निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न सरकारलाई आयोगको निर्देशन – Nepal Press

निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न सरकारलाई तीन बुँदे निर्देशन दिएको छ ।

आयोगले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन यस्तो निर्देशन दिएको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्वाचन अधिकृतको कार्यालय स्थापनामा आवश्यक सहयोग र सहजीकरण गर्न यस्तो निर्देशन दिएको हो ।

आसन्न निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला सदरमुकास्थित उपयुक्त स्थलमा भवन एकिन गर्न निर्देशन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

उनका अनुसार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा स्थानीय प्रशासन तथा सम्बन्धित स्थानीय तहसँगसमेत समन्वय गरी सम्बन्धित निर्वाचन क्षेत्रको केन्द्रमा पर्ने एवं भौतिक पूर्वाधार तथा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त हुनेगरी निर्वाचन अधिकृतको कार्यालय राख्ने स्थान तथा भवन एकिन गर्न निर्देशन दिएको हो ।

निर्देशनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दा कुनै सरकारी कार्यालय वा सरकारी स्वामित्वमा रहेको कार्यालय भवनलाई प्रयोग गर्नुपर्ने छ ।

तर यस्तो भवन उपलब्ध नभएको खण्डमा मात्र भाडामा लिनुपर्ने अवस्था आइपरेमा तोकिए बमोजिमको बजेटको सीमाको परिधिभित्र रहेर भाडामा लिनुपर्ने व्यवस्था रहेको हुँदा सकभर सरकारी भवनको व्यवस्था गर्न भनिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक पर्ने सरकारी भवन, फर्निचर, इलेक्ट्रोनिक सामान, सवारी साधन लगायतका भौतिक सामग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा राख्न पनि आयोगले निर्देशन दिएको छ ।

आयोगबाट कायम भएका मतदान स्थल तथा मतदान केन्द्रमा रहेका संरचनाको संरक्षण, मर्मत सम्भार एवम् उक्त स्थलमा खानेपानी, शौचालय, विद्युत, सडक, पुल पुलेसा, कम्पाउण्डवाल, तारवार तथा सञ्चार जस्ता सुविधाको आवश्यक व्यवस्था गर्नुका साथै मतदान स्थल तथा मतदान केन्द्रलाई अपाङ्ग, असक्त तथा लैंङ्गिकमैत्री बनाउने व्यवस्था मिलाउन पनि भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर