न्युयोर्क टाइम्समा छापिएको समाचारले भारतीय राजनीतिमा तरंग – Nepal Press

न्युयोर्क टाइम्समा छापिएको समाचारले भारतीय राजनीतिमा तरंग

काठमाडौं । विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय दैनिक न्युयोर्क टाइम्सले दिल्लीको शिक्षा प्रणालीको प्रशंसा गर्दै समाचार छापेसँगै हाल भारतीय राजनीति तरङ्गित भएको छ ।

न्युयोर्क टाइम्सले आज उक्त समाचार सार्वजनिक गरेको थियो भने संयोगवश आज नै सिआईबीले दिल्लीका उप-मुख्यमन्त्री मनिष सिसोदियासहित अन्य २१ जनाको घरमा छापा मारेको छ ।

मदिराजन्य पदार्थको बिक्री वितरण सम्बन्धी कानून ल्याउनु पूर्व सिसोदियाले केही व्यापारिक घरनाको स्वार्थपूर्ति हुने गरी कानून ल्याएको र यसका लागि सिसोदियाले निकै ठूलो कमिसन लिएको आरोपमा सिआइबीले उनको घरमा छापा मारेको हो । मनिष दिल्लीका शिक्षा मन्त्री समेत हुन् ।

विश्वकै प्रसिद्ध पत्रिकाले मनिषको बारेमा समाचार लेखेकै दिनमा उनको घरमा भ्रष्टाचारको आरोपमा सिआईबीको छापा पर्नाले पनि उक्त समाचार राजनैतिक बहसको विषय बनेको हो ।

भारतको सत्तारुढ दलले भाजपाले उक्त समाचारलाई आम आदमी पार्टीको छवि सुधार्नका निमित्त गरिएको ‘पेड प्रमोसन’ रणनीतिको संज्ञा दिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल लेख्छन्, ‘विश्वकै सबै भन्दा ठूलो पत्रिकाले दिल्लीको शिक्षा पद्धतिको प्रशंसा गर्दै समाचार छापेकै दिनमा । मनिषको घरमा सिआइबीको छापा परेको छ । तर केही छैन उहाँहरूलाई स्वागत छ ।’

केजरिवालको उक्त ट्विट पश्चात् भाजपा नेता कपिल मिश्राले आपले उक्त समाचार किनेको आरोप लगाएका हुन् । उनी लेख्छन्, ‘न्युयोर्क टाइम्समा पैसा दिएर समाचार त छाप्यौ तर चोर्ने बानी कही गएन । यो तस्बिर दिल्लीको सरकारी विद्यालयको नभई मयुर विहारको मदर मेरी स्कूलका बालबालिकाको हो । केजरीवाल र सिसोदियाले देशमा मात्र हैन विदेशमा पनि झुट बेचिरहेका छन् ।’ कपिल मिश्राको उक्त बयान पश्चात् आपका विधायक राघव चड्डाले जवाफ फर्काएका छन् ।

‘त्यहाँ कुनै पनि भाजपा नेताको कुनै समाचार प्रकाशित भएको छैन । यदि त्यो पत्रिकामा समाचार किन्न पाइन्थ्यो भने भाजपाको समाचार सधैँ पहिलो पृष्ठमा आउँथ्यो ।’

यस्तै भाजपाका अर्का नेता अमित मल्भिया लेख्छन् ।‘न्युयोर्क टाइम्स र खलिज टाइम्सले अक्षर अक्षर एउटै भएको । तस्बिर एउटै भएको समाचार कसरी लेख्न सक्छ । त्यो पनि दिल्लीको अस्तित्वहीन शिक्षा प्रणालीको बारेमा यो अरू केही हैन । पेड प्रमोसन हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर