रवीन्द्र मिश्रलाई राप्रपाको सहअध्यक्ष बनाउन लिङ्देन तत्पर, आफ्नो मान घट्ने भन्दै बुद्धिमानको अड्को – Nepal Press

रवीन्द्र मिश्रलाई राप्रपाको सहअध्यक्ष बनाउन लिङ्देन तत्पर, आफ्नो मान घट्ने भन्दै बुद्धिमानको अड्को

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई भित्र्याउन निर्णायक कसरत अघि बढाएको छ । मिश्रलाई चाँडै राप्रपामा ल्याएर तगडा चुनावी लहर सिर्जना गर्न अध्यक्ष राजेन्द्र लिङ्देन उत्साही देखिएका छन् ।

विवेकशील साझाले स्थानीय चुनावमा निराशाजनक परिणाम व्यहोरेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका थिए । राजीनामापछि विवेकशील साझाको साधारण सदस्यको हैसियतमा मात्रै रहेका उनले पछिल्लो समय राजसंस्थासहितको व्यवस्थाका पक्षमा आफूलाई उभ्याएका छन् । साथै संघीयता र धर्मनिरपेक्षताको खारेजीको विषयमा पनि राप्रपासँग उनको मत मिलेको छ ।

अध्यक्ष नरहे पनि विवेकशील साझामा अहिले पनि मिश्रको बलियो पकड छ । आफूले राप्रपामा जाने निर्णय लिएमा विवेकशीलका धेरै नेताहरुले साथ दिने उनले विश्वास लिएका छन् । त्यसैले यसलाई पार्टी प्रवेशभन्दा पनि पार्टी एकताकै मोडलमा लैजान उनले प्रयास गर्नेछन् ।

अहिले विवेकशीलको नयाँ अध्यक्ष बनेकी समीक्षा बास्कोटा विगतदेखि नै मिश्रलाई साथ दिइरहेकी नेतृ हुन् । तर, मिश्र राप्रपामा जाँदा सिंगो पार्टीले साथ दिने सम्भावना देखिएको छैन ।

नेपाल प्रेससँगको कुराकानीमा बास्कोटाले राप्रपासँग एकता गर्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताइन् ।

‘रवीन्द्रजीले गरिरहेको पहल उहाँको व्यक्तिगत हो । केही साथीहरुलाई कन्भिन्स गरेर आफूसँगै लैजानुभयो भने त्यो उहाँहरुको स्वतन्त्रताको कुरा भयो । तर, पार्टीगत हिसाबले चाहिँ हामी राप्रपासँग मिल्ने तयारीमा छैनौं’, उनले भनिन् ।

बास्कोटाले चाँडै केन्द्रीय कमिटी बैठक बोलाएर चुनावी तयारीमा जुट्ने पनि उल्लेख गरिन् ।

बुद्धिमानको अड्को, उनैलाई जिम्मा

यता राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र मिश्रलाई भित्र्याउने विषयमा उपाध्यक्ष बुद्धिमान तामाङ बाधक देखिएका छन् । अध्यक्ष लिङ्देनले आफ्नो सेकेन्डम्यानका रुपमा सहअध्यक्ष दिएर मिश्रलाई ल्याउन खोजे पनि त्यसमा तामाङ सहमत छैनन् ।

अहिले राप्रपामा लिङ्देनपछि तीनजना उपाध्यक्ष छन् । उनीहरुमध्ये को पहिलो भन्नेमा बुद्धिमान र विक्रम पाण्डेबीच विवाद छ । पाण्डे सहअध्यक्ष दिएर मिश्रलाई दोस्रो स्थानमा रहने गरी राप्रपामा ल्याउने विषयमा सकारात्मक छन् । तर, बुद्धिमान यसमा सहमत नरहेको स्रोतले बतायो । र, उनलाई क्रस गरेर जान अध्यक्ष लिङ्देनले आँट गरिरहेका छैनन् ।

यसलाई सल्टाउन लिङ्देनले चतुरतापूर्वक मिश्रसँग वार्ता गर्ने जिम्मा बुद्धिमानलाई नै दिएका छन् । राप्रपाको अघिल्लो कार्यसम्पादन समितिको बैठकले उनको नेतृत्वमा वार्ता समिति बनाएको हो । यो समितिमा भुवन पाठक र निरञ्जन थापा पनि छन् ।

राप्रपाका महामन्त्री भुवनकुमार पाठकले मिश्रसँग आफूहरु संवादमा रहेको उल्लेख गरे । ‘छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ, कुन पद दिने भन्ने चाहिँ निधो भएको छैन’, उनले भने ।

यही समितिले एमालेसँग सम्भावित तालमेलको पनि गृहकार्य गरिरहेको छ । यसअघि डा. धवलशमशेर राणा नेतृत्वको वार्ता समिति केही समयअघि विघटन गरिएको थियो । गुपचुपमा उक्त समिति विघटन गरिएको थियो भने नयाँ समिति बनाइएको निर्णय पनि गुपचुप नै राखिएको छ ।

मिश्रले आफू काठमाडौं १ बाट दोस्रोपटक चुनाव लड्ने आन्तरिक तयारी गरिसकेका छन् । तर, उनी स्वतन्त्र लड्छन् वा पार्टीबाट भन्ने तय भएको छैन । विवेकशीलबाट एउटा टीम राप्रपामा लगेर सोही दलबाट चुनावमा उम्मेदवारी दिने उनको सोच छ । उनले काठमाडौं- १ मा एमालेले पनि आफूलाई समर्थन गर्ने आशा राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर