बालेनका ‘डुब्लिकेट’ सुनीलले गरे काठमाडौं- ९ बाट चुनाव लड्ने घोषणा – Nepal Press

बालेनका ‘डुब्लिकेट’ सुनीलले गरे काठमाडौं- ९ बाट चुनाव लड्ने घोषणा

‘बालेनले गलत गर्दा मलाई गाली आउँछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका डुब्लिकेटका रुपमा टिकटकमा चर्चित सुनिल रिजाल पनि राजनीतिमा होमिने भएका छन् । काठमाडौंको क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने उनको तयारी छ ।

भोलि पत्रकार सम्मेलन गर्दै उम्मेदवारीको औपचारिक घोषणा गर्ने रिजालले बताए । बालेन्द्रले जस्तै उनले पनि स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । जित्ने लक्ष्यसहित चुनावमा होमिन लागेको र तयारी सुरु गरिसकेको उनले बताए ।

नेपाल प्रेससँग कुराकानी गर्दै रिजालले आफू लामो समयदेखि समाज सेवामा संलग्न रहेको भन्दै आफ्नो क्षेत्रमा राम्रै पकड रहेको दावी गरे । जनताकै आग्रहमा आफूले उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

‘सबैसँग फिडब्याक लिएरमात्रै चुनावमा होमिने निधो गरेको हुँ’, उनले भने ।

चन्द्रागिरी नपा- १३ का स्थायी बासिन्दा रिजाल विगतमा सरकारी सेवामा थिए । गरिबी निवारण कोषमा लेखा तथा प्रशासन महाशाखा प्रमुख भएर काम गरेको उनले बताए । कोष खारेजीमा परेपश्चात उनी सरकारी सेवाबाटै बाहिरिएका हुन् । आफू लायन्स क्लब अफ काडमाडौं दियालोको संस्थापक अध्यक्षसमेत रहेको उनले जानकारी दिए । सरकारी सेवामा प्रवेशअघि उनी निजी क्षेत्रमा अडिटिङको काम गर्थे । उनको सीएको पढाइ भने अधुरो छ ।

‘म अहिलेसम्म कुनै पार्टीको नजिक भइनँ’, रिजाल भन्छन्, ‘सरकारी सेवामा रहेर प्राप्त गरेको अनुभवलाई राजनीतिमार्फत सदुपयोग गर्न चाहन्छु ।’

सुनीललाई झट्ट हेर्दा जोकोही झुक्किन्छन् । टी-सर्टमाथि कोट, कालो टोपी र कालो चस्मा लगाएर हिँडे भने त नमस्कार खाँदैको हैरान हुन्छ । तर, आफूले नियतबस बालेनको कपी गर्न भने नखोजेको उनले दाबी गरे ।

‘मेरो नेचुरल हाउभाउ नै यस्तै हो, कपाल पातलो भएकाले टोपी लगाउन थालेको हुँ’, उनले भने ।

यद्यपि टिकटकमा भने उनले बालेनको गेटअप र बडी ल्याङ्ग्वेज कपी गरेरै फलोअर्स बटुलिरहेका छन् । पहिले बालेनको कपी गर्नुअघि उनका कम फलोअर्स थिए । अहिले एक लाख १८ हजार पुगेका छन् । टिकटकमा सुरु-सुरुमा धेरै मान्छेहरु झुक्किए । बालेन नै भन्ठानेर कमेन्ट गरे । तर, अहिले विस्तारै सबैलाई थाहा हुन थालेको छ । तैपनि अझै कतिपय झुक्किन्छन् ।

@sunilrijal7

VanaPrastha – The organic village resort- godavari #yomantetaihunnavetai😍 #foryouofficial #basu07 #foryou #nepali #allnepaltiktokgroup🇳🇵 #doctorsingh #sunilrijal1991 @doctor_amitsingh @basu_adhikari30 @prakashdutraj71

♬ original sound – Prakash Dutraj

आफू स्वयंलाई बालेनसँग अनुहार मिल्छ जस्तो नलाग्ने उनले बताए । ‘धेरैले भने पनि म पनि बारम्बार ऐनामा हेर्न थालेँ, तर आफूलाई बालेनजस्तो देख्दिनँ’, उनले भने ।

उनले दाह्री पहिल्यैबाट पाल्थे । बालेन चर्चामा आएसँगै मानिसहरु झुक्किएको महसुस गर्न थालेपछि रिजालले बालेनको गेटअप कपी गर्न थालेका हुन् । एकपछि अर्को भिडियो भाइरल भएपछि उनी पनि हौसिए । तर, आजकाल भने सुनील रिजालकै रुपमा प्रस्तुत हुन थालेका छन् ।

‘सुरुमा चर्चा पाउन अलिकति जुक्ति पनि लगाउनुपर्ने हुँदोरहेछ’, उनले भने, ‘त्यसैले मैले पनि बालेनको रुपमा केही टिकटक बनाएकै हुँ । तर, अब म आफू जे छु, त्यही रुपमा प्रस्तुत हुनेछु ।’

त्यसो भने पनि चुनावी पोष्टरमा पनि उनले बालेनकै कपी गरेका छन् । कालो टोपी र काँधमा राष्ट्रिय झण्डा ओडेको तस्वीरमा उनी बालेनजस्तै देखिएका छन् ।

चुनावमा पनि जनतालाई झुक्याएरै भोट ल्याउने चेष्टा गर्नुभएको हो भन्ने नेपाल प्रेसको प्रश्नमा उनले त्यस्तो सम्भव नै नहुने बताए ।
‘म आफ्नै पृष्ठभूमि र योगदानका आधारमा चुनावी परीक्षा दिन आएको हुँ । अरुको नाम बेचेर भोट कमाउने उद्देश्य छैन’, उनले भने, ‘फेरि मतदाता त्यति अबुझ पनि हुँदैनन् ।’

आफूले अहिलेसम्म बालेनलाई प्रत्यक्ष नभेटेको रिजालले बताए । यद्यपि बालेनको टीमका व्यक्तिहरुलाई विभिन्न सल्लाह–सुझाव दिँदै आएको उनको भनाइ छ ।

‘मसँग सरकारी सेवामा काम गर्दाको धेरै अनुभव छ । त्यही आधारमा कसरी काम गर्ने भनेर उनीहरुलाई सुझाव दिइरहेको छु’, उनले भने ।

रिजालले केही समयअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । गरिबी निवारण कोषमै हुँदा उनी एउटा अनुसन्धानको विषयमा जानकारी गराउन प्रचण्ड निवास पुगेका थिए । बालेनकै भेषमा आएका रिजाललाई देखेर प्रचण्ड नराम्ररी झुक्किए पनि ।

‘बालेनसँग अस्ति भर्खर भेटेको थिएँ, फेरि किन आउनुभएछ भनेर सोच्दै थिएँ’, रिजालले आफूलाई चिनाइसकेपछि प्रचण्डले भने ।
बालेनसँग भने अहिलेसम्म उनको भेट भएको छैन । कोषमा रहँदाखेरी भेट्न खोजे पनि सम्भव नरहेको उनले बताए ।

बालेनका कारण आफूलाई फाइदा र बेफाइदा दुवै भएको बताउँछन् रिजाल । ‘उहाँले राम्रो काम गर्दा मलाई पनि राम्रो कमेन्ट आउँछ, नराम्रो गर्नुभयो भने गाली आउँछ’, उनले भने । त्यसो त आफ्नो कारणले पनि बालेनलाई फाइदा भइरहेको उनको दाबी छ ।

‘अहिले त उहाँको भन्दा मेरै मार्केट राम्रो छ,’ रिजालले भने ।

@sunilrijal7

Meeting with Former Prime Minister of Nepal regarding Poverty Alleviation Programme. #thankyoueveryone #doctorsingh #sunilrijal1991 #foryou #foryouofficial #allnepaltiktokgroup🇳🇵 #socialwork

♬ original sound – थापा काजि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर