‘कृष्णलीला’ बाट आशावादी पुष्प, प्रेमचर्चाबाट भने छैनन् खुशी (भिडिओ) – Nepal Press

‘कृष्णलीला’ बाट आशावादी पुष्प, प्रेमचर्चाबाट भने छैनन् खुशी (भिडिओ)

काठमाडौं । नायक पुष्प खड्का यतिबेला बेफुर्सदी छन् । भोलिबाट रिलिज हुने चलचित्र ‘कृष्णलीला’ का को प्रमोसनमा हिँड्न उनलाई भ्याइनभ्याइ छ ।

चलचित्र सँगसँगै चलचित्रका नायक–नायिका पुष्प र श्रद्धाको प्रेमचर्चाले पनि राम्रै मार्केट लिइरहेको छ । फिल्मी करियरको लामो यात्रामा पुष्पको प्रेमबारे आएको यो पहिलो गसिप हो । सो गसिप अनावश्यक रुपमा फैलिएकाले आफ्नो व्यक्तिगत जिवनमा समेत प्रभाव परेको खड्काको भनाइ छ ।

रिलिजको तयारीमा रहेको चलचित्र ‘कृष्णलीला’ मा पुष्प अघिल्ला चलचित्रहरुमा भन्दा भिन्न चरित्रमा प्रस्तुत भएका छन् । चलचित्रमा उनले अटिजम भएका व्यक्तिको भूमिका निर्वाह गरेका छन् । उनले निभाएका सो भूमिकालाई दर्शकले रुचाउने र चलचित्र ‘कृष्णलीला’ले आफ्नो करियरमा थप एउटा सफलताको सिँढी थप्नेमा खड्का विश्वस्त छन् ।

निर्देशक दिपक ओलीको निर्देशन तथा निर्माता प्रकाशराज कार्की र केवल तामाङ को निर्माणमा बनेको सो चलचित्रमा पुष्पलाई नवनायिका श्रद्धा क्षेत्रीले साथ दिएकी छिन ।

‘कृष्णलीला’ भदौ ३ गते रिलिज हुने सोलो चलचित्र भने होइन । भोलि नै नायक सौगात मल्ल अभिनित चलचित्र ‘माइकल अधिकारी’ र नायिका बेनिसा हमाल अभिनित चलचित्र ‘प्रेमगञ्ज’ रिलिज हँुदैछ । एकसाथ तीन चलचित्र रिलिज हुँदै तीनवटै धरापमा परेको चर्चा पनि चलिहरेको छ ।

कलाकारिताको यात्रामा पुष्प यस अर्थमा भाग्यशाली ठहरिए कि उनले दोस्रो चलचित्र ‘मङ्गलम’ बाट नै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गर्न सफल भए । अब कृष्णालिलाले कस्तो करिश्मा गर्ला र उनको स्टारडम कायम रहला नरहला त्यो आउने दिनले बताउने छ । यही चलचित्रको सेरोफेरोमा खड्कासँग नेपाल प्रेसले गरेको भिडियो कुराकानीः

–तपाई नेपाली चलचित्र उद्योगलाई कसरी बुझ्नुहुन्छ ?

मेरो लागि नेपाली चलचित्र उद्योग भनेको प्रतिभा भएका व्यक्तिको लागि उज्जवल भविष्य देखाउने एउटा घर हो । ंचलचित्रले दर्शकहरुलाई मनोरञ्जन दिनुको साथसाथै कोही व्यक्तिमा भएको कलालाई उजागर गर्ने काम गर्छ । समाजमा घट्ने सामाजिक समस्याहरू, अदृश्य कहानीहरु, आदिलाई चलचित्रकै मार्फत प्रस्तुत गरी सामाजिक सन्देश दिने काम गर्छ । व्यवसायिक र व्यक्तिगत रुपमा हुने फाइदा बेफाइदा त आफ्नै ठाउँमा छ । समग्रमा भन्नुपर्दा नेपाली फिल्म इन्डिस्ट्री भनेको नयाँ प्रतिभा ल्याउने र प्रतिभा भएका मानिसहरुको लागि उज्जवल भविष्य देखाउने एउटा प्रतिभाको घर हो ।

–भनेपछि यो उद्योगमा जो आउँदा पनि हुन्छ ?

यदि प्रतिभा छ भने आउँदा हुन्छ ।

–एक न एक प्रतिभा त हर कोहीमा हुन्छ नि, हैन र ?

हर कोहीमा नहुन पनि सक्छ ।

–प्रतिभा भएको मानिस यो क्षेत्रमा प्रवेश गर्दा सफल हुने ग्यारेन्टी चाहिँ कति छ ?

यदि मेहनती र काममा एकदमै समर्पित छ भने केही हदसम्म ग्यारेन्टी लिन सकिन्छ तर कोही व्यक्ति सफलताको कुन उचाइसम्म जान सक्छ भन्ने चाहीँ कसैले ग्यारेन्टी लिन सक्दैन ।

भिडिओ:

–आफू चाहीँ काममा कतिको समर्पित छु जस्तो लाग्छ ?

म चाहीँ मेरो काममा एकदमै समर्पित र मेहनती छु । मेरो बुझाइअनुसार मैले जिन्दगीमा सोचेजस्तो सफलता अलिक ढिला पाउँछु । अरुसँग पनि कहिलेकाहीँ तुलना गर्छु म । मलाई अलिकति समय लाग्छ तर सफल चाहीँ हुन्छु ।

–नेपाली चलचित्र उद्योगमा पुष्प कतिको सफल नायक हो ?

जुन सोचले म यो क्षेत्र प्रवेश गरेको थिए त्यो कुरा मैले लगभग पूरा गरेको छु । म आफ्नो कयिरको दोस्रो चलचित्रबाट नै राष्ट्रिय पुरस्कारजस्तो सम्मानित पुरस्कार हात पार्ने नायक हो । चलचित्र क्षेत्रमा लाग्दा पैसा कमाइँदैन र भविष्य हुदैन भन्ने मानसिकता भएको मानिसहरुको लागि म एउटा राम्रो उदाहरण हो । यी सबै कुराहरुको विश्लेषण गर्दा र मैले दर्शकबाट पाएको अथाह माया देख्दा आफूले यो क्षेत्रमा केही ठाउँ बनाए जस्तो लाग्छ । यति हो प्रतिभा भन्ने चिज कहिल्यै पनि मर्दैन । समय लाग्ला तर सफलता अवश्य मिल्छ ।

–तपाईको करियरमा टर्निङ प्वाइन्ट ल्याउने चलचित्र कुन हो ?

मेरो जीवनको पहिलो टर्निङ प्वाइन्ट ल्याउने प्रोजेक्ट भनेको ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ बोलको गीत हो । त्यो भन्दा अगाडि मैले थुप्रै अरु म्युजिक भिडियोहरु गरे तर खासै राम्रो प्रतिक्रिया हासिल गर्न सकिन । जब शिव दाईको सो गीत गरे तब सफलता भनेको के हो र दर्शकहरुले मनपराउनु भयो भने कुन हदसम्म जानुहुँदो रहेछ भन्ने महसुस भयो । त्यो गीत रिलिज भएपछि मलाई प्रायले चिन्न थाल्नु भयो । त्यसपश्चात केही सफलता बटुलेँ की भन्ने भयो । फिल्मी करियरको कुरा गर्ने हो भने चलचित्र ‘मङगलम’ मेरो जिन्दगीको र करियरको टर्निङ प्वाइन्ट हो ।

–तपाइलाई नेपाली सिने जगतको सुपरहिट नायक भन्न मिल्छ ?

भन्न मिल्छ होला यदि तपाइहरुले भन्नुहुन्छ भने । म अस्वीकार चाहीँ गर्दिनँ । मैले अहिलेसम्म गरेको कामको विश्लेषण गर्दा मेरो लागि म सुपरहिट नै हुँ ।

–तपाईले गर्नुभएको हरेक चलचित्र हिट चलचित्र हो ?

होइन ।

– हिट चलचित्रबिना कोही कसरी सुपरहिट हुन्छ ?

सबै चलचित्र पो हिट छैन भनेको हो त, कुनै पनि हिट छैन त भनेको छैन नि ।

– पुष्प रोमान्टिक नायक की बहुप्रतिभाशाली नायक ?

बहुप्रतिभाशाली ।

– भदौ ३ देखि रिलिज हुने चलचित्र ‘कृष्णलीला’ ले पुष्पको जीवनमा सफलताको अक्रो एक सिँढी थप्ला ?

आशा छ गरेको मेहनत र उठाइएको मुद्दाले केही हदसम्म न्याय पाउला ।

– चलचित्र ‘कृष्णलीला’ ले सोचेजस्तो व्यापार गरेन र चलचित्र फ्लप भयो भने ?

हर्ट हुन्छु । किनभने हरेक चलचित्र एक प्याकेज हो, एक संसार हो । चलचित्रमा उठाइएको मुद्दा भनेको हामी भित्रै घटेको एक कहानी हो । त्यही कहानी कृष्णलीलामा पनि प्रस्तुत गरिएको छ । अपेक्षा उच्च राखेर मेहनत र अभ्यास बेस्ट गरेका छौँ । यस्तो मेहनत गर्दा पनि सोचेजस्तो फल पाइएन भने चित्त दुख्नु स्वभाविक नै हो ।

– पुष्पको जिन्दगीमा जोडिएको एक पात्र हो श्रद्धा क्षेत्री भन्न मिल्छ ?

जिन्दगीमा हैन फिल्मी करियरको यात्रामा जोडिएको एक पात्र चाहीँ हो श्रद्धा क्षेत्री ।

– प्रेममा हुनुहुन्छ तपाईहरु ?

छैनौँ ।

– बजारमा त तपाईहरु रिलेसनसीपमा हुनुहुन्छ तर अन्तर्वार्तामा चाहीँ ढाट्दै हिँड्नुहुन्छ भन्ने आरोप छ नि ?

यो म रिभिर्स लिन चाहन्छु । भित्र चाहीँ केही छैन तर बाहिर चाहीँ सत्य हो भन्ने हल्ला चलिरहेको छ । जुन हिसाबले हल्ला चलिरहेको छ, त्यो एकदमै गलत हो । यसरी हल्ला चल्नु राम्रो पनि हैन । व्यक्तिगत जीवनमा पनि कहीँकतै असर पर्दो रहेछ ।

– तपाईको जन्मदिनको लागि भनेर श्रद्धाजी भारतबाट आउनुभएको थियो । यत्रो हुँदा पनि सम्बन्ध छैन भन्नुहुन्छ ?

खासमा त्यो समय मेरो मात्र नभएर हाम्रो चलचित्र ‘कृष्णलीला’ को निर्देशक दिपक ओलीजीको पनि जन्मदिन परेको थियो । जन्मोत्सवसँगै सानो प्रेसमिट गरिएको थियो । चलचित्रको प्रेसमिटमा सबै टिम त हुनैपर्यो । त्यही भएर श्रद्धा भारतबाट आएको हैन, झिकाइएको हो ।

–कन्ट्रोभर्सीले चलचित्र चल्छ भन्ने कुराहरु आइराख्दा कतै तपाईहरुको यो प्रेमचर्चा पनि चलचित्र चलाउने बाहाना त हैन ?

वास्तवमा भन्नपर्दा म यही कुरा चाहन्न थिएँ । अहिलेसम्मको मेरो यत्रो लामो करियरको यात्रामा मलाई यस्तै कुराहरुले नलोभ्याओस् भन्ने चाहन्थेँ । कहीँ पनि हामीले हामी प्रेम सम्बन्धमा छौँ भनेर भनेका छैनौँ र स्वीकारेका छैनौँ । थाहा छैन कहाँबाट यो कुराहरु आयो । मिडियाको मसाला भनौँ की के भनौँ म आफैँ स्तब्ध छु । फिल्मको लागि कन्ट्रोभर्सी गरौँ भन्ने हाम्रो कुनै उद्देश्य नै थिएन ।

–पछिल्लो समय नायकहरुले पारिश्रमिक नलिई चलचित्र गरेको र पारिश्रमिक नलिएकाले अलिकति हाईप बढेको हो की भन्ने कुराहरु आईरहेको छ । तपाईले अहिलेसम्म पारिश्रमिक नलिई कुनै चलचित्र गर्नु भएको छ कि छैन ?

छैन । पारिश्रमिक नलिकन अहिलेसम्म मैले केही काम गरेको छैन । चाहे त्यो म्यूजिक भिडियो होस्, चलचित्र वा कुनै विज्ञापन । पारिश्रमिक नलिकन यदि दर्शकहरुकै लागि भनेर बनाएको हो भने हलमा पनि चलचित्र फ्रीमा देखाउनुहोस् । कुनै पनि कुराहरु कतै फ्रीमा जाने हो भने पारिश्रमिक नलिँदा हुन्छ । पारिश्रमिक भनेको के हो ? पारिश्रमिक भनेको आफूले परिश्रम गरेबापत पाउने फल हो । मैले मेरो करियरमा बरु कहिले धेरै पारिश्रमिक लिएँ होला त कहिले थोरै तर मैले खाली हात अहिलेसम्म कुनै पनि काम गरेको छैन ।

– पलजी अहिले फिल्म ईन्डिस्ट्रीदेखि बाहिर हुनुहुन्छ । ईन्डिस्ट्रीमा उहाँ हुँदा अरु नायकहरु छायाँमा परेको हो की भन्ने थियो । अहिले पल शाह नभएको बेला प्राय नायकहरु आफ्नो हाईप बढाईहालौँ भन्ने दौडमा हुनुहुन्छ रे । तपाई पनि त्यो दौडमा सामेल हुनुहुन्छ ?

म त्यो दौडमा कहिल्यै सामेल नै थिइनँ । म कसैको अनुपस्थितिमा आफ्नो उपस्थिति देखाइहालौँ भन्ने मनसाय भएको मान्छे पनि हैन । पलको कुरा गर्नुहुन्छ भने उसको र मेरो करियरको यात्रा लगभग एकैचोटी सुरु भएको हो । हामीले सँगसँगै म्युजिक भिडियोको यात्रा पनि सुरु गरेका हौँ । उसको र मेरो नै कतिवटा हिट र फ्लप म्युजिक भिडियोहरु छन् । हामीसँगै बसेर पुरै म्युजिक भिडियो उद्योगको कुरादेखि लिएर पारिश्रमिक कति लिने भनेर सल्लाह गरेर बस्ने साथी हौँ । सबैको आ–आफ्नो समय हो । कहिले सही त कहिले गलत ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर