फेरि बन्द भए चीनतर्फका नाका, दशैंतिहार प्रभावित हुने आशंका – Nepal Press

फेरि बन्द भए चीनतर्फका नाका, दशैंतिहार प्रभावित हुने आशंका

काठमाडौं । चीनतर्फका मुख्य नेपाली नाका पुनः बन्द भएका छन् । चीनले कोरोना भाइरस संक्रमण बढेको भन्दै पुनः नेपालसँगका मुख्य नाका बन्द गराएको हो ।

कोराना भाइरस संक्रमणको पहिलो लहरदेखि नै चीनले आफूसँग जोडिएका नाकामा कडाइ गर्दै आएको थियो । उसले आफ्नोतर्फबाट नेपाल निर्यात गरे पनि नेपालबाट हुने आयातमा रोक लगाएको थियो । नेपालबाट थोरैमात्र वस्तु चीन निर्यात हुन्छ । यसबीच चीन निर्यात भइरहेको थोरै वस्तु पनि अहिले रोकिएको छ ।

चिनियाँ रोकअनुसार तातोपानी नाका गएको साउन २५ र रसुवागढी नाका साउन २६ गतेबाट सामान आउन बन्द भएको छ । तिब्बतमा कोरोना संक्रमण वृद्धि भएको भन्दै चीनले त्यहाँका भन्सारबाट आउने सामानमा रोक लगाएको हो ।

तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक नारद गौतमले साउन २५ गतेदेखि सामान आयात रोकिएको बताए । उनले भने, ‘चीनतर्फ कारोना संक्रमण वृद्धि भएकाले नाका बन्द भएको हो । अब त्यहाँ कोरोना संक्रमण कम भयो भने मात्रै नेपालमा सामान आयात हुनेछ । यसबीच चीनमा कोरोना संक्रमण बढ्यो भने सामान आयात अनिश्चित हुनेछ ।’

लकडाउनपछि नेपालबाट चीनतर्फ सामान गएको गएको छैन । चीनबाट पनि मागअनुसारको सामान आयात नभएको गौतमले नेपाल प्रेससँग बताए ।

रसुवागढी भन्सार प्रशासक रामप्रसाद मैनालीले तिब्बतमा कोरोना संक्रमण बढेकाले लकडाउन भई नेपालतर्फ सामान आउन रोकिएको बताए ।

नेपालबाट हस्तकला, जडिबुटी, काष्ठकलाको सामान चीनतर्फ निर्यात हुने गरेको थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ पूर्वअध्यक्ष नरेश कटुवालले चीनबाट नेपालमा सामान आउन रोकिएको पुष्टि गरे । उनले भने, ‘दशैं नजिकिँदै गर्दा चीनबाट सामान आउन रोकिएको छ ।’

उनका अनुसार यसअघि चीनबाट १० दिनमा सामान नेपाल आउँथ्यो । अब तेस्रो मुलुक हुँदै चिनियाँ सामान नेपाल ल्याउन ४५ दिनसम्म लाग्छ ।

यसबीच चीनसँगको नेपाली नाका नखुले नेपाली बजारमा सामान अभाव हुने पूर्वअध्यक्ष कटुवालले बताए । ‘स्थिति यस्तै रहे दशैंतिहारको बेलामा सामान अभाव हुनसक्छ । त्यसको प्रभाव अहिले नै देखापरेको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर