कांग्रेस सांसद पार्वताले राष्ट्रपतिको प्रशंसा गरेपछि पार्टीभित्रै आलोचना – Nepal Press

कांग्रेस सांसद पार्वताले राष्ट्रपतिको प्रशंसा गरेपछि पार्टीभित्रै आलोचना

रुपन्देही । सत्तारुढ नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीलेले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेपछि उनको पार्टीभित्रै आलोचना भएको छ ।

दुई दिनअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेससँगको साइनो तोड्ने पत्र लेखेकी चौधरीले राष्ट्रपतिको कदमको स्वागत गरेपछि कांग्रेसको नजरमा आलोचित बनेकी छन् भने विपक्षी दलका सांसदहरुले सदनमै समर्थन गरेर ताली बजाएका छन् ।

सांसद चौधरीले दलीय निर्देशन मान्नुपर्ने भएकोले सरकारको प्रस्तावमा समर्थन गरे पनि आफ्नो मनले नागरिकता विधेयकलाई स्वीकार नगरेको बिहीबार सदनमा बताइन् ।

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि बिहीबार प्रतिनिधिसभामा भएको छलफलमा चौधरीले राष्ट्रपतिको कमदमको सम्मान नगरेर कसको सम्मान गर्ने भन्दै प्रतिप्रश्न गरेकी थिइन् ।

‘सात वर्षसम्म हामीले यतिकै थन्कायौं, अहिले हतार गरेर किन प्रक्रिया मिच्नपर्यो, राष्ट्रपतिमाथि धेरै टिकाटिप्पणी गर्नु उपयुक्त होइन । नागरिकता विधेयक जसरी आएको छ, सत्तापक्षको भएकाले समर्थन गर्नु बाध्यता छ मेरो व्यक्तिगत आत्माले ठीक मानेको छैन । सबै नागरिक आन्दोलित छन् । केही महिनापछि नयाँ सदन आउँछ ।’, चौधरीको तर्क थियो । ‘राष्ट्रभन्दा ठूलो मेरो पार्टी होइन म होइन । हामीहरू पार्टीभन्दा माथि उठेर बोल्नुपर्छ राष्ट्रपतिले पठाएको ठीक छ, उहाँको सम्मान गर्नुपर्छ’ उनले भनिन् ।

कांग्रेस सांसदले राष्ट्रपतिको कदमको समर्थन गर्दा एमाले सांसदहरूले टेबल ठटाएर समर्थन गरेका थिए ।

विधेयकमा रहेको वैवाहिक अंगीकृत नागरिकताको प्रावधान सोचनीय रहेको उनको भनाइ छ ।

सभापति देउवाले १० जना महिलालाई केन्द्रीय सदस्यमा नियुक्त गर्दा आफू नपरेको भन्दै चौधरीले मंगलवार कांग्रेस त्याग्ने घोषणा गरेकी हुन् ।


प्रतिक्रिया

One thought on “कांग्रेस सांसद पार्वताले राष्ट्रपतिको प्रशंसा गरेपछि पार्टीभित्रै आलोचना

  1. पार्टीभन्दा माथि उठेर राष्ट्रको चिन्ता गर्नुभएकोमा बधाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर