राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा मंसिरमा सार्वजनिक हुने – Nepal Press

राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा मंसिरमा सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा आगामी मंसिर अन्तिम हप्ता सार्वजनिक हुने भएको छ ।

जनगणना प्रक्रियाअन्तर्गत यसअघि देशभर खटिएका गणक र सुपरभाइजरबाट सङ्कलित तथ्याङ्क प्रशोधन गर्ने काम करिब अन्तिम चरणमा पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले तथ्याङ्क प्रशोधनको काम ९५ प्रतिशत सकिएको र अब बागमती प्रदेशको भक्तपुर, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन गरी चार जिल्लाको मात्र रहेको जानकारी दिए ।

विभागले तथ्याङ्क प्रशोधनका क्रममा १२ कक्षा उत्तीर्ण गरी कम्तीमा तीन महिना कम्प्युटर तालिम लिएका ४०० नेपाली नागरिकलाई नियुक्त गरी गत चैत महिनादेखि काम गर्दै आएको छ । प्रत्येक सिफ्टमा २०० जनाका दरले हरेक दिन बिहान ६ः३० बजेदेखि दिउँसो १२ः३० बजेसम्म छ घण्टा र त्यसपछि बेलुका ६ः३० बजेसम्म प्रशोधनको काम विभागको केन्द्रीय कार्यालय, थापाथलीमा भइरहेको छ । पहिलोपटक यसरी विभागमा भएको प्रशोधनको काम आगामी असोज महिनामा सम्पन्न हुनेछ ।

यसअघि गणक र सुपरभाइजरको भूमिका निर्वाह गरेका अनुभवी व्यक्तिलाई प्रशोधन प्रक्रियामा प्राथमिकता दिइएको जानकारी दिँदै निर्देशक लामिछानेले प्रशोधन कार्यमा खटिने जनशक्तिलाई कम्प्युटरमा एक अङ्क प्रविष्ट गरेवापत तीन पैसाका दरले पारिश्रमिक दिने गरेको बताए । विभागको प्रत्यक्ष निगरानीमा प्रशोधनकार्य भइरहेको र कम्प्युटर छिटो चलाउने प्रशोधनकर्ताले महिनामा रु ५० हजारसम्म पारिश्रमिक बुझ्ने गरेको विभागले जनाएको छ ।

राष्ट्रिय जनगणनाका क्रममा केही विवरण छुटेको वा कमीकमजोरी भएको भनी विभिन्न जात, जाति, वर्ग, समुदायको तर्फबाट सुझावसहित विभागमा निवेदन परेकाले त्यसतर्फ आवश्यक छानविन गरी मतगणना प्रक्रियालाई अन्तिमरूप दिन विभाग लागिपरेको छ ।

राष्ट्रिय योजना आयोगका सचिवको अध्यक्षतामा जात, जाति, धर्म, समुदायसम्बद्ध संवैधानिक आयोगसहित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि सदस्य रहने समितिले उजुरी/निवेदनका बारेमा छानविन गरी निर्णय गर्ने कानूनी व्यवस्था रहेको निर्देशक लामिछानेले जानकारी दिए । उक्त प्रक्रिया पूरा भएपछि जारी राष्ट्रिय जनगणना, २०७८ को अन्तिम नतिजा विभागले सार्वजनिक गर्नेछ ।

हरेक १० वर्षमा एकपटक हुने जनगणनाको शृङ्खलामा राष्ट्रिय जनगणना, २०७८ नेपालको १२औँ र २०७२ को संविधान जारी भएपछि सङ्घीय गणतान्त्रिक प्रणालीको पहिलो गणना हो ।

विभागले यसअघि भर्चुअल माध्यमबाट गत माघ महिनामा जनगणना, २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसङ्ख्या दुई करोड ८१ लाख ९२ हजार रहेको जनाएको छ । विसं २०६८ मा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार रहेको थियो । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *