मापसे चेक गर्न भन्दै प्रेस युनियनका अध्यक्षको घरभित्रै पसेर प्रहरीको हुलहुज्जत – Nepal Press

मापसे चेक गर्न भन्दै प्रेस युनियनका अध्यक्षको घरभित्रै पसेर प्रहरीको हुलहुज्जत

काठमाडौं । नेपाली कांग्रेसनिकट पत्रकार संगठन नेपाल प्रेस युनियनका नवनिर्वाचित अध्यक्ष शिव लम्साललाई घरमै पुगेर ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको भिडियो बुधबार साँझ सामाजिक सन्जालमा भाइरल बन्यो । रातको समयमा खिचिएको छोटो भिडियो क्लीपमा ट्राफिक प्रहरीले घरभित्रै हुलहुज्जत गरेको देखिन्छ ।

मोबाइलमा बोलिरहेका लम्सालतर्फ देखाउँदै उनले पत्रकारको आडमा प्रहरीहरुलाई दबाब दिएर थर्काउन खोजेको भन्दै कोही बोलिरहेको सुनिन्छ । नजिकै ट्राफिक प्रहरी पनि छन् । उनले लम्साल भागेर घर आएको बताएका छन् । भिडियो खिचिरहेका व्यक्तिलाई लम्सालले झम्टेको जस्तो देखिएको छ ।

प्रहरी स्रोतका अनुसार त्यस दिन लम्सालले अभद्र व्यवहार गरेको भन्दै नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखिएको थियो । बुधबार बिहान उनी छुटेका थिए ।

ट्राफिक प्रहरी स्रोतले सडकको बीच भागमा गाडी रोकेर विवाद गरिरहेका बेला लम्साललाई प्रहरीले भेटेको बतायो । उनले आफूसँग कागजपत्र साथमा नभएको र नजिकै घर रहेको बताएपछि ट्राफिक प्रहरी उनको पछिपछि लागेको एक ट्राफिक अधिकारीको भनाइ छ । लम्सालको आक्रमणबाट एक ट्राफिक प्रहरीको पाइन्ट च्यातिएको उनले दाबी गरे ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्टले लम्साललाई कानुन बमोजिम कारबाही गरिएको भन्दै त्यसबाहेक अरु कुरा बोल्न नमिल्ने बताए ।

‘हामीले अन्य चालकसरह उहाँलाई पनि व्यवहार गरेका हौँ,’ एसएसपी भट्टले भने ।

तर, लम्सालमाथिको प्रहरी कारवाही अस्वभाविक देखिएको छ । यदि उनले सडक अनुशासन उल्लंघन गरेको भए पनि ट्राफिक प्रहरीले घरसम्मै लखेटेर जानु आवश्यक थिएन । कुनै व्यक्ति भागे पनि सेटबाट अर्को चेकपोष्टमा खबर गर्न सकिन्छ । सीसीटीभी फुटेज वा सवारी नम्बरका आधारमा पछि पनि बोलाएर प्रहरीले जरिवाना तिराउने गरेको छ ।

लम्सालको हकमा घरभित्र छिर्दा ट्राफिक प्रहरीबाहेक अरु व्यक्तिहरु पनि छन् । उनको सार्वजनिक बेइज्जती गर्ने नियतले भिडिओ खिचेको सो भिडिओमा सुनिएका शब्दबाट आशंका उब्जिन्छ ।

के भन्छन् लम्साल ?

म बानेश्वरको आइप्लेक्सबाट भित्र प्रवेश गर्ने गल्लीको करिब ५० मिटर टाढा डेरामा बस्दै आएको छु । केही समययता त्यस गल्लीमा ५÷६ वटा रेस्टुरेन्ट खुलेका छन् । बाटोको दुवैतर्फ ट्राफिकले मोटरसाइकल, गाडीहरु पार्किङ गर्न दिइरहेको छ । आइप्लेक्समा पार्किङ गर्दा पैसा लाग्ने भएकाले त्यहाँका ग्राहकले पनि उक्त गल्लीमा पार्किङ गर्ने गरेको देखिएको छ ।

स्थानीयले समेत यस्तो कार्यको विरोध गर्दै आएका छन् । उहाँहरुले मलाई प्रहरीसँग आग्रह गरिदिनु पनि भन्नुभएको थियो । त्यहाँ एक साइडमा मात्र पार्किङ गर्न थालिएको पनि थियो । मंगलबार राती म आइप्लेक्सको उक्त गल्ली हुँदै कोठा पुग्न खोज्दा गाडी छिराउन सक्ने अवस्था भएन ।

दुवैतर्फ पार्किङ गरिराखेका सवारी साधनका कारण निकै गाह्रो भयो । त्यही क्रममा अगाडिबाट आएको पठाओ मोटरसाइकलका कारण मेरो गाडी अगाडि बढ्न सक्ने अवस्था भएन । ब्याक गर न भन्दा तेरो मात्र बाटो हो भन्दै पठाओ चालकले झम्टियो । विवादकै क्रममा बाटो जाम हुन पुग्यो ।

पछाडिबाट ट्राफिक आएको देखेपछि पठाओ चालक त्यहाँबाट पन्छियो । कोठा नजिकै रहेकाले मैले अगाडि बढेर घरभित्र गाडी छिराएँ । पछाडि त ट्राफिक प्रहरी र वरिपरिका अरु मान्छेहरु आइरहेका रहेछन् ।

सडकमा पार्किङ गरेर रेस्टुरेन्टमा खाएर बसिरहनु भएकाहरु पनि तल ओर्लिएर मेरो घर आउनु भएको थियो सायद । पछि दुई जना प्रहरी पनि आइपुग्नु भयो । ट्राफिक प्रहरीले घरमा आएर मापसे चेक गरौँ भन्नु भएको हो । अर्काको घरमा किन प्रवेश गरेर हुलहुज्जत गर्न खोजेको भन्दा मेरो उहाँहरुसँग विवाद भयो । त्यही क्रममा कसैले भिडियो खिचेको रहेछ । अहिले बाहिर आएको भिडियो त्यही नै हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *