थापाथली अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ सुरू, राष्ट्पतिले गरिन् उद्घाटन (भिडिओ) – Nepal Press

थापाथली अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ सुरू, राष्ट्पतिले गरिन् उद्घाटन (भिडिओ)

काठमाडौं । शिशुलाई आमाको दूधमात्रै खुवाउने प्रोत्साहित गर्न काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको छ । अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले बैंकको उद्घाटन गरेकी छन् ।

दूधको कमी हुने बच्चालाई प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर संकलन गरी मेसिनमा राखिने र चिकित्सकको सल्लाहअनुसार खुवाइने कार्यक्रममा जानकारी दिइयो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटनपछि उनले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पुर्याएको बताइन् ।

राष्ट्रपति भण्डारीले अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवजाज शिशुसम्बन्धी सरल र कम खर्चिलो, सुविधायुक्त तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको बताइन् । छ दशकअघि ४० शय्याबाट सुरुआत भएको यस अस्पतालले हाल चार सय ७९ शय्याबाट सेवा दिइरहेकोमा उनले खुसी व्यक्त गरिन् ।

उनले अस्पतालको आफ्नो पहलमा ह्युमन मिल्क बैंक ‘अमृत कोष’को स्थापना गरिनुलाई मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रका एक ऐतिहासिक थालिनेका रुपमा पाएको बताइन् । ‘दूध दान गर्नु पुरानो अभ्यासको रुपमा रहेको छ’, उनले भनिन्, ‘अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दूधको सङ्कलन, प्रशोधन र भण्डारणले गरी आवश्यक पर्ने शिशुलाई वितरण गर्ने छ ।’

यस अस्पतालले प्रदान गर्दै आएको विशिष्टीकृत स्वास्थ्य सेवा विशेष गरी प्रसूतिसम्बन्धी सेवालाई मुलुकका विभिन्न ठाउँमा पुर्याउन पहल गर्नु पनि प्रशंसनीय रहेको उनको भनाइ छ । अस्पताललाई प्रविधिमैत्री बनाउन उपलब्ध गराएको अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल व्यवस्थापन सक्रिय रहेको महसुस गरेको उनले बताइन् ।

स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोहीअनुरुपको जनशक्तिको तयार गर्न मुलुकको सामु विद्यमान चुनौती रहेको उनको भनाइ छ ।

‘स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजना निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट सहयोग प्राप्त हुनेछ’, उनले भनिन्, ‘नेपाल सरकारका सम्बन्ध संस्थाले यसतर्फ आवश्यक पहल र समन्यव गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु ।’

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले सातवटै प्रदेश र ७७ जिल्लामा प्रसूति सेवा विस्तार गर्न थालिएको जानकारी दिए । उनले नेपालमा पनि निकट भविष्यमा स्वास्थ्यका अत्याधुनिक उपकरण ल्याएर उपचार गर्ने जानकारी दिए ।

अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले उच्च मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि अस्पतालले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कूल ३३ हजार आठ सय ५५ महिला भर्ना भएकोमा प्रसूतितर्फ २६ हजार छ सय पाँच र स्त्रीरोगतर्फ चार हजार नौ सय ३० को उपचार तथा २४ हजार तीन सय ६९ गर्भवती महिलाको प्रसूतिबाट २४ हजार पाँच सय ९३ शिशुको जन्म भएको छ ।

विसं २०१६ श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट स्थापना भएको अस्पतालमा अहिले चार सय ७९ शय्या रहेको छ । नेपाल सरकार र जर्मनी सरकारको सहयोगमा अस्पतालले तारकेश्वर र चन्द्रागिरी नगरपालिकामा ५०/५० शय्याको प्रसूति तथा नवजात शिशु अस्पतालको निर्माणको सम्झौता सम्पन्न भई निर्माणको प्रक्रिया अगाडि बढेको अस्पतालका निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर