१६५ क्षेत्रमा गठबन्धनको बाँडफाँट- कसको दाबी कति सीटमा ? – Nepal Press

१६५ क्षेत्रमा गठबन्धनको बाँडफाँट- कसको दाबी कति सीटमा ?

काठमाडौं । प्रतिनिधिसभाका १६५ सीट र सातै प्रदेशका ३३० निर्वाचन क्षेत्रको बाँडफाँट टुंगो लगाउन गठित सत्ता गठबन्धनको ११ सदस्यीय कार्यदललाई दिएको समय सकिए पनि मुख्य विषयमा प्रवेश नै गर्न सकेको छैन ।

कृष्ण सिटौला नेतृत्वको कार्यदललाई शीर्ष बैठकले साउन मसान्तसम्मको अवधि दिएको थियो । तर, त्यस अवधिमा तीनवटा औपचारिक बैठक भए पनि कसले कति सीट पाउने भन्ने टुंगो लागेको छैन । सिटौलाले शीर्ष नेतासँग भेटेर सबै दलको आ-आफ्नो दाबी सुनेपछि प्रस्ताव बनाउने बताइएको थियो ।

कार्यदलले सामान्य मापदण्डबाहेक बाँडफाँट टुंगो लगाउन नसकेपछि बिहीबार बसेको पाँचदलीय गठबन्धनको शीर्ष बैठकमा नेताहरूले आ-आफ्नो पार्टीको दाबी प्रस्तुत गरेको बताइएको छ । महन्थ ठाकुर नेतृत्वको लोसपालाई गठबन्धनको सदस्य बनाउने कि नबनाउने भन्नेबारे टुंगो लागेको छैन ।

माओवादीको चिन्ह लिएर चुनावमा भाग लिन लागेका बाबुराम भट्टराई र वामदेव गौतमको पार्टीलाई गठबन्धनको हिस्साबाट सीट दिने कि माओवादीको कोटाबाट दिने भन्ने पनि टुंगो लागेको छैन । यद्यपि बाबुराम र महिन्द्रा राय भने प्रत्यक्ष निर्वाचित भएकाले उनीहरूलाई गठबन्धनकै हिस्सा मानेर सीट छुट्याउने समझदारी बनेको बताइएको छ ।

दलहरूले आ-आफ्ना दाबी प्रस्तुत गरे पनि सीट संख्या बाँडफाँट गर्दा अन्तिममा सबैले दाबी गरेका धेरै सीटहरू छाड्नुपर्ने देखिएको कार्यदलका सदस्य हिमलाल पुरी बताउँछन् । लोसपाबाहेक गठबन्धनका सात घटकको दाबी २३७ सीट पुगेको छ । जबकि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ सीटमात्र छ ।

गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले १०० सीट दाबी गरेको छ । गठबन्धनमा बाँडफाँट गर्दा ९० भन्दा तल सम्झौता नगर्न शेरबहादुर देउवामाथि पार्टीभित्रबाटै दबाब छ । यद्यपि माओवादी स्रोतले भने कांग्रेसले बढीमा ८० सीटमात्र पाउने दाबी गरेकाे छ ।

गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ६० सीटमा दाबी गरेको छ । स्थायी कमिटीको बुधबारको बैठकमा ६० सीटको दाबी गर्ने अनौपचारिक छलफल चलेको थियो । माओवादीले ६० सीट दाबी गरे पनि उसले ४५ देखि ५० सीटमा चित्त बुझाउनुपर्ने देखिन्छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि ३७ देखि ४० सीट दाबी गरेको सम्मानित नेता झलनाथ खनालले बताए । स्थानीय चुनावको परिणाम र एमालेको विद्रोही शक्ति भएकाले एमाले हराउन आफूहरूले सम्मानजनक सीट पाउनुपर्ने उनीहरूको भनाइ छ । यद्यपि गठबन्धनमा भागबन्डा हुँदा नेकपा एसको भागमा १५ देखि २० सीटको बीचमा पर्ने नेताहरूले बताएका छन् ।

गठबन्धनको अर्को घटक जसपाले पनि ३० देखि ३५ सीट दाबी गर्ने राजनीतिक समितिका सदस्य आङकाजी शेर्पाले बताए । तर, गठबन्धनका नेताहरू भने जसपाको भागमा १० सीटको हाराहारी पर्ने बताउँछन् । लोसपा गठबन्धनमा सामेल हुँदा उसको सीट अझ खुम्चिन सक्छ ।

गठबन्धनको अर्को घटक बनेको बाबुराम भट्टराई नेतृत्वको नेसपाले पनि ४ सीट दाबी गरेको छ भने वामदेव गौतमले आफ्नो लागि एक सीट मागेका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाले पनि प्यूठान र बागलुङ वा अर्घाखाँचीमध्ये एक सीट मागेको छ । तर, उसको भागमा एक सीटमात्र पर्ने निश्चित छ ।

दलहरूका सबैका दाबीपछि कार्यदल संयोजक सिटौलाले कार्यदलबाटै पारित मापदण्डभित्र रहेर मस्यौदा प्रस्ताव ल्याउने र त्यसपछि छलफल गरेर शीर्ष बैठकमा पेस गरिने कार्यदल सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया

3 thoughts on “१६५ क्षेत्रमा गठबन्धनको बाँडफाँट- कसको दाबी कति सीटमा ?

  1. राष्ट्र बनाउने सोच नै छैन गठबन्धनको। एमाले हराउने , विदेशीको इशारामा काम गर्ने र देश लुट्ने भन्दा अरू सोच नै देखिएन। एमाले सबैभन्दा बलियो भएकोले र राष्ट्रवादी भएकोले विदेशीले रुचाएका छैनन। तर नेपाली जनतालाई आग्रह गएको एक वर्षमा देशको हालत र त्योभन्दा एक वर्ष अघिको देशको अवस्था सम्झेर मत हालौं। अन्यथा दुख पाइन्छ।

    1. देश बनाउनु भन्दापनि जसरिपनि सत्तामा जानुपर्ने अनि देश लुट्नु पर्ने देश लुटुवाहरु यदि देशको माया छ भने भरौटे हरु पार्टी केकालागि बिचार फरक छ सिद्धान्त फरक छ देश बनाउने बाटा फरक छन् त्यसैले बांठिचुठि खानाको लागि राजनीतिक दलका नेताहरुले जनतालाई अल्मलमा पार्नु हुँदैन आफ्नो विचारमा अगाडि बढ्नुपर्छ देश कस्ले बनाउन्छ जनताले बुझेका छन्

  2. मेयर साप , शान्त, सन्तुलित र सैयम रहेर सहकार्यलाइ अंगालेरै अगाडी बढ्दा राम्रो होला हजुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर