टिकटक बन्द गराउन बन्यो संघर्ष समिति ! प्रजिअलाई धमाधम ज्ञापनपत्र बुझाइँदै – Nepal Press

टिकटक बन्द गराउन बन्यो संघर्ष समिति ! प्रजिअलाई धमाधम ज्ञापनपत्र बुझाइँदै

युवायुवतीहरुले दिनभर ‘नंगा नाच’ देखाएको आरोप

काठमाडौं । लोकप्रिय सर्ट भिडियो एप टिकटक बन्द गराउनुपर्ने भन्दै युवाहरुको एउटा समूह सक्रिय बनेको छ । उनीहरुले ‘टिकटक बन्द संघर्ष समिति’ नै गठन गरेर दवाव सुरु गरेका छन् ।

समितिले आज रौतहट जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझायो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई समेत बोधार्थ पठाइएको ज्ञापनपत्रमा टिकटकले गर्दा दिनहुँ घरपरिवारमा झैंझगडा बढेको दाबी गरिएको छ । टिकटकका कारणले आत्महत्या बढेको, अश्लिलताले सीमा पार गरेको तथा धर्मसंस्कृति धरापमा परेको आरोप पनि लगाइएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘टिकटकमा अहिले कलाको आडमा युवायुवती अश्लिलता फैलाइरहेका छन् । नेपालमा आर्केस्ट्रा नाच बन्द भएता पनि टिकटक भन्दै आर्केस्ट्रा नाच नाच्दैछन् ।’

युवायुवतीहरुले धर्म संस्कृतिको ख्याल नगरी टिकटकमा दिनभरि ‘नंगा नाच’ नाचिरहेको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

‘आफ्नो धर्म र संस्कृति जोगाउन तथा देशको उज्जवल भविष्यको लागि नेपालमा टिकटक बन्द गराइदिन अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ ।
उक्त ज्ञापनपत्रमा टिकटक बन्द संघर्ष समिति रौतहटका कथित अध्यक्ष सचिन पटेलले हस्ताक्षर गरेका छन् ।

यसअघि गत शुक्रबार टिकटक बन्द संघर्ष समिति महोत्तरीको नामबाट यही व्यहोराको ज्ञापनपत्र महोत्तरीका प्रजिअ र प्रहरी प्रमुखलाई बुझाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर