फनपार्कले तिनुपर्ने करबारे महानगर नै अनभिज्ञ, समाजकल्याणलाई तिरिसकेको सञ्चालकको दाबी – Nepal Press

फनपार्कले तिनुपर्ने करबारे महानगर नै अनभिज्ञ, समाजकल्याणलाई तिरिसकेको सञ्चालकको दाबी

काठमाडौं । काठमाडौं महानगरपालिकाले बक्यौता कर तिर्नका लागि २४ घण्टे अल्टिमेटम दिएकोमा भृकुटीमण्डपस्थित फन पार्कका सञ्चालकले आश्चर्य व्यक्त गरेका छन् । आफूहरुले महानगरलाई एक रुपैयाँ पनि कर तिर्न बाँकी नभएको फन पार्कका सञ्चालक रवीन्द्र गुरुङले बताए ।

आज महानगरको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले फन पार्कलाई पत्र लेख्दै महानगरको बक्यौता कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) २४ घन्टाभित्र बुझाउन चेतावनी दिएका थिए । यदि तोकिएको समयभित्र बक्यौता नतिरेको खण्डमा फन पार्क नै सिल गरिदिने चेतावनी पत्रमा दिइएको छ ।

‘व्यवसाय कर र वहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन कर तथा मनोरञ्जन कर महानगरपालिकाका राजश्व विभाग बबरमहलमा गई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सोको लाग्ने जरिवाना समेत दाखिला गर्न हुन अनुरोध छ’, महानगरको पत्रमा भनिएको छ ।

तर सञ्चालक गुरुङले भने प्रत्येक महिना सबै प्रकारको कर र भाडा समाजकल्याण परिषदलाई बुझाउने गरिएको बताए । महानगरले भनेका कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) कर तथा भाडा गरी परिषदलाई मासिक ६ लाख १० हजार ५० सय रुपैयाँ तिर्दै आएको उनको भनाइ छ ।

गुरुङले थपे, ‘हामीले जग्गा पनि समाज कल्याण परिषद्सँग नै लिएका हौं । भाडा र सबै प्रकारको कर गरी ६ लाख १० हजार ५ सय भाडा बुझाउने गरेका छौं । महानगरले के गर्न खोजेको हो थाहा भएन ।’

उनले भोलि महानगर गएर विगतमा भएको सम्झौताअनुसार भाडा र कर तिरेको प्रमाण पेश गर्ने जानकारी दिए ।

‘पहिलो पक्ष समाजकल्याण परिषद र दोस्रो पक्ष हामीबीच भएको सम्झौताअनुसार नै फन पार्कले भाडा र कर तिरिरहेको छ,’ गुरुङले भने ।

समाज कल्याण परिषद् स्रोतले पनि फनपार्कले मासिक ६ लाख १० हजार ५ सय रुपैयाँ तिरिरहेको पुष्टि गर्यो । यस रकमबाट महानगरलाई कर तिर्न खोज्दा महानगरले नलिएको स्रोतको दाबी छ ।

स्रोतले भन्यो, ‘हामीले महानगलाई कर तिर्न खाज्दा महानगले लिन नै मान्दैन । अघिल्लो वर्षको कर तिर्नका लागि महानगरलाई खाता नम्बर समेत मागेका थियौं । तर राजाको पालदेखिको कर तिर भन्छ । के आधारले कर मागिरहेको हो भन्ने नै बुझ्न गाह्रो भएको छ ।’

महानगपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्लेले भने फन पार्कले सुरुदेखि नै विभिन्न प्रकारको कर नतिरेकाले पत्र काटिएको बताए । तर, कति रकम कर बक्यौता छ भन्ने खुलाएनन् ।

उनले भने, ‘सुरुदेखि नै फन पार्कले कर तिरेको छैन । अहिले यति नै रकम कर तिर्नुपर्ने छ भन्न सकिदैन । उसले सम्झौता गरेको पत्र लिएर आएपछि रकम एकिन होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर