रोजगारदाता र बेरोजगारीबीच समन्वय गर्न बुटवलमा रोजगार सूचना केन्द्र स्थापना – Nepal Press

रोजगारदाता र बेरोजगारीबीच समन्वय गर्न बुटवलमा रोजगार सूचना केन्द्र स्थापना

रुपन्देही । रोजगारदाता र बेरोजगारलाई समन्वय गर्न बुटवलमा रोजगार सूचना केन्द्रको स्थापना गरिएको छ । उद्योगप्रतिष्ठानलाई आवश्यक जनशक्ति खोजिरहनुपर्ने र बेरोजगारहरुले रोजगारीको स्थान पत्ता लगाउन कठिन भइरहेको विषय समाधान गर्न रोजगार सूचना केन्द्र संचालनमा ल्याइएको हो ।

उद्योग प्रतिष्ठानलाई आवश्यक जनशक्ति पूर्ति र रोजगार गर्न इच्छुक जनशक्तिको पहिचान गरी जनशक्तिको माग र आपूर्तिवीच सहजीकरण हुने केन्द्र संचालक रुपन्देही उद्योग संघले जनाएको छ ।

यो केन्द्रले आवश्यक समन्वय तथा सहजीकरण गर्ने, बेरोजगारी समस्या समाधान गर्दै आर्थिक समृद्धिको लक्ष्य हासिलमा सहयोगी भूमिका प्रवाह गर्ने र जनशक्तिको अभावका कारण उद्योग व्यवसायले भोग्नुपरेको समस्या समाधानमा सहयोग पुर्‍याउन जनशक्तिको नियमित आपूर्तिको व्यवस्था मिलाउने उद्देश्य पूरा गर्ने रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बताए ।

देशको श्रमशक्तिको उचित परिचालनको व्यवस्थापन गर्नका लागि संघले पुलको रुपमा कामको सुरुवात गरेको उनले बताए । सीपयुक्त जनशक्ति उत्पादन, व्यवस्थापन र निरन्तरताका लागि प्रदेश सरकार एवं बुटवल उपमहानगरपालिकाको सहयोगमा केन्द्रले काम गर्ने बताउँदै सीपयुक्त जनशक्तिको तथ्यांक संकलनका साथै उद्योगीहरुको आवश्यकता पहिचान गरी व्यवस्थापन गर्ने भूमिका निवाह गर्ने पौडेलले प्रतिबद्धता व्यक्त गरे ।

लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा स्थापित केन्द्रको प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाहीले उद्घाटन गरे । मन्त्री शाहीले स्वदेशमा रोजगारी सिर्जना गर्दै दक्ष जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्ने वातावरण बनाउन सरकारको नीति रहेको बताए ।

उनले निजी क्षेत्रसँगको सहकार्य र सहयोगमा उद्योगको विकासका कार्यक्रमलाई अगाडि बढाएको उल्लेख गर्दै रोजगार सूचना केन्द्रले श्रमशक्तिलाई आवश्यकताअनुसार काममा लगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले श्रमशक्तिको सम्मान र उनीहरुको उचित परिचालनका गर्दै स्थानीय तहमा रोजगारीको सिर्जना गर्ने कुरामा ध्यान दिन आग्रह गरिन् ।

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष तथा संघका अध्यक्ष परिषदका संयोजक एजाज आलमले केन्द्रको स्थापनाले रोजगादाता र श्रम शक्तिबीचको सम्बन्धलाई पनि मजवुत बनाउने विश्वास व्यक्त गर्दै केन्द्रलाई निरन्तर सञ्चालन गर्नका लागि आउने चुनौतीहरुलाई पार गर्न ध्यान दिनुपर्ने बताए ।

रोजगार सूचना केन्द्रमा अनलाइन सफ्टवेयरमार्पmत आफ्नो योग्यताअनुसार बायोडाटा इन्ट्री गर्न सकिने र रोजगारदाताले आफूलाई उपयुक्त श्रमशक्ति अनलाइनमार्पmत नै छनौट गर्न सकिने व्यवस्था रहेको तथा संघको सचिवालयमा सम्पर्क गरी सुविधा लिन सकिने व्यवस्था रहेको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए ।

केन्द्र संचालनबाट उद्योग प्रतिष्ठानलाई आवश्यक जनशक्ति र रोजगार गर्न इच्छुक जनशक्तिको पहिचान गरी जनशक्तिको माग र आपूर्तिवीच तालमेलका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने, बेरोजगारी समस्या समाधान गर्दै आर्थिक समृद्धिको लक्ष्य हासिलमा सहयोगी भूमिका पर्वाह गर्ने र जनशक्तिको अभावका कारण उद्योग व्यवसायले भोग्नु परेको समस्या समाधानमा सहयोग पुर्‍याउन जनशक्तिको नियमित आपूर्तिको व्यवस्था मिलाउने उद्देश्य पूरा गर्ने बताइएको छ ।

त्यसैगरी केन्द्रले वेरोजगार जनशक्तिको लगत संकलन गर्ने, रोजगारदाताहरुको पहिचान गरी रोजगारीको अवस्था र आवश्यक जनशक्तिको तथ्याङ्क संकलन गर्ने, रोजगार गर्न इच्छुकहरुको क्षेत्र पहिचान गरी सीपमुलक कार्यक्रम सञ्चालन गर्ने, सूचीकृत रोजगारदाता र रोजगारी गर्न इच्छुकको अभिलेख अद्यावधिक गर्ने र एक आपसमा समन्वय गर्ने लगायत रहेको संघले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *