आर्यनको फिल्म ‘सायरा’ को निर्देशन बलिउडका विशाल देसाईले गर्ने – Nepal Press

आर्यनको फिल्म ‘सायरा’ को निर्देशन बलिउडका विशाल देसाईले गर्ने

काठमाडौं । अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच आज सम्झौता भएको छ ।

मुम्बईमा आज दुईबीच नेपाली फिल्म ‘सायरा’मा सहकार्य गर्ने सम्झौता भएको हो । निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.लिको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँ ताका फिल्म छायांकन हुने बताए ।

‘हाम्रो फिल्म गर्न उहाँ तयार हुनु भयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुसी मिलेको छ’ मुम्बईमा रहेका निर्माता रघुले भने । निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताए ।

‘नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ’ निर्देशक देसाईले भने । उनी अहिलेसम्म नेपाल नआएता पनि नेपाली जीवनशैलीसँग परिचित रहेको प्रतिक्रिया दिए ।

निर्देशक देसाईले वीरगति र ढोलकी नामक फिल्म निर्देशन गरिसकेका छन् । यस्तै उनले ‘कामिनी दामिनी’ नामका टिभी सिरियल समेत निर्देशन गरे । उनले धेरै फिल्ममा अभिनय समेत गरेका छन् । उनले अमर प्रेममार्फत अभिनय यात्रा सन् १९७२ मा सुरु गरेका थिए ।

फिल्ममा अभिनेताको रुपमा आर्यन सिग्देल केहि अगाडी मात्र अनुबन्धित भइसकेका छन् । नेपाली फिल्ममा अभिनय गर्न सक्ने चकलेटी लुक्स भएका आर्यनको बलियो कमब्याकको रुपमा ‘सायरा’ हुने छ । फिल्म सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन फिल्मको विषयवस्तुले आकर्षित भएका हुन् ।

आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको फिल्म ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ । फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए ।

उनले फिल्मको अन्य कास्ट एण्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए । फिल्ममा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए ।

‘हामीले लाइन–अप पुरा भएपछि पूर्ण रुपमा जानकारी दिने छौँ’ प्रस्तुतकर्ता रघुले बताए । उनले फिल्मको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । फिल्मको अधिकांश छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि प्रतिशत मेलवर्नमा समेत गरिने उनले जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर