राष्ट्र बैंकको नियम उल्लंघन गर्ने बैंकमै बढी समस्या, किन हुँदैन कारबाही ? – Nepal Press

राष्ट्र बैंकको नियम उल्लंघन गर्ने बैंकमै बढी समस्या, किन हुँदैन कारबाही ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नियामक भूमिका पाएको संस्था हो नेपाल राष्ट्र बैंक । तर, नियामककै निर्देशन बैंक तथा वित्तीय संस्थाहरुले एकपछि अर्को उल्लंघन गर्दै आएका छन् । नियम उल्लंघनको पछिल्लो उदाहरण हो सीडी रेसियो (कर्जा निक्षेप अनुपात) ।

विशेष गरी पछि आएका बैंकहरुले ज्यादा नियम उल्लंघन गरेको राष्ट्र बैंक स्रोतले बतायो । ती अधिकारीका अनुसार अहिले सबैभन्दा बढी समस्या पछि आएका बैंकमै देखिएको छ ।

नियम उल्लंघन गर्ने बैंकलाई राष्ट्र बैंक ऐनको दफा ९९/१०० मा कारबाहीको व्यवस्था छ । तर, राष्ट्र बैंकले नियम उल्लंघन गर्ने बैंकलाई ऐनबमोजिम कारबाही गर्न सकेको छैन ।

आइतबार मात्र नेपाल बैंक, नबिल बैंक र सेन्चुरी बैंकले राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्दै सीडी रेसियो ९० प्रतिशत पुर्‍याए । नेपाल बैकर्स संघको तथ्यांकलाई आधार मान्ने हो भने अरु आधा दर्जन बैंकको सीडी रेसियो ९० प्रतिशत नजिक देखिन्छ । अब सीडी रेसियो पार गर्ने बैंकलाई सचेतमात्र गराइने ती अधिकारीले बताए ।

राष्ट्र बैंकले दैनिक सीडी रेसियो निगरानी गर्छ । महिनाको अन्त्यमा औसतमा गणना गरी ९० प्रतिशतमाथि पुगेका बैंकहरुलाई कारबाही हुने व्यवस्था राष्ट्र बैंकको एकीकृत निर्देशन २०७८ मा गरिएको छ ।

राष्ट्र बैंक स्रोतका अनुसार सचेत गराउन पत्र पठाउनेबाहेक अरु कारबाही भएको छैन । यसकारण बैंकहरु राष्ट्र बैंकको नियम उल्लंघन गर्न हच्किँदैनन् । अहिले एक बैंकले अर्को बैंकको विश्वास नगर्नेसम्मको अवस्था देखिएको ती अधिकारी बताउँछन् ।

सामान्यतया बैंकको कुल पूँजीको ९० प्रतिशतसम्म लगानी गर्न पाउँछन् भन्ने हो । सोभन्दा माथि गए बैंकहरुको ऋण दिनसक्ने अवस्था कमजोर हुन्छ । यतिमात्रै होइन अन्तरबैंक कारोबार, ब्याजदरलगायतका विषयमा पनि बैंकहरुले नियम उल्लंघन गरेको विषय बेलाबखत बाहिरिँदै आएको छ ।

ऋणै दिन नसक्ने भए बैंक

राष्ट्र बैंककै निर्देशन नटेर्दा बैंकहरु ऋण नै प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । निक्षेपभन्दा कर्जा परिचालन ज्यादा हुँदा अहिले लगानी गर्ने रकमसमेत छैन बैंकहरुसँग ।

बैकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले अधिकांश बैंक अहिले ऋण प्रवाह गर्न नसक्ने अवस्थामा पुगेको बताए । कृषि विकास बैंकलाई पनि रकम अभावका कारण ऋण लगानीमा समस्या भएको बैंकका सीईओसमेत रहेका अध्यक्ष उपाध्यायले बताए ।

साउनमा मात्रै एक खर्ब रकम बैंकबाट झिकिएको छ । जसले गर्दा बैंकहरुलाई पैसाको अभाव भएको छ । पैसा नहुँदा ऋण लगानीसमेत घटेको छ ।

नियम उल्लंघन गर्नेलाई के छ कारबाहीको व्यवस्था ?

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको नियम उल्लंघन गरे उल्लंघन गरेको रकमको हदसम्मको जरिवाना, सचेत गराउने, लिखित चेतावनी दिने, राष्ट्र बैंकले दिने सेवाबाट बञ्चित गराउने, शेयर होल्डरलाई लाभांश वितरणमा रोक लगाउने, बैंकको कारोबार आंशिक वा पूर्ण प्रतिबन्ध लगाउनेसम्मको सजाय तोकिएको छ ।

यस्तै सञ्चालक, पदाधिकारी तथा कर्मचारीको तलबभत्ता रोक्का राख्ने, कर्मचारी तथा सञ्चालकलाई सेवाबाट हटाउनेसम्मको कारबाहीको व्यवस्था छ । तर, राष्ट्र बैंकले अहिलेसम्म सचेत गराउने काममात्र गरेको ती अधिकारी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर