प्रतिनिधिसभा सीट बाँडफाँट- रामेछापमा माओवादीबाट लीलामणिको चर्चा – Nepal Press

प्रतिनिधिसभा सीट बाँडफाँट- रामेछापमा माओवादीबाट लीलामणिको चर्चा

काठमाडौं । गठबन्धनको सीट बाँडफाँट कार्यदलमा बनेको मापदण्ड अनुसार रामेछापको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नेकपा (माओवादी केन्द्र) को भागमा पर्ने निश्चित भएपछि त्यहाँ केन्द्रस्तरकै नेता उम्मेदवार बनाएर पठाउनेबारे अनौपचारिक छलफल भएको छ ।

तुलनात्मकरूपमा माओवादीको देशभरकै राम्रो मताधार भएको क्षेत्रमा रामेछाप पनि पर्छ । हालैको स्थानीय तह निर्वाचनमा वडा तहमा पाएको मतका आधारमा माओवादी २७ हजार ८२९ मतसहित तेस्रो स्थानमा छ । उसले जिल्लाका ६४ मध्ये १५ वडाध्यक्ष जितेको छ ।

जिल्लामा ३८ हजार ८६७ मत वडा तहबाट एमालेको पक्षमा आएको छ भने कांग्रेसको पक्षमा ३८ हजार ७४३ मत छ । दुवै दलले बराबरी २४/२४ वडा जितेका छन् । नेकपा एसले एउटा वडाध्यक्ष जितेको छ ।

कांग्रेस र एमालेले तीन तीनवटा पालिका प्रमुख जित्दा माओवादीले २ पालिका जितेको छ । यस हिसाबले पनि रामेछापलाई माओवादीले आफ्नो प्रभावक्षेत्रका रूपमा लिने गरेको छ । गठबन्धनमा प्रतिनिधिसभाको सीट आफ्नो भागमा नआउने बुझेरै कांग्रेसका जिल्ला नेताहरु प्रदेशसभाको टिकटका लागि दौडधूप गरिरहेका छन् ।

यता राम्रो मत रहेको रामेछापमा स्थानीय अन्तरविरोधको समेत हल हुनेगरी केन्द्रीयस्तरकै नेतालाई उम्मेदवार बनाएर पठाउनेबारे माओवादी नेताहरुबीच अनौपचारिक छलफल भएको स्रोतले जनाएको छ । पार्टीबाहिरबाट समेत रामेछापका शीर्ष तहका नेता पठाए जिताउन सकिने सुझाव आएको एक पदाधिकारीले बताए ।

रामेछापमा उम्मेदवार बनाउने पहिलो नाम माओवादी केन्द्रका सचिव तथा प्रभावशाली नेता लीलामणी पोखरेलको आएको छ । पोखरेलले तत्कालीन एकता केन्द्र मसाल र त्यसको चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपालको महासचिवका रूपमा रामेछापका धेरै गाउँ र वडा तहसम्म पुगेर संगठन गरेका छन् ।

पोखरेल रामेछापमा परिचित नेता हुन् । माओवादीले जितिरहेका सुनापति र दोरम्बा गाउँपालिकामा युद्धकालीन माओवादीको भन्दा जनमोर्चा समूहको मत बढी रहेको मानिन्छ । यसपटक गाउँपालिकामा साबिक जनमोर्चा समूहलाई निषेध गरेर टिकट दिइएकोले झण्डै विद्रोहसमेत भएको थियो । पूर्वजनमोर्चा समूह असन्तुष्ट बनेको थियो ।

जिल्ला संयोजक मैनकुमार मोक्तानले गाउँपालिका अध्यक्ष हार्ने भएपछि अन्तिममा कांग्रेससँग गठबन्धन गरेर माओवादीले झिनो मतान्तरले दोरम्बा गाउँपालिका जितेको थियो । प्रतिनिधिसभा निर्वाचनमा लीलामणी पोखरेललाई उम्मेदवार बनाएर पठाउँदा जिल्लाको अन्तरविरोध पनि हल हुने र पूर्वजनमोर्चा समूहको माग पनि सम्बोधन हुने आँकलन छ ।

रामेछाप (साबिक २ नम्बर क्षेत्र) मा २०४८ सालमा जनमोर्चाबाट कमल चौलागाईँले जितेका थिए । त्यसयता एमालेले २०५६ मा तत्कालीन संयुक्त जनमोर्चाका अध्यक्ष अमिक शेरचनलाई समर्थन गरे पनि जित निकाल्न सकेको थिएन । २०५६ मा लीलामणि पोखरेल सिन्धुलीबाट निर्वाचित भएक थिए ।

पोखरेलले काठमाडौं २ मा पनि दाबी गरेका छन् । तर, यहाँ झक्कु सुवेदी उम्मेदवार बन्न खोजिरहेका छन् । उनले २०६४ सालमा यहि क्षेत्रमा माधव नेपाललाई पराजित गरेका थिए । लीलामणि पोखरेलको लागि काठमाडौं २ भन्दा रामेछाप अनुकूल हुने नेताहरू बताउँछन् ।

जिल्लामा हालका सांसद श्यामकुमार श्रेष्ठ, केन्द्रीय सदस्य युवराज चौलागाई, २०६४ सालको संविधानसभा सदस्य तारानारायण श्रेष्ठ, लक्ष्मी गुरुङ, धावा लामा, डिल्लीमान तामाङलगायतका नेता प्रतिनिधिसभा सदस्यका दाबेदार छन् । एकले अर्कोलाई अश्वीकार गर्ने अवस्था रहेकाले केन्द्रबाटै नेता पठाउन कतिपयले सुझाव दिएको ती पदाधिकारीले बताए ।

त्यसो त रामेछापमा पठाउनका लागि राम कार्की र हरिबोल गजुरेलको पनि नाम आएको छ । तर, गजुरेल सिन्धुली २ छाड्ने पक्षमा छैनन् । यसअघि रामेछापमा एमाले नेताहरू ईश्वर पोखरेल, देवशंकर पौडेल (हाल नेकपा एस) लगायतको हत्या प्रयास गरेपछि सिन्धुली सरुवा भएका बाहुबली नेता राजन दाहालले गजुरेलको क्षेत्रमा दावी गरेका छन् ।

राम कार्की झापा १ बाट चुनाव नलड्ने मनस्थितिमा पुगेकाले सहज जितका लागि उनको नाम पनि रामेछापका लागि लिन थालिएको छ । पार्टीले आवश्यकता ठानेमा रामेछाप जानका लागि लीलामणी पोखरेल भने तयार देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर