गठबन्धन कार्यदल- राजमोले माग्यो ५ जिल्लामा ६ सिट, प्युठानमा वामदेवलाई ‘नो इन्ट्री’ – Nepal Press

गठबन्धन कार्यदल- राजमोले माग्यो ५ जिल्लामा ६ सिट, प्युठानमा वामदेवलाई ‘नो इन्ट्री’

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलमा राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा र प्रदेशसभातर्फ आफूले पाउनुपर्ने सिट संख्या तोकेर लिखित रुपमै प्रस्ताव पेश गरेको छ । गठबन्धनका अन्य दलले बाहिर बाहिर दावी गरे पनि कार्यदलमा आफूहरुले मात्र प्रस्ताव लगेको राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले बताए ।

राजमोबाट कार्यदलमा हिमलाल पुरी र आनन्द शर्मा छन् । कार्यदलले साउन मसान्तभित्र काम सक्ने भने पनि अहिलेसम्म सिट बाँडफाँटमा प्रवेश नै नगरेको र शीर्ष नेताका तहमा छलफल भइरहेको हुनसक्ने पुरीले बताए ।

राष्ट्रिय जनमोर्चाले भने प्रतिनिधिसभातर्फ २ सिट र प्रदेश सभामा ४ सिट पाउनुपर्ने प्रस्ताव गरेको छ । पुरीका अनुसार बागलुङ १ र प्युठानको प्रतिनिधिसभामा राजमोको दावी रहेको छ ।

त्यस्तै प्रदेशसभा तर्फ बागलुङ,अर्घाखाची,दाङ र गुल्मीमा एक एक सिट दावी गरिएको पुरीले नेपाल प्रेसलाई जानकारी दिए । प्युठानमा भने प्रदेशसभा दावी नगरेको उनले बताए ।राजमोले प्रदेशसभातर्फ डोटीमा पनि एक सिट मागेको छ ।

स्थानीय तहको मतको समेत आधार बनाएर आफूहरुले अन्य प्रदेशबाट पनि रिपोर्ट मगाएको पुरीले बताए । यता वामदेव गौतम प्युठानमा चुनाव लड्ने भन्दै माओवादीबाट गठबन्धनमा छिरेकोमा पनि राजमोले आपत्ति प्रकट गरेको छ । उनका लागि प्युठान छाड्न नसकिने राजमोले प्रष्ट पारेको छ ।

कार्यदल सदस्य समेत रहेका राजमोका सचिव पुरीले वामदेवको राजनीति नबुझिएको भन्दै के आधारमा उनले प्युठान दावी गरेको भन्ने आफूहरुलाई जानकारी नभएको बताए । उनले वामदेवको राजनीति नै प्रष्ट नभएको र जनमत तथा वैचारिक राजनीतिक कुनै पनि आधारमा उनका लागि प्युठान छाड्न नसकिने प्रष्ट पारे ।


प्रतिक्रिया

One thought on “गठबन्धन कार्यदल- राजमोले माग्यो ५ जिल्लामा ६ सिट, प्युठानमा वामदेवलाई ‘नो इन्ट्री’

  1. राजमोको मांग जायज र परिपक्व देखियो । तर यो केेेवल बार्गेनिङ लागि भृकुटी मण्डपको खासा बजारको दर भाउ जस्तो नभएर डिपार्टमेन्टल स्टोरको फिक्स प्राइस जस्तो बोल्ड होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर