ।

तीन नयाँ अनुहार र तीन खेलाडीको पुनरागमनसहित २३ सदसीय टिम अहिले साफका लागि अन्तिम तयारी गरिरहेको छ । कप्तान रेनुका नगरकोटी र पूजा रानाजस्ता मुख्य सदस्यलाई गुमाएपनि नयाँ खेलाडीले त्यो स्थान परिपूर्ति गर्नेमा प्रशिक्षक विश्वस्त छन् ।

नेपालका लागि मुख्य स्ट्राइकर सावित्रा भन्डारी, रेखा थापा र पुनम जर्घा मगरले टिममा पुनरागमन गरेका छन् भने, अमिसा कार्की, समीक्षा घिमिरे र दिपा शाहीले राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाएका छन् ।

पुनरागमन गरेका खेलाडी र नयाँ खेलाडी सबैको लक्ष एउटै छ, भारतलाई जित्ने अनि उपाधि उचाल्ने । उनीहरू घरेलु मैदानमा समर्थकको घुइँचो लागेका देख्न चाहन्छन् । उनीहरूलाई थाहा छ- समर्थक यसपटक नेपाली टोलीको अतिरिक्त शक्ति हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर